कोटिहोम विवादमा संलग्नलाई सचेत गराउन सिफारिस
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोममा भएको ‘विबाद’बारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ‘कृष्णमूर्तिजी महाराज’ भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेपछि भएको विवादमा संलग्नहरूलाई ‘सचेत’ गराउन समितिले स्थानीय प्रशासनलाई सिफारिस गरेको छ ।
समितिको प्रतिवेदनमा उक्त विवादमा संलग्नलाई सचेत गराउनुपर्ने र दोषीमाथि कानुनी कारबाहीको सिफारिस गरिएको छ । विजय कृष्णमूर्तिलाई समितिले प्रहरीको काममा सहयोग गर्न सुझाएको छ । छानबिन समितिले कृष्णमूर्तिसँग सोधपुछसमेत गरेको थियो ।
समितिका संयोजक तथा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाको कार्यकक्षमा उपस्थित भएर बयान दिएका कृष्णमूर्तिले साउन ३२ मा पशुपतिमा कोटिहोम सकेर होटल जान लाग्दा आफूलाई सोधपुछ गर्न आएका प्रहरी कर्मचारीसँग आवेशमा आएर बोलेको बताएका छन् । उनले भनेका छन्, ‘आवेशमा बोलेँ तर, परिस्थिति भड्किलो बनेपछि मलाई महसुस भयो ।’
छानबिन समितिले कोटिहोम आयोजक पक्षलाई भड्काउपूर्ण अभिव्यक्ति दिएको भन्दै ‘सचेत’ गराउन सिफारिस गरेको छ । आयोजक पक्षले मुलुकलाई ‘बंगलादेश बनाउने’ भनेपछि छानबिन समिति गठन गरिएको थियो । कथावाचक कृष्णमूर्तिले लिएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’बारे सोधपुछ गर्न जिल्ला प्रहरी परिसर काठमाडौँबाट इन्स्पेक्टरको नेतृत्वमा गएको टोली र कृष्णमूर्तिका समर्थकको बिचमा विवाद भएको थियो ।
छानबिन समितिले प्रहरीलाई समय र परिस्थिति मूल्याङ्कन गरेर काम कारबाही गर्न सुझाव दिएको छ । छानबिन समितिका सदस्य अधिवक्ता सचितानन्द काफ्ले भन्छन्, ‘दोषी देखिएकालाई आवश्यकता अनुसार कानुनी कारबाही गर्न सुझाव दिएका छौँ ।’
साँझको समयमा धरपकड गर्दा परिस्थिति भड्केको निष्कर्ष निकाल्दै समितिले प्रहरीलाई समय र परिस्थितिको आकलन गरेर आगामी दिनमा काम–कारबाही अघि बढाउन सुझाएको छ ।
छानबिन प्रतिवेदनले कृष्णमूर्तिले लिएको प्रहरी चारित्रिक प्रमाणपत्रबारे केही बोलेको छैन । विवादको मुख्य कारण चारित्रिक प्रमाणपत्रबारे भनेर पेटबोलीमा उल्लेख भए पनि त्यसबारे थप कुरा उल्लेख गरिएको छैन ।
विजय कृष्णमूर्ति समर्थक विप्लव खड्का र विशाल फुयाँललाई प्रहरीले सुरुमा पक्राउ गरेको र छाडेपछि फेरि उनीहरू स्टेजमा गएर परिस्थिति भड्काएको छानबिन समितिको निष्कर्ष छ । प्रतिवेदनमा भएिको छ, ‘विजय कृष्णमूर्ति पहिले प्रहरीको साथमा हिँडेर गएको भिडियोमा देखिन्छ अनि, विप्लव खड्काले पक्राउ पुर्जी मागेपछि विवाद बढेको देखिन्छ ।’
विजय कृष्णमूर्तिको चारित्रिक प्रमाणबारे काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले लिएको चारित्रिक प्रमाणपत्र र प्रहरीको ‘अपराध अभिलेख प्रणाली ‘सीआरएस’ सिस्टममा फरक रेकर्ड भेटिएको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना नेतृत्वको छानबिन समितिमा डीएसपी गंगा पौडेल, सशस्त्रका डीएसपी प्रमोद राय, पत्रकार गोविन्द चौलागाई र अधिवक्ता सचितानन्द काफ्लेसहित ७ जना सदस्य थिए । समितिका सदस्यहरूले काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेतलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण