कार्यालय रित्तो पारेर पूर्वाधार विकासका ९ जना कर्मचारी गोवा भ्रमणमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्ने गरेका छन्, ‘विकास, सुशासन र समृद्धि ।’ सोही अनुसार प्रधानमन्त्री ओलीले सरकारी कामकारबाहीलाई छिटो, छरितो र पारदर्शी बनाउन निर्देशन समेत दिने गरेका छन् ।
तर, प्रधानमन्त्रीको यो प्रतिबद्धता र भनाइ विपरीत सरकारी कार्यालयका कर्मचारीहरूले भने मनमौजी गर्न छाडेका छैनन् । त्यसैको पछिल्लो एक उदाहरण हो– कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको उदयपुरस्थित पूर्वाधार विकास कार्यालय ।
जुन कार्यालयका नौ जना कर्मचारी कार्यालय नै खाली बनाएर एकै पटक भारतको गोवा भ्रमणमा निस्केका हुन् । कामका लागि पुगेका सेवाग्राहीहरूले कार्यालयमा कर्मचारीहरू नभेटेपछि मुख्यमन्त्रीसँग गुहार माग्नुपरेको छ ।
भदौ २५ मंगलबार कार्यालयमा हाजिर गरेर निस्केका यति धेरै सङ्ख्याका कर्मचारीहरूको लापरबाही यतिसम्म देखिएको छ कि बिदा समेत कार्यालय प्रमुखबाट स्वीकृत नगरी मनलाग्दी ढङ्गले भारत भ्रमणमा निस्केका हुन् ।
कार्यालय प्रमुख ललित कुमार चौधरी मन्त्रालयको कामले विराटनगरमा गएका बेला नौ जना स्थायी र ज्यालादारी कर्मचारीहरू एकसाथ बिदाको निवेदन लेखेर कार्यालयको टेबलमा छोडेर घुमघाम गर्न हिँडेको पाइएको छ ।
यसरी बिदा स्वीकृत नै नगरी गोवा भ्रमणमा जानेहरूमा आठौँ तहका इन्जिनियर मनोजकुमार ठाकुर, छैटौँ तहका इन्जिनियर रिपुमर्दन खड्का, प्रशासनका नवराज गिरी,सब इन्जिनियरहरू ईश्वर पुरी, किरण विष्ट, यादव प्रसाद वाग्ले रहेका छन् । त्यस्तै अर्का इन्जिनियर प्रजन गौतम,सोसल मोविलाइजर विवेकानन्द झा र कार्यालय सहयोगी मनोज दनुवार पनि बिदा स्वीकृत नगरी बिदा बसेका हुन् ।
उनीहरूले छुटाछुटै बिदाको निवेदन लेखेर कार्यालयमा छाडेका छन् । बिदा निवेदनमा कसैले बिरामी परेको र कसैले घरायसी काम परेको बहाना बनाएका छन् ।
उनीहरूले असोज ६ गते कार्यालयमा हाजिर हुने आन्तरिक रूपमा भनेका छन् ।
कार्यालयमा स्थायी दरबन्दीका प्राय सबै कर्मचारीहरू बिदामा बसेपछि करारका केही कर्मचारीमात्र कार्यालयमा आउने गरेका छन् । उदयपुर र खोटाङ जिल्लाका विकासे काम हेर्न उक्त कार्यालयमा कर्मचारीहरू नभएपछि सेवाग्राहीहरूले मारमा परेको गुनासो गरेका छन् ।
सेवाग्राहीहरूले कार्यालयमा कर्मचारी नभएको भन्दै विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा उजुरी समेत हालेका छन् ।
कार्यालय प्रमुख चौधरीले आफू मन्त्रालयको कामले विराटनगरमा रहेकाले धेरै कुरा थाहा नभएको बताए । ‘म केही फाइलहरू लिएर विराटनगरस्थित मन्त्रालयमा आएको छु । आइतबारबाट कार्यालय जान्छु’, कार्यालय प्रमुख चौधरीले भने, ‘केही कर्मचारीहरू फिल्डमा गएका छन् । केही बिदा लेखेर हिँडेका रहेछन् भने म कार्यालय गएपछि सोधपुछ गर्छु ।’
कार्यालय प्रमुख चौधरीले आफू विराटनगर जाँदा निमित्तको जिम्मेवारी समेत कसैलाई दिएका छैनन् ।
मुख्यमन्त्रीलाई ध्यानाकर्षण
कर्मचारीहरू एकैपटक कार्यालय छाडेर भारतको गोवा घुम्न गएको भन्दै सेवाग्राहीहरूले कोशी प्रदेशका मुख्यसचिवमार्फत मुख्यमन्त्री हिक्मत कार्कीको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिवलाई सम्बोधन गर्दै सेवाग्राहीहरूले बिदा स्वीकृत नगरी विदेश भ्रमणमा जाँदा सेवा प्रवाहमा बाधा परेको भन्दै त्यसरी हिँड्ने कर्मचारीहरूलाई कारबाही गर्न माग गरेका छन् ।
‘अति आवश्यक काम/बिरामीको बहाना बनाई कोशी प्रदेश सरकारको विकासको लक्ष्यलाई बाधा पुर्याउने उद्देश्य गरेको देखिएकाले छानबिन गरी दोषीलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरी पाउँ भनि श्रीमान्समक्ष ध्यानाकर्षण पत्र पेस गर्दर्छौ’, मुख्यमन्त्रीलाई इमेलमार्फत पठाएको पत्रमा भनिएको छ । मनपरी गोवा भ्रमणमा गएका उनीहरु कहिले फर्किने भन्ने समेत टुंगो छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्ट नेतालाई जनस्तरबाटै बहिष्कार गर्न प्रभु साहको आह्वान
-
हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० घाइते
-
मुम्बई इन्डियन्सद्वारा महेला जयवर्धने मुख्य प्रशिक्षकमा नियुक्त
-
सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पाँचौँ परीक्षण सफल
-
स्कटल्याण्डलाई हराउँदै इंग्ल्याण्ड शीर्ष स्थानमा
-
भाइरल ज्वरो तथा डेंगुका बिरामी बढे, अस्पतालको भुईँमा राखेर उपचार