एमबाप्पेसँग सचेत रहन रियलका ब्राजिलियन खेलाडीलाई नेमारको सुझाव
काठमाडौँ । चर्चित ब्राजिलियन फुटबलर नेमारले स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिलियन खेलाडीहरूलाई फ्रान्सेली स्टार केलियन एमबाप्पेसँग सचेत रहन सुझाव दिएका छन् । नेमारले एमबाप्पेसँग एउटै टोलीबाट खेल्नु धेरैका लागि ‘अभिश्राप’ पनि बन्न सक्ने चेतावनी दिएका हुन् ।
नेमारले पनि फ्रान्सेली क्लब पीएसजीमा एमबाप्पेसँग लामो समय व्यावसायिक फुटबल खेलेका थिए । ३२ वर्षीय नेमार र २५ वर्षीय एमबाप्पेले सँगसँगै एक सय ३६ खेल खेलेका थिए । यी दुवै खेलाडीले सन् २०१७ देखि सन् २०२३ को बिचमा आपसी तालमेलमा ५४ गोल पनि गरेका थिए ।
नेमार सन् २०२३ मा पीएसजी छाडेर साउदी क्लब अल हिलालमा आबद्ध भएका थिए । एमबाप्पे भने यसै वर्ष पीएसजीबाट रियल म्याड्रिडमा आबद्ध भएका हुन् । नेमारले आफू एमबाप्पेको खेलसँग राम्ररी परिचित रहेको भन्दै आफ्ना ब्राजिलियन साथीहरुलाई सचेत गराएका हुन् ।
‘धेरै खेलाडी एमबाप्पेको छायाँमा पर्ने गरेका छन् । उनी गजबका खेलाडी हुन् । तर, उनीसँगको सम्बन्ध हानिकारक पनि हुन सक्छ,’ नेमारले भनेका छन् । नेमारले खासगरी रियलमा रहेका ब्राजिलियन खेलाडी भिनिसियस जुनियर, रोड्रिगो र एडर मिलिटोलाई एमबाप्पेसँग सचेत रहन सुझाव दिएका हुन् ।
‘नेमार र एमबाप्पे कुनै समय मिल्ने साथी थिए । तर, यो सम्बन्ध लामो समय सुमधुर रहन सकेन । पीएसजीमा रहँदा यी दुईबिच सधैँ द्वन्द्वको स्थिति देखिन्थ्यो । एमबाप्पे आक्रामक छन् र क्षमतावान् खेलाडीहरु पनि उनको छायाँमा पर्ने सम्भावना रहन्छ । त्यसैले रियलका ब्राजिलियन खेलाडीलाई नेमारले सचेत गराएका हुन् । नेमारको विचारमा एमबाप्पेसँग खेल्नु धेरैका लागि अभिश्राप पनि बन्न सक्छ,’ नेमारसँग नजिक रहेका एक सञ्चारकर्मीले भनेका छन् ।
ती सञ्चारकर्मीसँगको कुराकानीमा नेमारले पीएसजीमा रहँदा एमबाप्पेसँगको आफ्नो सम्बन्ध ‘थोरै तातो र थोरै चिसो’ रहेको बताएका छन् । अहिले नेमार र एमबाप्पे दुई फरक महादेशबाट व्यावसायिक फुटबल खेलिरहे पनि सम्बन्धमा भने सुधार आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले हजार उठबस गराएपछि जीवनभर अशक्त भए किशोर
-
एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
-
भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु
-
कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक
-
इजरायली हवाई आक्रमणबाट गाजामा १७ जनाको मृत्यु
-
सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना