बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक’

आइतबार, ०६ असोज २०८१, २१ : ११
आइतबार, ०६ असोज २०८१

काठमाडौँ । साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक रहेको विज्ञहरूले बताएका छन् । एसियाली क्रेडिट सपोर्ट एन्ड इनोभेसन कन्फेरेन्स (एसिक्स) को ३६ औँ श्रृङ्खलाको तेस्रो दिनमा चलेको छलफलमा सहभागीहरूले साना र मझौला उद्यम (एएसएमइ)लाई सघाउन कर्जा सुनिश्चित गर्ने संस्थाको महत्त्वपूर्ण भूमिका रहने बारे चर्चा भयो । यस सम्मेलनका दौरान आइतबार पाँच सत्रमा छलफल चलेका थिए ।

छलफलमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले एएसएमइहरूले अहिले धेरै चूनौती र बाधाको सामना गर्नुपरेको बताए । उनले भने, ‘कर्जा सुनिश्चित गर्ने संस्थाले ऋणको माग र आपूर्तिबिचको खाडल पुर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।’ उनले यस्ता संस्थाले केन्द्रीय बैङ्कसँगको सहकार्यमा सबै क्षेत्रमा दिगो वृद्धि हुने किसिमले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्डोनेसियासी विज्ञ नुर श्यामसुदादी र जापान क्रेडिट ग्यारेन्टी महासङ्घका हातानोले इन्डोनेसियाली सरकारले साना तथा मझौला उद्यमको वित्तीय साक्षरता बढाउने अभियान सञ्चालन गरी ८० प्रतिशतभन्दा बढी उद्यमको कर्जा योग्यता बढाउने काम गरेको बारे चर्चा गरे । हातानोले यस्ता उद्यममा डिजिटल प्रविधिको विकासले ल्याएको चुनौती अवसरबारे समेत प्रकाश पारेका थिए ।

आजै आयोजित अर्को छलफलमा एसियाली नविनतम वित्त व्यवस्थाका सफल उदाहरणबारे चर्चा गरिएको थियो । छलफलमा कोडिट एआइमा आधारित बस प्रणाली (जसले साना तथा मझौला व्यवसायलाई आफ्नो कर्जाको योग्यता तत्कालै जाँच्ने सजिलो प्रविधिको विकास गरेको छ) बारे चर्चा भएको छ । उता, एआइमा आधारित वित्तीय सेवाबारे समेत सो सत्रमा छलफल भएको छ । पर्यटन, उर्जा समेतका विभिन्न किसिमका उद्यममा सघाउने फिल ग्यारेन्टीको प्रयासलाई पनि आर्थिक स्थिरता बढाउने बलियो उदाहरणबारे चर्चा गरिएको थियो ।  

भारतको साना तथा मझौला उद्यम कोषकी व्यवस्थापक रिचा चौधरीले भनिन्, “यस्ता ऋणले साना उद्यम र उनीहरूका सिर्जनात्मक तथा नवीनतम सोचहरूमा प्राण भर्ने काम गर्दै आएको छ ।’ उनका अनुसार यो कोषको कार्यक्षेत्र भारतका ८५ प्रतिशतभन्दा बढी साना तथा मझौला उद्यमसम्म पुग्न र आर्थिक रूपमा सघाउन सक्ने किसिमको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषकी प्रमुख मन्दिरा थपलियाले आफ्नो कोषले हालसम्म झन्डै १४ लाख ऋणीलाई डेढ अर्बभन्दा बढी नवीन सोच र उद्यमलाई सघाएको बताइन् ।

आजै आयोजित अर्को सत्रमा विभिन्न उद्यम र त्यसका लागि कर्जा सुनिश्चित गर्ने संस्था दुवैका लागि वित्तीय नवीनता, जोखिम व्यवस्थापन र आम्दानी बढाउन मूल्य रणनीतिले खेल्ने भूमिकाबारे छलफल गरियो । सो क्रममा वक्ताले प्रस्तावित उद्यम र लगानीकर्ता दुइटैलाई सघाउन र सम्भावित जोखिम कम गर्ने गरी मूल्यका नमुना निर्माण गर्ने तरिकामा छलफल गरेका थिए । कुमारी बैङ्कका प्रमुख डिजिटल बैङ्किङ अधिकृत अनिश ताम्राकारले परियोजनाको सम्भाव्यता र मूल्य प्रणालीबिच सन्तुलन मिलाउन मिलाउनु आवश्यक रहेको बताए ।

कार्यक्रमकै दौरान आयोजित ‘वित्तीय नवीनता, रणनीति तथा सिकाइमार्फत जोखिम व्यवस्थापन र आगामी बाटो’ विषयक छलफलमा सहभागीले आर्थिक शिथिलता, प्राकृतिक प्रकोप र महामारीका बेला नवीनतम र स्टार्टअप उद्यममा हुने उच्च जोखिम व्यवस्थापनका उपायहरूबारे विचार राखेका थिए ।

जापान र दक्षिण कोरियाका कर्जा सुरक्षण संस्थाका प्रतिनिधिले उल्लेखित जोखिम कम गर्न तथ्याङ्कमा आधारित र मात्रात्मक तरिकाको प्रयोगसँगै वित्तीय संस्थासँग जोखिम सेयर गर्ने, भेन्चर ऋण योजनालगायत मोडलबारे चर्चा गरे । उनीहरुले स्थानीय सरकारमा आधारित कर्जा सुनिश्चितता गर्ने संस्था, कर्जाको पुनः सुनिश्चितता गर्न सकिने तरिकालगायत योजनामा सचेतना आवश्यक रहेको बताए ।

कोरिया रिजनल क्रेडिट ग्यारेन्टी फाउन्डेसनका प्रतिनिधिले प्रविधि नवीनतामा आधारित साना तथा मझौला उद्यमलाई सघाउन आफ्नो संस्थाको सक्रिय अभियानबारे जानकारी गराए । उनले कसरी संस्थाले धोखाधडी लगायत पूर्व जोखिम र व्यवसाय डुब्नेजस्ता अन्य जोखिमलाई प्रविधिको प्रयोग मार्फत कम गर्न सघाइरहेको बताए ।

आजै भएको “अनिश्चितताका बीच दिगो सुनिश्चितता सम्बन्धी कार्यक्रम निर्माण’ नामक सत्रमा प्राध्यापक सुरेश मानन्धरले बढ्दै गएका चुनौतीका बीच कर्जा सुनिश्चिततालाई दिगो बनाउने भन्नेमा जोड दिए । वक्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) प्रविधिबाट कर्जा सुनिश्चित गर्ने र कार्यक्रमलाई दीर्घकालीन बनाउनेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप