नेपाली कृषि उत्पादनलाई भारतीय बजारमा सहजीकरणका लागि मन्त्री अधिकारीको आग्रह
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा दुईपक्षीय हितका विषयमा पनि छलफल भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले नेपाल–भारत सम्बन्धहरू मित्रता र सहयोग, सार्वभौम समानता, आपसी सम्मान र विश्वासका सिद्धान्तहरूमा आधारित रहेका स्मरण गरे । कृषि क्षेत्रमा लगानी र विकासका लागि नेपाल सरकार लागि परेको जनाउँदै मन्त्री अधिकारीले त्यसमा भारत सरकारको थप सहयोग अपेक्षा राखेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूलाई भारतीय बजारमा सहज पहुँच पु¥याउन सहजीकरणका लागि आग्रह गर्दै अधिकारीले भने,‘यसले दुई देशबिचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ ।’
सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुवै देशबिचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको औँल्याउँदै कृषि मन्त्री अधिकारीले खोरेँत साथै विभिन्न पक्षी फ्लुजस्ता रोगहरूको रोकथाम तथा कृषि उपजको आयात निर्यातको लागि सीमा क्षेत्रमा थप क्वारेनटाइन व्यवस्थाहरू मजबुत बनाउन एकीकृत उपाय अपनाउन पर्नेमा जोड दिएका छन् ।
‘भारतको आधुनिक कृषि प्रविधिहरू विशेष गरी स्मार्ट कृषि र जलवायु प्रतिरोधी प्रविधिहरूमा सहकार्य गर्न नेपाल उत्सुक छ,’ अधिकारीले भने,‘ कृषि क्षेत्रमा युवा उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्न दुवै देशको सहयोगबाट उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने छ ।’
नेपालमा रासायनिक मलको सहज आपूर्तिका लागि भारत सरकारबाट आगामी दिनमा पनि निरन्तर सहयोगका लागि आग्रह गर्दै मन्त्री अधिकारीले भने,‘नेपाल सरकार खरिद प्रक्रियाबाट रासायनिक मल खरिदमा केही समस्या र चुनौतीहरू आएका छन् त्यसलाई सरल, सहज र प्रभावकारी बनाउनका लागि भारत सरकारबाट आवश्यक पहल हुनेमा आशावादी रहेको छु ।’
मन्त्री अधिकारीले नेपालले बहुपक्षीय क्षेत्रीय सङ्गठन बिमिस्टिक कृषि मन्त्रीस्तरीय तथा उच्च अधिकारीहरूको तेस्रो बैठक आगामी मार्च २७ र २८ मा काठमाडौँमा गर्ने गरी तयारी भइरहेको भेटका क्रममा जानकारी गराए । कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र क्षमता विकास कार्यक्रममा निरन्तर सहयोग र सहकार्यले नेपालमा कृषि उत्पादन, गुणस्तर र परिमाण सहयोग पुगेको मन्त्री अधिकारीले उल्लेख गरेका थिए ।
त्यस क्रममा राजदूत श्रीवास्तवले नेपालको कृषि क्षेत्रको विकास र विस्तारमा भारत सरकार सहयोग र सहकार्यका लागि तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण