भिनिसियसको बालोन डी’ओर पक्का ?
मड्रिड । मंगलबार राति बोरुसिया डर्टमण्डविरुद्ध उत्कृष्ट पुनरागमन गरेपछि रियल मड्रिडका फ्यानहरू ‘भिनिसियस जुनियरलाई बालोन डी’ओर’ भन्दै गाउँदै थिए । खेलपछि ब्राजिलियन फरवार्डले पनि क्लबमा आजीवन रहने वाचा गरे ।
भिनिसियसको शानदार ह्याट्रिकको मद्दतले रियलले च्याम्पियन्स लिगमा २–० ले पछि परेको स्थिति उल्टाउँदै डर्टमण्डलाई ५–२ गोलले हराउन सफल भएको थियो । उनको ह्याट्रिकको टाइमिङ पनि सही थियो । किनभने आउँदो सोमबार (२८ अक्टोबर) का दिन फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड मानिने बालोन डी’ओरको घोषणा हुँदैछ ।
खेलपछि रियलका म्यानेजर कार्लो एन्चेलोटीले भिनिसियसलाई ‘अद्भुत व्यक्तित्व’ भनेर वर्णन गरे । गत सिजन उनले गरेको प्रदर्शनको आधारमा बालोन डी’ओर पनि उनले नै जित्ने आशा व्यक्त गरे ।
गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएपछि नै २४ वर्षीय खेलाडीले बालोन डी’ओर जित्ने चर्चा सुरु भएको हो । उनले च्याम्पियन्स लिगको फाइनलमा गोल गर्नुका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।
गत वर्ष उनले सोक्राटेस अवार्ड पनि जितेका थिए । यो अवार्ड मानवतावादी काम गर्ने फुटबलरलाई दिइन्छ ।

हुन त नाइकीले अवार्ड समारोहको दुई दिनपछि सुनौलो मर्कुरियल भिनिसियस जुनियर बुट जारी गर्ने खबर लिक भएपछि नै बालोन डी’ओरको रेस समाप्त भएको चर्चा केही दिन अघिदेखि नै सामाजिक सञ्जालमा थालिसकेको थियो । मंगलबारको प्रदर्शनले उपाधिमाथिको उनको दाबीलाई थप बलियो बनाएको छ ।
बालोन डी’ओरको अन्तिम सूचीमा ३० जनाको नाम रहेका छन् । जसमा उनको समकक्षी जुड बेलिङह्यामदेखि कोल पाल्मरसम्म रहेका छन् ।

तर, उनको निकटतम प्रतिद्वन्द्वीमा म्यानचेस्टर सिटीका डिफेन्सिभ मिडफिल्डर रोड्री रहेका छन् । उनले आफ्नो क्लबलाई प्रिमियर लिगको उपाधि र स्पेनलाई युरोपियन च्याम्पियनसिप दिलाएका थिए । तर, धेरैले यसपटक यो उपाधि भिनिसियसले नै जित्ने दाबी गरेका छन् ।
गत सिजन उनले देश र क्लबका लागि ५१ खेलमा २६ गोल गर्नुका साथै १२ वटा एसिस्ट गरेका थिए । सोमबार यो उपाधि जिते उनी सन् २००७ पछि लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबाहेक बालोन डी’ओर जित्ने मात्र तेस्रो खेलाडी बन्नेछन् । यसअघि उनकै समकक्षी लुका मोड्रिचकले सन् २०१८ र करिम बेन्जेमाले सन् २०२२ मा बालोन डी’ओर जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण