शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
नेपाली फिल्ममा आकर्षण

नेपाली फिल्मको दबदबा, पछि परे हिन्दी फिल्म

दुई महिनामा ६ नेपाली फिल्मले कमाए ७१ करोड
आइतबार, २५ कात्तिक २०८१, १७ : १०
आइतबार, २५ कात्तिक २०८१

काठमाडौँ । पछिल्लो समय केही नेपाली फिल्मले राम्रो व्यवसाय गरेका छन् । चाडपर्वको समय पारेर प्रदर्शनमा आएका केही नेपाली फिल्मले दर्शकको राम्रो साथ पाएका हुन् ।

असोज र कात्तिकमा प्रदर्शित नेपाली फिल्मले हिन्दी फिल्मलाई समेत पछि पार्न सफल भएका छन् । यो दुई महिनामा ६ नेपाली फिल्मले राम्रो दर्शक पाए । यो अवधिमा रिलिज भएका सबैजसो हिन्दी फिल्मले नेपाली दर्शक पाउन सकेनन् ।

असोजको पहिलो साता रिलिज भएको नेपाली फिल्म ‘खुस्मा’, तेस्रो साताको ‘बेहुली फ्रम मेघौली’ र फूलपातीमा रिलिज भएको ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ व्यावसायिक रूपमा सफल रहे ।

असोजमा रिलिज भएका दुई हिन्दी फिल्म ‘देवरा’ र ‘जिग्रा’ले दर्शक पाउन सकेनन् । ‘देवरा’ले रिलिजको दिन देखिनै दर्शक पाएन भने ‘जिग्रा’लाई नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ले पछि पार्‍यो ।

यस्तै, तिहारमा प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसमा हङ्गामा मच्चाइरहेको छ । हलको शोमा ऐतिहासिक कीर्तिमान रच्न सफल यो फिल्मको टिकट पाउनै मुस्किल छ । लक्ष्मीपूजाको अवसर पारेर कात्र्तिक १५ गतेदेखि रिलिज भएको फिल्मको व्यवसाय दोस्रो साता पनि आक्रामक छ । फिल्म गत बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको हो ।

‘पूर्ण बहादुरको सारङ्गी’ सँगसँगै प्रदर्शनमा आएका बलिउडका बहुप्रतिक्षित फिल्महरू ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ शो र कमाई दुवैमा पछि परेका छन् । रिलिजको दिन शो राम्रो पाएका हिन्दी फिल्मको शो पछिल्ला दिन घटेका छन् ।

असोज र कात्र्तिकमा रिलिज भएका हिन्दी फिल्म नेपालमा व्यवसाय गर्न असफल रहेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठी बताउँछन् ।

‘घटस्थापनामा आएको फिल्म जिग्राले पनि व्यवसाय गरेन’, राठीले भने, ‘तिहारको फिल्म सिंघम अगेन र भूल भुलैया ३ को हालत पनि त्यस्तै रह्यो ।’ अबदेखि नेपालमा हिन्दीभन्दा नेपाली फिल्म धेरै चल्छ जस्तो आफूलाई लाग्न थालेको राठीको भनाइ छ ।

निर्माता तथा प्रदर्शक गोपालकाजी कायस्था पनि यो दुई महिनामा हिन्दीभन्दा नेपाली फिल्मको व्यवसाय राम्रो रहेको बताउँछन् ।

‘म पहिलेदेखि नै हिन्दीको विरोधभन्दा पनि नेपाली फिल्म राम्रो बनाऔंँ, हिन्दी फिल्म आफैँ विस्थापित हुन्छ भन्दै आएको छु’, कायस्थाले भने, ‘अहिले राम्रो नेपाली फिल्म आयो । दर्शकले हिन्दी छोडेर नेपाली हेरे ।’

फिल्मकर्मीले आफ्नो फाइदाका लागि, अरुलाई फसाउन भन्दा पनि राम्रो फिल्म बनाउन सकेमा दर्शक पाउने उनको भनाइ छ ।

दसैँ र तिहारजस्ता मुख्य चाडपर्वमा आएका नेपाली फिल्मले व्यवसायमा ठुलो छलाङ मारेका छन् । वर्षमा ६÷ ७ वटा फिल्म सफल भएको समयमा २ महिनामै ६ फिल्म व्यावसायिक रूपमा सफल ठहरिएका छन् ।

यो दुई महिनामा सफल भएका ६ फिल्म हुन् ‘खुस्मा’, ‘ ‘बेहुली फ्रम मेघौली’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘पूर्ण बहादुरको सारंगी’ । यी ६ वटा फिल्मले निकै लोभलाग्दो कमाइ गरेका छन् । सबै फिल्मको व्यवसाय जोड्दा अहिलेसम्म ७१ करोडभन्दा माथिको व्यापार गरेको सरोकारवाला बताउँछन् ।

अशोक थापा मगर निर्देशित ‘खुस्मा’ धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म हो । प्रेमकथामा निर्माण भएको फिल्मले ६ करोडभन्दा माथि कमाइ गरेको निर्देशक थापाको दाबी छ ।

त्यस्तै ‘बेहुली फ्रम मेघौली’ले हलबाट ४ करोड रूपैयाँ हाराहारी कमाएको अभिनेता एवं निर्माता निश्चल बस्नेत बताउँछन् । दोस्रो साता शो थोरै भयो भनेर फिल्म हलबाट उतारिएको थियो ।

फूलपातीमा एकसाथ रिलिज भएका तीन फिल्म ‘१२ गाउँ’, ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’ पनि सफलमा पर्छन् । विराज भट्ट, उनका छोरा समीरको अभिनय रहेको फिल्म ‘१२ गाउँ’ले चौथो सातासम्म २५.५ करोड कमाएको वितरक गोविन्द शाहीले बताए । फिल्म अहिले पाचाँंै सातामा प्रदर्शनरत रहेकोले आम्दानी अझ बढ्छ ।

‘छक्का पञ्जा ५’ले पनि चौथो सातासम्म २० करोडभन्दा बढी आम्दानी गरिसकेको वितरक मनोज राठी बताउँछन् । फिल्म अहिले पाँचौँ सातामा प्रदर्शनरत छ । दीपकराज गिरी, वर्षा शिवाकोटी, केदार घिमिरेको अभिनय यो फिल्ममा छ ।

त्यस्तै फूलपातीमा रिलिज भएका तीन फिल्ममा कमजोर आम्दानी ‘ज्वाइँ साब’ले गरेको छ । जितु नेपाल र नीति शाह अभिनीत फिल्मले ५ करोडभन्दा बढी कमाएको निर्देशक वसन्त निरौला बताउँछन् ।

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले भने अहिले बक्सअफिसमा आक्रामक आम्दानी गरिरहेको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले आठौँ दिन बिहीबारसम्म देशव्यापी ११ करोड १० लाख रुपैयाँ कमाइ गरेको छ । फिल्मको दोस्रो साताको कलेक्सन आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?