बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली याक्सको झण्डा भारतको केदारनाथ र अमेरिकाको टाइम्स स्क्वायरमा

सोमबार, २६ कात्तिक २०८१, १३ : १९
सोमबार, २६ कात्तिक २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक कर्णाली याक्सको झन्डा विश्वका विभिन्न चर्चित स्थानमा फहराइएको छ ।

कर्लाली याक्सका अनुसार, भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथ र अमेरिकाको टाइम्स स्क्वायरमा क्लबको सफलताको कामना गर्दै समर्थकहरुले झण्डा फहराएका हुन् । चितवनका सागर भट्टराईले भारतको उत्तराखण्डस्थित केदारनाथ पुगेर कर्णाली याक्सको झन्डा फहराए ।

भट्टराईले आगामी एनपीएलमा कर्णाली याक्सलाई सफलताको शुभकामना पनि दिएका छन् । उनले भनेका छन्, ‘कर्णाली याक्सले एनपीएल खेल्दैछ । प्रतियोगितामा क्लबले उत्कृष्ट प्रदर्शनसहित उपाधि जितोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

कर्णाली याक्सका अनुसार, अमेरिकामा भने दिनेश शेर्पालीले साथीहरुसँग मिलेर न्युयोर्कस्थित टाइम्स स्क्वायरमा क्लबको झण्डा फहराएका हुन् । उनी पनि एनपीएलका लागि कर्णाली याक्सको समर्थनमा जुटेका छन् । कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गर्नेमा उनी विश्वस्त छन् ।

समर्थकहरुले कर्णाली याक्सप्रति देखाएको सद्भावका लागि क्लबका सहमालिक गृहेन्द्र घिमिरेले आभार ब्यक्त गरेका छन् । ‘कर्णाली याक्सप्रति समर्थकले जुन प्रकारको माया देखाउनु भएको छ, यसले हाम्रो टिमको थप हौसला बढाएको छ,’ उनले भनेका छन् ।

कर्णाली याक्सको मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हुन् । मार्की खेलाडीमा राष्ट्रिय टोलीका तीव्रगतिका बलर सोमपाल कामी रहेका छन् । टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनाल, नन्दन यादवलगायतका खेलाडी पनि आबद्ध छन् ।

कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । वेष्ट इन्डिजका चादविक एन्टोनियो वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलत र हङकङका बाबर हायतले कर्णाली याक्सबाट खेल्ने पक्का भइसकेको छ ।

यसैगरी, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल र भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम ठकुरी र दीपक डुम्रे पनि कर्णाली याक्समा आबद्ध छन् । कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । टिमको हस्पिटालिटी पार्टनरका रुपमा हिल्टन होटल रहेको छ ।

कर्णाली याक्स हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिको स्वामित्वमा रहेको क्लब हो । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले कर्णाली याक्सलाई एक करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो । एनपीएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप