बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कीर्तिपुरमा माओवादीले जित्ने तीन आधार छन् : प्रचण्ड

बुधबार, २८ कात्तिक २०८१, ११ : ४५
बुधबार, २८ कात्तिक २०८१

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सबै राजनीतिक दलहरूको ध्यान काठमाडौँको कीर्तिपुर नगरपालिकामा परेको छ । भौगोलिक र सांस्कृतिक वैभवको दृष्टिले महत्त्वपूर्ण रहेको कीर्तिपुरमा यो पटक पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबिच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

यद्यपि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले समेत यो पटक उम्मेदवारी दिने तयारी गरेकाले अघिल्लो निर्वाचनको तुलनामा मत प्रभावित हुन सक्ने चर्चा पनि चलिरहेको छ ।

यहाँ सत्ताको नेतृत्व गरेको नेकपा एमालेले डा.सुरेन्द्र मानन्धरलाई उठाएको  छ । नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याउन सकेको छैन । यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले वाम बुद्धिजीवी प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उठाएको छ । उनी अघिल्लो निर्वाचनमा सोही नगरपालिकामा पराजित भएका थिए ।  यद्यपि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवारी दिने तयारी गरेकाले मत प्रभावित हुन सक्ने अनुमान पनि गरिएको छ ।

२०७९ को निर्वाचनमा कीर्तिपुरमा कांग्रेसले जितेको थियो । त्यतिबेला कांग्रेस, माओवादी, एकीकृत समाजवादीको सत्ता गठबन्धन भएपनि साझा उम्मेदवार उठाउन सकेको थिएन । यी तीनै दलले छुट्टाछुट्टै उम्मेदवार उठाएका थिए । अघिल्लो पटक कीर्तिपुरमा कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले नौ हजार ४३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशवरत्न बज्राचार्यले  पाँच हजार ५०७ मत पाएका थिए । तेस्रो स्थानमा रहेका माओवादीका उम्मेदवार महर्जनले चार हजार ९० मत पाएका थिए । नेकपा एकीकृत समाजवादीका उम्मेदवार वटुकृष्ण थापाले एक हजार एक सय ५३ मत पाएका थिए ।

तर यस पटक माओवादीका उम्मेदवार महर्जनले इतिहास रच्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । बुधवार कीर्तिपुरमा आयोजित उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै उनले निर्वाचनमा महर्जनले जित्ने तीन आधार समेत सुनाए ।

‘यस पटक हामीले एउटा इतिहास निर्माण गर्नेछौँ । प्राडा. शिवशरण महर्जनको नेतृत्वमा शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधारमा एउटा नयाँ कीर्तिपुर निर्माण हुनेछ । यहाँ सांस्कृतिक वैभवको दृष्टिकोणले पनि महत्त्वपूर्ण छ’, उनले भने, ‘शिवशरणजी जत्तिको बौद्धिक र योग्य व्यक्ति अरू छैन । उहाँले कीर्तिपुरको समग्र समस्या समाधानका लागि खेलेको भूमिका तारिफयोग्य रहेको छ । हाम्रा उम्मेदवारलाई जिताउन हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।’

कार्यक्रममा प्रचण्डले कीर्तिपुरमा माओवादीले जित्ने तीन आधार समेत पेस गरे । चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न आत्म आलोचनासहित प्रत्येक जनताको घरघर जान उनले निर्देशन दिए ।

कीर्तिपुरमा माओवादीले जित्ने प्रचण्डको तीन आधार:

१.उम्मेदवारको कारणले जनमत हाम्रो पक्षमा छ ।

२. महर्जनलाई जिताउन कीर्तिपुर माओवादी एकताबद्ध रहेको र प्रचण्डलाई भेटेर आफ्ना उम्मेदवारलाई जिताउँछौँ भनेर सर्वसम्मत रूपमा प्रतिबद्धता जनाएको छ ।

३. अन्य राजनीतिक दलहरूसँग पनि लगातार कुरा भइराखेको । उनीहरूबाट सकारात्मक प्रतिक्रिया आइराखेको ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कीर्तिपुरको उपनिर्वाचनमा जसरी महत्त्व दिएका छन् दुई ठुला दल  कांग्रेस र एमालेले पनि उस्तै प्रतिष्ठाको विषय बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप