आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
यू–१९ महिला विश्वकप छनोट क्रिकेट

महत्त्वपूर्ण खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकपमा पुग्यो

बुधबार, २८ कात्तिक २०८१, १७ : ५४
बुधबार, २८ कात्तिक २०८१

काठमाडौँ । अप्ठ्यारो परिस्थितिबिच आफू अनुकूलको नतिजा निकाल्दै नेपाल आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । नेपालले अब सन् २०२५ को जनवरीमा मलेसियामा आयोजना हुने यू–१९ महिला विश्वकप खेल्नेछ ।

बुधबार खेलिएको निर्णायक खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १४.४ ओभरमै केवल दुई विकेट गुमाए ८६ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । नेपाल र यूएई दुबैको समान १०–१० अंक भए पनि नेट रन रेटमा थोरै रन अन्तरले नेपाल अगाडि रह्यो । खेल सुरु हुनुअघि नेपालभन्दा यूएईको नेट रन रेट राम्रो थियो ।

त्यसैले बुधबारको अन्तिम खेलमा नेपाली टोली दबाबमा थियो । बुधबारको खेलमा नेपालले पहिले ब्याटिङ गरेको अवस्थामा कम्तीमा एक सय ४० रन बनाउनु पर्ने हुन्थ्यो । त्यसपछि यूएईलाई कम्तीमा २१ रनको अन्तरले हराउनु पर्ने हुन्थ्यो ।

नेपालले पहिले बलिङ गरेको स्थितिमा यूएईलाई एक सय ४० रनभित्रै रोक्नु पर्ने हुन्थ्यो । त्यसपछि नेपालले १६.१ ओभरमै विजयलक्ष्य पुरा गर्नुपर्ने अवस्था थियो । अन्तिम खेलमा नेपाल पराजित भएको अवस्थामा वा खेल अनिर्णीत अवस्थामा टुंगिएको अवस्थामा यूएई विश्वकपमा पुग्ने थियो ।

तर, नेपाली खेलाडीले आफ्नो अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरे । पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि बलरहरुले निखारिएको प्रदर्शन गरे । यूएईलाई एक सय रनभन्दा कम योगफलमा समेट्ने क्रममा नेपाली टोलीकी बलर कृष्मा गुरुङ एक्लैले चार विकेट लिइन् । उनले चार ओभरमा केवल १७ रन खर्चिइन् । उनले फालेको १३ बलमा यूएईका ब्याट्रले रन बनाउन सकेनन् ।

यसैगरी, रिया शर्माले पनि दुई विकेट हात पारिन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल १२ रन खर्चिएकी थिइन् । उनले फालेको १६ बलमा यूएईका ब्याट्रले रन बनाउन सकेनन् । सिमाना केसीले पनि दुई विकेट लिइन् । उनले चार ओभरमा केवल १८ रन खर्चिइन् । उनले फालेको १२ बलमा यूएईका ब्याट्रले रन बनाउन सकेनन् ।

यसैगरी, रचनाकुमारी चौधरी पनि एक विकेट लिइन् । यूएईका लागि समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । रिनिथा रजिथले पनि टोलीको खातामा २० रन थपिन् । यूएईका अन्य ब्याट्रले गतिलो प्रदर्शन गर्न सकेनन् ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि ब्याट्रहरुले पनि गतिलो प्रदर्शन गरे । ओपनर साना प्रविनले अविजित ३५ रनको योगदान गरिन् । उनले ४२ बलको सामना गरी एक चौका पनि प्रहार गरिन् ।

यसैगरी, कप्तान पूजा महतोले पनि टोलीका लागि २१ रनको योगदान गरिन् । उनले १८ बलमा चार चौका प्रहार गरिन् । अर्की ओपनर सावित्री धामीले पनि १२ रन बनाइन् । उनले नौ बलमा एक चौका हिर्काएकी थिइन् । सोनी पाख्रिनले पनि टोलीका लागि १९ बलमा अविजित १३ रनको योगदान गरिन् । नेपाली टोलीले अतिरिक्त रुपमा पायो रन पायो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?