प्रचण्डको चाइना कार्ड अभिव्यक्तिबारे बाबुरामको टिप्पणी : यो तहमा झर्नु दुर्भाग्यपूर्ण र लज्जास्पद !
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेसपा (नयाँ शक्ति) का संयोजक बाबुराम भट्टराईले नेपाली राजनीतिका प्रमुख व्यक्तित्वहरूले आफ्नो सार्वजनिक बोली र वास्तविक जीवन व्यवहारमा तल झर्नु दुर्भाग्यपूर्ण र लज्जास्पद भएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाइना कार्ड अभिव्यक्तितर्फ संकेत गर्दै संयोजक भट्टराई सो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल एक्समार्फत उनले भनेका छन्- ‘नेपाली राजनीतिका प्रमुख व्यक्तित्वहरूले आफ्नो सार्वजनिक बोली र वास्तविक जीवन व्यवहारमा यो तहमा झर्नु दुर्भाग्यपूर्ण र लज्जास्पद छ। संवेदनशील भूराजनीतिक र कूटनीतिक विषयमा उनीहरूको सार्वजनिक विवाद हुनु झन् गैरजिम्मेवार र लज्जास्पद कुरा हो ।’
भट्टराईले जब एक पूर्व क्रान्तिकारी एक तुच्छ अवसरवादी राजनीतिज्ञमा परिणत हुन्छ र व्यक्तिगत शक्तिको लागि फोहोरी चालबाजीमा संलग्न हुन्छ, यो अझ घृणित हुने समेत बताएका छन् ।
उनले राजनीतिक प्रतिद्वन्द्वीमाथि विदेशी ‘कार्ड’ खेलेको सार्वजनिक आरोप ‘किट्लीलाई कालो भाँडो भनेजस्तै’ हो भन्दै भनेका छन्, ‘ यी सज्जनहरूले तुच्छ शक्ति वा आर्थिक लाभका लागि कसैलाई पनि कसरी ठग्छन् भन्ने कुरा समझदार जनतालाई राम्ररी थाह छ।’
दक्षिण एसियाको सबैभन्दा पुरानो सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको राष्ट्रिय हित कुनै पनि पार्टी वा नेताको हितभन्दा माथि रहेको बताउँदै उनीहरुले यो कुरा बुझ्नेपर्ने भट्टराईको भनाई छ । नेपालले दुवै पक्षसँग असंलग्नता र असल सम्बन्धको सदियौं पुरानो नीति र अभ्यासबाट टाढा जान नसक्ने बताउँदै संयोजक भट्टराईले भनेका छन्, ‘ हामी दुवै पक्षसँग असंलग्नता र असल सम्बन्धको सदियौं पुरानो नीति र अभ्यासबाट टाढा जान सक्दैनौं। विदेश भ्रमणको क्रम भनेको आपसी सुविधा र आवश्यकतामा आधारित लेनदेनको विषय मात्र हो ।’
केही दिनअघि भारतीय अखबार ‘द हिन्दु’ सँगको अन्तरवार्तामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर ‘चाइना कार्ड’ शब्द प्रयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण