अमेरिका जान हिँडेका रुकुमका नेपाली युवक चीनमा पक्राउपछि डिपोर्ट
चीन । चीनको बाटो हुँदै नक्कली कागजपत्र बोकेर संयुक्त राज्य अमेरिका जान लागेका एक नेपाली युवक सिचुवान प्रान्तको छेङ्दु विमानस्थलमा पक्राउ परेका छन् । रुकुम घर बताउने ३२ वर्षीय काजी महरा (नाम परिवर्तन)लाई शुक्रबार छेङ्दुस्थित थ्यानफू अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेर छानबिन गरिएको हो ।
डिसेम्बर ४ सम्म छेङ्दु बस्ने गरी चीनको पर्यटक भिसामा एयर चाइनाको विमानबाट चीन आएका उनलाई चिनियाँ अध्यागमन कार्यालयका सुरक्षाकर्मीले शङ्का लागेपछि शुक्रबार साँझ पक्राउ गरेको थियो । विमानस्थल अध्यागमनका कर्मचारीहरूले चेकजाँचका क्रममा उनले देखाएको नेपाली राहदानीमा केही नक्कली प्रवेशाज्ञा (भिसा) हरू देखेपछि उनलाई तत्काल सोधपुछ गरिएको थियो ।
ती युवाले बोलेको अङ्ग्रेजी भाषा चिनियाँहरूले नबुझेपछि तत्काल छेङ्दुमा रहेका नेपाली भाषा विज्ञ चिनियाँ नागरिक स्याउ माउलाई विमानस्थलका अध्यागमन अधिकारीले बोलाएर चार घण्टासम्म ती सोधपुछ र छानबिन गरिएको थियो ।
अध्यागमनका सुरक्षाकर्मी र नेपाली भाषा अनुवादक माउले प्रश्न सोध्न थालेपछि ती युवाले आफू अमेरिका जान चीन आएको बताए । किन, कसरी कहाँबाट अमेरिका जान लागेको भन्ने प्रश्न गरेपछि उनको झोला समेत खानतलासी गर्दा उनीसँग मलेसियाको नक्कली पासपोर्ट भेटियो । त्यसपछि अनेक शङ्का लागेपछि उनको साथमा रहेको लगेज खोलेर खानतलासी गर्दा विभिन्न देशका नक्कली भिसाहरू, नक्कली कागजपत्र फेला परेको पछि चिनियाँ अध्यागमनका अधिकारी चकित परे । उनीसँग न्युजिल्याण्ड, चिली, पेरु, इजिप्ट, र दक्षिण अमेरिकाको समेत नक्कली विद्युतीय भिसा फेला परेको छ ।
ती नेपाली युवालाई अमेरिकासम्म पुर्याउने नेपाली एजेन्टले डिसेम्बर चार (४) तारिखमा छेन्दुबाट स्पेन उडाउने तयारी गरेका थिए । त्यसपछि विभिन्न देश हुँदै मेक्सिको पुग्ने, त्यसपछि अमेरिका प्रवेश गर्ने आफ्नो योजना रहेको जानकारी चिनियाँ अध्यागमन अधिकारीहरूलाई गराएका छन् ।
बाबु भारतीय सेनाका अवकाश प्राप्त सैनिक, घरमा दुई छोरी, श्रीमती र एक छोरा बताउने ती नेपाली युवाले अमेरिकासम्म प्रवेश गराउने एजेन्टलाई ६० लाख नेपाली रुपैयाँ दिने बाचा गरेर नेपालबाट उडेका थिए ।
‘अहिलेसम्म अमेरिका पुराइदिने एजेन्टलाई १० लाख नेपाली बुझाइसकेको छु’, ती नेपाली युवाले चिनियाँ अध्यागमन प्रहरीसमक्ष भने, ‘अहिले आठसय अमेरिकी डलर र केही चिनियाँ पैसा साथमा लिएर आएको छु ।’
‘खोइ, मलाई केही थाहा भएन, घरमा कुखुरा/बाख्रा पालेर बसेको थिए, गाउँका एक जना अमेरिकाको साथीले अमेरिका जाने सपना देखाएपछि म हिँडेको हुँ,’ ती युवाले चिनियाँ अध्यागमन अधिकारी समक्ष बयानमा भनेका छन्, ‘अमेरिकामा धेरै पैसा कमाउन सकिन्छ भनेर हिँडेको हो ।’
ती युवकले ‘अमेरिकामा नयाँ राष्ट्रपति आएका छन् रे, अब केही समयपछि अमेरिका जान सकिँदैन भनेर अहिले नै आएको हुँ’ भन्ने समेत भनेर बयान दिएका छन् ।
शुक्रबार एयर चाइनाको विमानबाट छेङ्दु पुगेका नेपाली युवालाई छानबिन पछि चीनको अध्यागमन कार्यालयले तीन हजार चिनियाँ युआन रकम जरिवाना गराएको छ । उनको साथमा रहेको अमेरिकी डलर रकमलाई साटही गरेर अध्यागमनको नियम अनुसारको जरिवाना रकम असुल गरेको हो ।
त्यसपछि उनको नक्कली कागजपत्रहरू देखेपछि विमानस्थलको हिरासतमा राखेर उनलाई शनिबार साँझ नेपाल फर्कने गरी एयर चाइनाको टिकट समेत व्यवस्था गरिएको छ ।
चिनियाँ अध्यागमनका सुरक्षाकमीले चीनको बाटो हुँदै अमेरिका जान लागेका यी पहिलो नेपाली नागरिक भएकाले पनि विशेष छानबिन गरेका हुन् । उनलाई शुक्रबार राति खाने, बस्ने व्यवस्था चिनियाँहरूले मिलाएका छन् । पक्राउ परेका युवा शनिबार चार बजे एयर चाइनाको विमानबाट नेपाल फर्कने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पा २ को स्क्रिनिङमा मृत्यु भएकी महिलाको परिवारलाई अल्लुले २५ लाख भारु दिने
-
हिज्जे बिग्रनुमा अखबार बढी जिम्मेवार
-
विराटनगरविरुद्ध देवको अर्धशतक
-
सीके राउतको पहिलो चीन भ्रमण, भन्छन्– चीनको विकास देखेर चकित भएँ
-
माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबिच एकता घोषणा
-
इरानको युरेनियम संवर्धनमा भएको वृद्धिप्रति चिन्ता व्यक्त