बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेकपा बहुमतले भत्कायो कर्ण शाक्यको होटल वाटर फ्रण्टको पर्खाल

शनिबार, १५ मङ्सिर २०८१, २० : ५६
शनिबार, १५ मङ्सिर २०८१

पोखरा । धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरूले पोखराको फेवाताल किनारमा रहेको वाटर फ्रण्ट होटलको पर्खाल भत्काइदिएका छन् । शनिवार कास्की जिल्ला इन्चार्ज सुजन आयाम र सेक्रेटरी अनवरतको नेतृत्वमा गएको टोलीले तालको मापदण्ड मिचेर बनाइएको पर्खाल भत्काएको हो ।

उनीहरुले यसलाई तालको जग्गा अतिक्रमण विरुद्ध सुरुवाती साङ्केतिक कारबाही भनेका छन् । पर्खाल भत्काएपछि विज्ञप्ति निकाल्दै सुजनले भने, ‘फेवाताल क्षेत्रको जग्गा अतिक्रमणका विरुद्ध सुरुवाती साङ्केतिक कारबाही गर्न बाध्य भएका छौँ ।’

सर्वोच्च अदालतले गरेको फैसला र नगर विकास समितिका तत्कालीन अध्यक्ष विश्वप्रकाश लामिछाने नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । निवर्तमान मेयर मानबहादुर जिसीको पालामा तालको मापदण्ड घटाउने निर्णय गरेको भन्दै बहुमतले त्यसलाई अस्वीकार गरेको छ । 

 ‘अदालतको आदेश कार्यान्वयन गर्नुको साटो तत्कालीन मानबहादुर जिसी नेतृत्वको महानगर सरकारले बिचौलिया र माफियाबाट प्रलोभित र प्रभावित भएर तालको मापदण्ड घटाउने निर्णय गर्‍यो,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णय पनि खारेज गरेर अदालतले ६ महिनाभित्र मापदण्ड भित्रका संरचना हटाउन आदेश दिए पनि कार्यान्वयन भएन ।’

जिसी मेयर हुँदा २०७८ चैत १६ गते बसेको कार्यपालिका बैठकले तालको मापदण्ड ६५ मिटरबाट ३० मिटरमा झार्ने निर्णय गरेको थियो । त्यसविरुद्ध अधिवक्ता खगेन्द्र सुवेदी सहितका अधिवक्ताहरुले सर्वोच्चमा पुनः रिट दायर गरे ।

सर्वोच्चले २०८० असार ४ गते मापदण्ड ६५ नै कायम गर्दै ६ महिनाभित्र संरचना हटाउन आदेश दिएको थियो । तर उक्त आदेश उपर हालसम्म देखिने गरी काम भएको छैन । मुख्यमन्त्रीको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ भने प्राविधिक सम्मिलित उपसमिति बनेको छ ।

उपसमितिले नाप जाँच गरेर प्रतिवेदन पनि बुझाइसकेको बताइएको छ । यद्यपि कार्यान्वयनमा तीनै तहका सरकारले चासो दिएका छैनन् । नेकपा बहुमतले तालको मापदण्ड कार्यान्वयन गर्न सबैलाई एकताबद्ध हुन आह्वान गरेको छ ।

‘फेवातालको मापदण्डभित्र संरचना बनाएर बसेकालाई स्वतःस्फूर्त संरचना भत्काएर तालको संरक्षणमा सहयोग गर्न अनुरोध गर्दछौँ,’ सुजनले भने, ‘अब हामी सबै ताल जोगाउन लाग्नुपर्ने भएको छ । सबैलाई जोडिन आह्वान गर्दछु ।’  उनीहरुले ७ बुँदामा संरचना भत्काउनुको औचित्य लेखेर प्रदर्शन सुरु गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप