एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
काठमाडौँ । सर्वोच्च अदालतले अन्ततः एमालेले दानमा पाएको जग्गामा भवन बनाउन सक्ने गरी फैसला सुनाएको छ। न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले सोमबार रिट खारेज गर्दै एमालेलाई उक्त जग्गामा पार्टी कार्यालय बनाउने बाटो खोलेको हो ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले कात्तिक ७ गते रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले पहिलो सुनुवाइ गर्दै अन्तरकालीन न अन्तरिम आदेश गरेको थियो । सर्वोच्चले सोमबार अन्तिम सुनुवाइ गर्दै रिट खारेज गर्ने फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै अब एमालेले उक्त जग्गामा भवन निर्माण गर्ने कानुनी बाटो खुल्ला भएको छ। यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरकालीन अन्तरिम आदेश जारी गरेका कारण रोकिएको थियो ।
भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन नेकपा एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिने घोषणा गरेका थिए । उक्त जग्गामा पार्टी कार्यालय बनाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास समेत गरेका थिए । तर सर्वोच्चमा रिट परेपछि भवन निर्माण रोकिँदै आएको थियो ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्री नगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओली दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए। उक्त निर्णयको सर्वत्र आलोचना भएको थियो ।
प्रमुख राजनीतिक दल मध्येको एक अनि सरकारमै भएको समयमा विभिन्न तहका अदालतमा मुद्दा विचाराधीन भएको व्यक्तिबाट जग्गा दान लिएको भनी एमाले र प्रधानमन्त्री ओलीको आलोचना भएको थियो । उनले पार्टी भित्रबाट पनि आलोचना खेपेका थिए । तर उनले भवन निर्माण रोक्न चाहेनन् ।
यही विवादमा बिचमा अधिवक्ता बस्नेतले यो विवाद सर्वोच्च अदालत पुर्याएका थिए । बस्नेतले रिट दायर गरेपछि कात्तिक १२ गते पहिलो सुनुवाइ गर्दै न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश पोखरेलले राजनीति दलसम्बन्धी ऐनको व्यवस्थामा टेकेर तत्कालका लागि उक्त अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएका थिए ।
सर्वोच्चले दुवै पक्षको बहस सुनेर सोमबार रिट नै खारेज गरिदिएको छ। सर्वोच्चले फैसलाको पूर्णपाठ हाल सार्वजनिक गरेको छैन । संक्षिप्त आदेश समेत प्राप्त नभएकाले रिट खारेज गर्दा लिएको आधार खुल्न सकेको छैन । तर सर्वोच्चले जारी विवाद सम्वन्धी रिट नै खारेज गरेकाले एमालेलाई भवन निर्माणका लागि कुनै वाधा र कानुनी रूपमा समस्या नहुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण