वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
पर्सा । माइती नेपाल शाखा कार्यालय वीरगन्जले सन् २०२४ वीरगन्ज नाका हुँदै भारततर्फ जान लागेका एक सय ३२ जना बालबालिका तथा महिलाको उद्धार गरेको छ ।
कार्यालयले विभिन्न बहाना देखाएर भारत लैजान लागेका एक सय ३२ जनालाई नेपाल–भारत सीमावर्ती क्षेत्र शङ्कराचार्य गेटबाट उद्धार गरिएको छ । माइती नेपाल शाखा कार्यालय वीरगन्जका सुपरभाइजर गोमा पौडेलले एक वर्षको अवधिमा भारत लैजान लागिएका एक सय ३२ बालबालिका तथा महिलालाई उद्धार गरिएको जानकारी दिइन् ।
“माइती नेपालले नेपाल–भारतको सीमावर्ती क्षेत्र नजिक पर्ने शङ्कराचार्य गेटमा कर्मचारी खटाएर भारत लैजान लागेका बालबालिका तथा महिलाको विषयमा नियमित रूपमा निरीक्षण गर्दै आइरहेको छ”, उनले भनिन्, “सो क्रममा शङ्कास्पद गतिविधि देखिएकालाई उद्धार गरेर आवश्यक परामर्श दिँदै आइएको छ ।”
माइती नेपालले भारतको पटनास्थित ‘उई विनर’ नेटवर्किङमा काम गर्न जान लागेका ३५ जनालाई सीमा क्षेत्रबाटै उद्धार गरेको छ । सानै उमेरमा प्रेममा परेर भारतीय प्रेमीलाई भेट्ने निहुँमा हिँडेका २९ जना किशोरीलाई उद्धार गरेको छ । कार्यालयले विहारका विभिन्न जिल्ला घुम्न जाने बहाना गर्ने २७ जना, काम गर्न जान लागेको बहाना देखाउने १७ जना र समान किन्न जान लागेको बहाना देखाउने १४ जनालाई उद्धार गरेर फिर्ता ल्याएको छ । उद्धार गरिएकामध्ये १८ वर्षसम्मका उमेर समूहका ५४ जना र १९ वर्षमाथिका उमेर समूहका ७८ जना रहेका छन् ।
कार्यालयले सन् २०२३ मा भने सीमा क्षेत्रबाट एक सय ९२ जना बालबालिका तथा महिलाको उद्धार गरेको थियो । माइती नेपालका वीरगन्ज कार्यालयका सुपरभाइजर पौडेलले भारतमा जनचेतनाका कारण मानवबेचविखनका लागि लैजाने प्रवृत्तिमा भने केही कमी आएको बताइन् ।
माइती नेपालले एक वर्षमा सीमा क्षेत्रमा २१ हजार तीन सय ७२ स्थानीय सवारीसाधनमा जाँच गरेको थियो । जाँचका क्रममा २५ हजार छ सय १५ जनालाई सीमा क्षेत्रमा मानवबेचविखनसम्बन्धी परामर्श गरेको थियो । कार्यालयले सन् २०२३ मा भारतका विभिन्न राज्यबाट १८ जना बालबालिका तथा महिलाको उद्धार गरेको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण