राजेन्द्र शलभका तीन कविता
१) आमा
सूर्यजस्तै ठूलो रातो टीका
निधारमा लगाउँदा
मेरी आमा साह्रै राम्री देखिनुहुन्थ्यो ।
संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस
तर बुवा बित्नु भएपछि
आमाले रातो टीका लगाउन छोड्नुभयो
विनाटीका मलिन देखिन्छ आमाको अनुहार ।
जबजब गोधुलीको बेला
निधारमा सूर्यको रातो टीका लगाएको आकाशलाई देख्छु,
म आमालाई सम्झन्छु ।
रातो टीका लगाएको
आकाश पनि राम्रो देखिन्छ
तर, आमाजत्तिको राम्रो होइन ।

(यस ‘आमा’ कवितामाथि वरिष्ठ चित्रकार किरण मानन्धरले बनाएको चित्र ।)
००
२) मभित्रको सिद्धार्थ
हरेक रात
जब कुनै नराम्रो सपना देखेर ब्युँझिन्छु
मभित्रको सिद्धार्थ पनि मसँगै ब्युँकिन्छ ।
निद्रामा पनि दुःखले नछाडेको
यशोधराको अनुहार हेर्छु
दिक्क लाग्छ,
मस्त निदाइरहेको राहुललाई हेरेर
मुस्कुराउन खोज्छु
न त मुस्कान आउँछ ओठमा
न त निद्रा नै आउँछ आँखामा !
छटपटिन्छु र झ्याल छेउ पुग्छु
आँगनपारि ठिङ्ग उभिएको पिपलको रुखमा
हल्लिरहेका पिपलका पातहरूलाई हेर्छु
अनेक विचारहरू मनभरि दौडिन्छन्
रोग र मृत्युको प्रश्नभन्दा पहिले
भोकको प्रश्न मेरा अगाडि आएर उभिन्छ
ऋणको पहाडले बेस्सरी थिच्न थाल्छ
र मभित्रको सिद्धार्थ छटपटिन थाल्छ !
पिपलको बोटमुनि बसेर
ध्यान गर्नुअगावै
मलाई यथार्थबोध हुन्छ
दराजबाट आफ्नो पासपोर्ट झिक्छु
र सुतिरहेका यशोधरा र राहुललाई यत्तिकै छाडेर
म कुनै मेनपावर कम्पनीको ढोकामा पुग्छु ।

(‘मभित्रको सिद्धार्थ’ कवितामाथि प्राज्ञ अरूणा हिङमाङले बनाएको चित्र ।)
००
३) मौन–संवाद
जब दुई फरक दिशाबाट
आइरहेका मानिसहरू
नजिक आउँछन्
या त हेर्छन् एक अर्कालाई
या त वास्तै गर्दैनन् ।
तर दुवै अवस्थामा
उनीहरू बिच चुपचाप
एउटा मौन–संवाद हुन्छ
जसरी,
बतासले चुपचाप एकैसाथ छुन्छ
फूल र काँडा दुवैलाई ।
०००
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण