के रिहा हुने बन्धकको सूचीमा विपिनको नाम समावेश भएको हो ?
काठमाडौँ । विगत १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका विपिन जोशी रिहा हुन लागेको भन्ने समाचार बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। समाचारमा हमासले रिहा गर्ने बन्धकहरूको सूची भनेर दाबी गरिएको एउटा कागज सार्वजनिक गरिएको छ, जसमा विपिनको नाम ५८ औँ नम्बरमा रहेको देखाइएको छ । त्यसलाई नै सेयर गर्दै धेरैले सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् ।
यो सूची सार्वजनिक भएसँगै ‘विपिनको नाम रिहा हुने बन्धकहरूमा सूचीकृत भएको हो कि होइन’ भनेर बुझ्न रातोपाटीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसँग बिहीबार बिहान सम्पर्क गरेको थियो । तर, राजदूत पण्डितले भने यसबारे आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको स्पष्ट पारेका छन् । मिडियाले अनावश्यक रूपमा विपिन छुट्न लागेको भन्दै प्रचार गरेकोमा उनले आक्रोश समेत व्यक्त गरेका छन् ।
यस्तो छ राजदूत पण्डितको जवाफ जस्ताको त्यस्तै :
गाजामा युद्धविरामपछि पहिलो दिन तीन जना बन्धक छुटेका थिए भने दोस्रोपटक चारजना छुटे । बिहीबार थप तीन जना इजरायली नागरिकसहित पाँच जना थाई नागरिक छुट्दैछन् । दुई जना थाई नागरिक मारिसकिएको भनिएको छ । उनीहरूको शव कहिले आउँछ भन्ने खुलेको छैन ।
आजको रिहाइपछि अहिलेसम्मको हिसाबमा हमासको कब्जामा अब बाँकी विदेशीमा दुई जना रहने छन् । जसमा एक जना थाई र एक जना नेपाली छन् । उनीहरूको रिहाइको बारेमा अहिलेसम्म हामीलाई आधिकारिक जानकारी प्राप्त भएको छैन ।
विपिनबारे खबर भाइरल भएपछि धेरैले मलाई यसबारे सोधखोज गर्नुभयो । त्यसपछि मैले पनि बुधबार राति नै इजरायलको प्रधानमन्त्री कार्यालयअन्तर्गत बन्दीसम्बन्धी मामिला हेर्ने सल्लाहकारलाई फोन गरेँ । उहाँले फोन उठाउनुभएन । पछि म्यासेज गर्दा उहाँले ‘सरी वी डन्ट ह्याभ एनी अपडेट अनटिल नाउ’ भनेर जवाफ फर्काउनुभयो ।
मैले पाएको जानकारी यत्ति हो अहिलेसम्म । अरू केही जानकारी छैन । आज थप बन्धकहरूलाई छोडिसकेपछि अवस्था के हुन्छ, त्यो हेर्नुपर्ने हुन्छ । शनिबारबारसम्म अर्को लट छाड्छ रे । हामी त्यसको वेटिङमा छौँ । विपिनको अवस्थाबारे हामीसँग थप प्रमाण र औपचारिक जानकारी नभएको हुनाले त्यसै बोल्ने कुरा भएन ।
तर, मिडियाले टीआरपीका लागि विपिन रिहा हुने पक्का भयो भन्दै समाचार प्रकाशित गर्यो । आजसम्म हामीलाई प्राप्त जानकारी अनुसार यसमा कुनै सत्यता छैन । हामी पनि उहाँ छिटो छुट्नुहोस् भन्ने चाहन्छौँ, त्यसका लागि निरन्तर प्रयास गरिरहेकै छौँ । उहाँ छुट्नुहुन्छ र छुटेपछि सुरक्षित घर पुर्याउने बन्दोबस्त गरौँला भनेर पर्खाइमा छौँ ।
यहाँको सरकारले पनि जीवित बन्दीहरूको नाम देऊ भनेर हमासलाई प्रेसर गरेको गरेकै छ । तर उनीहरूले नामै दिन मानिरहेका छैनन् । यसरी मिडियाले गलत प्रचार गरिदिनुभएन । विपिन रिहा हुने सूचीमा परेको दाबी गर्ने एउटा मिडियाले मलाई सोधेको थियो । ‘हामीले कतैबाट थाहा पायौँ विपिनको रिहा हुँदैछ रे भनेर’ भन्दै मलाई प्रश्न गरेको थियो ।
मैले उहाँहरुलाई नै प्रश्न गरेँ– विपिनबारे पहिले तपाईंलाई जानकारी होला कि मलाई ? यहाँको सेनाले, सरकारले वा प्रधानमन्त्रीले थाहा पाउने बित्तिकै तपाईंलाई जानकारी गराउँछ कि मलाई ? परिवारको भावनामाथि त्यसरी खेलबाड नगर्नुहोस् भनेँ मैले । यसरी कसैले पनि मान्छेको भावना माथि खेल्नुहुँदैन ।
उनले यति भनेर आफ्नो कुरा टुंग्याए । विपिन जोशीको प्रतीक्षामा उनको परिवार मात्रै छैन, सिंगो देश नै उनलाई स्वागत गर्न आतुर छ । तर अहिलेसम्म उनको रिहा हुने सूचीमा आधिकारिक रूपमा उनको नाम आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण