खेतबारीमा आएका बाँदर र बँदेल लखेट्दा मरेको खण्डमा कानुनी कारबाही हुन्छ ?
काठमाडौँ । नेपालमा जंगली जनावरले कृषि बालीमा नोक्सानी पुर्याउने भएर सरकारले जंगली बँदेल र रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यी दुवै जनावार खेतबारीमा आएको अवस्थामा लखेट्ने क्रममा मरेको खण्डमा सम्बन्धित किसानलाई कानुनी कारबाही नहुने भएको छ ।
सरकारले नेपाल राजपत्रमा २०८१ माघ १० मा सूचना प्रकाशित गरी निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेकको जंगली बँदेल र जंगली रातो बाँदरलाई १ वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।
सानो बँदेल लोपोन्मुख जनावर हो । सानो बँदेललाई सरकारले संरक्षण गरेको छ । सानो जातको बँदेल बाहेकको जंगली बँदेल र जंगली रातो बाँदरलाई खेतीमा नोक्सान पुर्याइएको खण्डमा धपाउन सकिने वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्ले बताउँछन् ।
मन्त्रालयले गत वर्ष (२०८०) मंसिर ७ गते बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । कृषिमा हानि पुर्याएको भन्दै यही माघ १० गते जंगली रातो बाँदरलाई पनि एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । यी जनावरले खेतका मकै, धान, गहुँ, आलु लगायत बाली र फलफूल खानुका साथै नोक्सान गर्ने गर्दछन् ।
‘बाँदर र बँदेलले कृषि बाली नोक्सान गर्ने भएकाले यसलाई हानिकारक जीवजन्तु भनेर घोषणा गरिएको हो’ प्रवक्ता वाग्लेले भने, ‘किसानले लखेट्न, धपाउन पाउने हो तर मार्न मिल्दैन । यदि त्यस्तो भयो भने स्थानीय तहलाई जानकारी गराउनुपर्ने हुन्छ ।’
- जंगली बँदेल कसरी चिन्ने ?
वन्यजन्तु विशेषज्ञ प्राडा मुकेश चालिसेका अनुसार नेपालमा दुई थरीको बँदेल पाइन्छ । ठुलो बँदेल तराई क्षेत्रका जंगली भेगमा पाइन्छ । सानो बँदेलचाहिँ लोपोन्मुख रहेको चालिसे सुनाउँछन् ।
‘हाम्रो देशमा दुई थरीको बँदेल पाइन्छ । ठुलो बँदेल तराईतिरको जंगली बँदेल हो,’ उनले भने, ‘सानो बँदेल पूर्वतिर पाइन्छ । यसलाई संरक्षण गरिएको छ । हेर्दा एक फिटभन्दा सानो हुन्छ ।’
ठुलो बँदेल निजी जग्गामा आयो भने किसानले धपाउन पाउने तथा यस क्रममा मरेको खण्डमा कानुन नलाग्ने भनेर उल्लेख गरिएको हो ।
पूर्वी भेगमा क्रस भएका खैरो बँदेल पाइन्छ भने पश्चिम भेगमा कालो बँदेल पाइने डा. चालिसे बताउँछन् । खेतबारीमा नोक्सान गर्ने रातो बाँदरलाई पनि धपाउन सकिने छ ।
- बाँदर र बँदेल व्यवस्थापनका शर्त
किसानले जंगली बँदेल र जंगली रातो बाँदरलाई धापउँदा निम्न शर्त पूरा गर्नुपर्ने छ ।
– जङ्गली बँदेलले किसानको खेतबारीमा आएर बालीनाली वा धनजनको हानि नोक्सानी पुर्याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सक्ने,
– जङ्गली बँदेललाई पक्रिएमा सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा त्यस्ता कार्यालयको मातहतको नजिकको कार्यालयमा बुझाउनु पर्ने र यसको सूचना सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा समेत दिनुपर्ने,
– जङ्गली बँदेललाई धपाउने, लखेट्ने वा पक्रने क्रममा त्यस्तो बँदेलको मृत्यु भएमा त्यस्तो बँदेललाई सम्बन्धित वडाका एक जना प्रतिनिधिसहित कम्तीमा पाँच जना स्थानीय व्यक्तिको रोहवरमा मुचुल्का खडा गरी गाड्न वा तौलको आधारमा पञ्चकिर्ती मूल्य तोकी उक्त रकम राजस्वमा दाखिला गरी सम्बन्धित स्थानीय तहको सम्बन्धित वडाभित्र उपयोग (व्यापारिक प्रयोजन बाहेक) गर्न सकिने र सोको जानकारी सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालय वा त्यस्ता कार्यालयको मातहतको नजिकको कार्यालय र स्थानीय तहको वडा कार्यालयमा दिनु पर्ने,
– जङ्गली बँदेल मारिएकोमा राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष कार्यालय संरक्षण क्षेत्र कार्यालय डिभिजन वन कार्यालयले सोको विवरण प्रत्येक महिना नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा सम्बन्धित प्रदेश सरकारको सम्बन्धित निर्देशनालयमा दिनु पर्ने,
– राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा जङ्गली बँदेललाई धपाउन, लखेट्न, पक्रन वा मार्न नपाइने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण