शाक्यले ८५ औँ पटक गरे रक्तदान
सुर्खेत । प्रवाशकुमार शाक्य पेसाले पत्रकार हुन् तर उनी पत्रकारभन्दा बढी रक्तदान गर्ने व्यक्तिका रूपमा कर्णालीमा परिचित छन् । शाक्यले अहिलेसम्म ८५ पटक रक्तदान गरिसकेका छन् । १०० पटक रक्तदान गर्ने उनको लक्ष्य छ । उनीसँग मिल्ने रगत आवश्यक परे उनलाई कुनै समय र व्यस्तताले रोक्दैन, बस स्वास्थ्यले साथ दिनुपर्छ ।
वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइलीका प्रवाश ०३४ सालमा नेपालगञ्जको घरबारी टोलमा जन्मिएका हुन् । उनले प्राथमिक तहको विद्यालय शिक्षा सुरु गर्ने बेलामा उनको परिवार सुर्खेत उक्लिएको थियो । प्रवाश परिवारमा कान्छो छोरा हुन् । आफूलाई रक्तदानमा निरन्तर रहन बुवाले नै प्रेरित गरेको उनी बताउँछन् ।
प्रवाश सुरुमा सुई देख्ने बित्तिकै डराउँथे रे । ०५४ सालको एक दिन एउटा साइनबोर्डमा केही लेख्दै थिए । चिनेजानेका एक जना दाइले ‘तिम्रो रगत तान्नुपर्ने भयो, आऊ’ भनेर बोलाएछन् । प्रवाश निकै डराए । उनी त्यहाँबाट भागे । तैपनि उनलाई अर्का साथीले जबर्जस्ती जिल्ला अस्पतालमा पु¥याए ।
‘कोही बिरामी भएर आफूलाई साथीले लगेको होला भन्ने लागेको थियो,’ उनी भन्छन्, ‘तर साथीले रक्तसञ्चार केन्द्रमा लग्यो । रक्तसञ्चार केन्द्रमा पु¥याएपछि म आपतमा परेँ । मलाई त्यतिबेलासम्म रक्तदान गरे भने दुब्लाएर मरिन्छ भन्ने लाग्थ्यो ।’
प्रवाशले रक्तदान गरेको कुरा सुरुमा आफ्नो बुवालाई गएर सुनाए । त्यो सुनिसकेपछि बुवाको अनुहारमा छाएको खुसी देखेर प्रवाश नै छक्क परे । उनले केही बोल्न नपाउँदै उनका बुवाले भनेछन्, ‘जिन्दगीमा पहिलोपटक पुण्यको काम गरिस् ।’
उनलाई बुवाले रक्तादन गर्न नछोड्न पनि सुझाए । त्यसपछि उनले रक्तदानका विषयमा लेखिएका सामग्री खोजीखोजी पढ्न थाले । यसैका विषयमा व्यक्ति संस्थासँग उनी बुझ्न थाले । रक्तदान र दान गरिएको रगतको बारेमा धेरै कुरा बुझे ।
प्रवाशले भने, ‘रगत यस्तो चिज रहेछ, न अस्पतालमा किन्न पाइन्छ, न कतै । त्यति बुझेपछि मैंले रक्तदानका अभियानमा सरिक हुँदै गएँ ।’ कोभिडको बेला लकडाउन हुँदा पनि उनले बिरामीका लागि चाहिने रगत परिपूर्तिका लागि हिँडडुल गर्न छोडेनन् । पत्रकारितासँग पनि आबद्ध भएकाले आफूलाई त्यही बहानामा रगत जुटाउन कोभिडका बेलामा पनि हिँडडुल गर्न सहज भएको उनले बताए ।
प्रवाशको सक्रियतामा सुर्खेतमा स्वयंसेवी रक्तदाता समाज नामक संस्था खोलिएको छ । यसको उनी केन्द्रीय सदस्य पनि हुन् । यो संस्थामार्फत प्रदेशभर रक्तदानको क्षेत्रमा काम गरिरहेका छन् । कर्णालीमा दानमा दिएका रगत सरकारले बिरामीलाई निःशुल्क दिनुपर्छ भनेर उनले संस्थामार्फत नै पैरवी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
-
मेडिकल र डेन्टलका इन्टर्न चिकित्सकको भत्ता समान बनाउन चिकित्सा शिक्षा आयोगको निर्देशन
-
रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ
-
इँटाभट्टाको पानी जमेको खाडलमा डुबेर बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण