मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हन‌न्‌का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग

शुक्रबार, २९ चैत २०८१, २३ : ०९
शुक्रबार, २९ चैत २०८१

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले तीनकुने हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको जलाएर हत्या गरिएको लगायत प्रेस स्वतन्त्रता  हन‌न्‌का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगसमक्ष माग राखेको छ ।

महासङ्घका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरूलाई भेटेर यही चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा पत्रकार हत्या तथा आक्रमण, सञ्चार गृहमा भएको आगजनी र तोडफोडको स्वतन्त्र छानबिनका लागि आयोगलाई आग्रह गरेको हो । 

त्यस अवसरमा आयोगका अध्यक्ष मगरले आयोगले तीनकुने घटनाको छानबिन गरिरहेकाले पत्रकार मारिएको र प्रेस स्वतन्त्रता हननका घटनाको निष्पक्ष छानबिन हुनेमा ढुक्क रहन अनुरोध गरे । विस्तृत छानबिन प्रतिवेदन तयार पारी दोषीमाथि कारबाही सिफारिससहितको प्रतिवेदन कार्यान्वयनका लागि सरकार र सम्बद्ध निकायलाई पठाइने उनको भनाइ थियो ।

पत्रकार हत्यामा संलग्न दोषीमाथि कारबाही, मृत पत्रकारको परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चारगृह तथा सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतमा प्रेस स्वतन्त्रता हननका घटनका दोषीमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको तर सरकारले त्यसतर्फ ध्यान नदिएको महासङ्घले जनाएको छ । यसबारे सरकारको ध्यानाकर्षण गरिने मगरले बताए ।

सरकारले हत्याको निष्पक्ष छानबिनलगायत महासङ्घको माग सुनुवाइ नगरेझैँ आयोगसँग पनि गुनासो गर्ने अवस्था सिर्जना नगर्न महासचिव रामप्रसाद दाहालले सचेत गराए ।

दाहालका अनुसार, आज महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाहरूले आयोग समक्ष आफ्नो माग प्रस्तुत गरेका हुन् । केन्द्रीय समितिले आयोग पदाधिकारी, प्रदेश समितिले प्रदेश कार्यालय र शाखाहरूले इमेलमार्फत आयोगको ध्यानाकर्षण गराएका छन् ।

महासङ्घका महासचिव दाहालका अनुसार सरकारले माग सुनुवाइ नगरेकाले थप दबाब दिने अभियान अन्तर्गत आयोगको ध्यानाकर्षण गराइएको छ । महासङ्घले आइतबार देशभरबाट गृहमन्त्रीलाई महासङ्घको माग पूरा गर्न दबाब दिने सन्देश पठाउन आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप