बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
खेलकुद

छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना

क्यान भन्छ, ‘पहिले पनि सहयोग गरेका हौँ, भविष्यमा पनि गर्छौँ’
बिहीबार, ०४ वैशाख २०८२, १३ : ००
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । पछिल्लो केही समययता सामाजिक सञ्जालमा नेपाली क्रिकेटसँग जोडिएको एउटा विषय चर्को रूपमा उठिरहेको छ । यो करिब दुई वर्षअघि क्रिकेट प्रतियोगिता खेल्ने क्रममा गम्भीर घाइते भएका एक राष्ट्रिय खेलाडीसँग जोडिएको विषय हो ।

सन् २०२३ मा जनकपुरमा एक प्रतियोगिता खेल्ने क्रममा क्रिकेट खेलाडी सिद्धान्त लोहनी घाइते भएका थिए । उनको खुट्टामा गम्भीर चोट लागेको थियो । त्यसयता सिद्धान्तको दिनचर्या नेपाल र भारतका विभिन्न अस्पताल धाउनमै बितिरहेको छ । 

यसबिचमा ६ पटक उनको खुट्टाको शल्यक्रिया भइसकेको छ । केही दिनअघि भारतको गुडगावस्थित अस्पतालमा छैटौँ पटक उनको खुट्टाको शल्यक्रिया भयो । त्यसपछि नै सामाजिक सञ्जालमा उनको विषयमा चर्चा सुरु भएको हो । 

खेलका क्रममा घाइते भएर ६ पटकसम्म शल्यक्रिया गरिसक्दा पनि नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) ले उनको उपचारमा सहयोग नगरेको भन्दै अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । 

सुरुमा सिद्धान्तको परिवारका सदस्यले सामाजिक सञ्जालमा क्यानले उपचारमा सहयोग नगरेको असन्तुष्टि पोखेका थिए । उनीहरूले पटक–पटक क्यानका पदाधिकारीहरूलाई गुहार्दा पनि आश्वासन मात्र पाएको गुनासो गरेका थिए । 

वास्तवमै यो दुःखद पक्ष थियो । देशका लागि रगत–पसिना बगाउने एउटा राष्ट्रियस्तरको खेलाडी घाइते भएको लामो समय बितिसक्दा पनि क्यानले चासो नदेखाएको समाचार बाहिरिएपछि खेलप्रेमीहरुलाई समेत पिडा हुनु स्वाभाविक थियो । 

त्यसैले नै खेलप्रेमीहरुले यो विषयलाई सामाजिक सञ्जालमा भाइरल बनाएका थिए । अहिले आएर सिद्धान्त आफैले भारतको गुडगावस्थित अस्पतालको शय्याबाट एक भिडियो सार्वजनिक गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र क्यानले आफूलाई बेवास्ता गरेको आरोप लगाएका छन् । 

सिद्धान्तले उपचारमा सहयोगका लागि पटक–पटक यी आग्रह गर्दा पनि यी दुई खेल निकायले सधैँ आफूलाई बेवास्ता गर्दै आएको दुखेसो पोखेका छन् । दुई वर्षअघि घाइते भएपछि आफूले हालसम्म भोग्नु परेको चरम शारीरिक र मानसिक पिडालाई पनि भिडियोमार्फत सार्वजनिक गरेका छन् ।

  • अस्पतालको शय्याबाट के भन्छन् सिद्धान्त लोहनी ?

नमस्कार म राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी । सन् २०२३ मा जनकपुरमा सम्पन्न महेन्द्र नारायण निधि टी–२० क्रिकेट प्रतियोगिता खेल्ने क्रममा म घाइते भएको थिएँ । मेरो खुट्टामा गम्भीर चोट लागेको थियो । 

राष्ट्रिय प्रतियोगितामा घाइते हुँदा पनि मेरो उपचारमा न क्यानले सहयोग गर्‍यो न त राखेपले नै वास्ता गर्‍यो ।

लगत्तै मैले खुट्टाको शल्यक्रिया गुर्नपर्‍यो । शल्यक्रियापछि केही समय फिजियोथेरापी गराएर घर गएँ । तर, घर गएको केही समयपछि फेरि दुखाइ बढेर आयो । म फेरि अस्पताल पुगेँ । त्यसपछि अर्को शल्यक्रिया गर्नुपर्‍यो । मेरो खुट्टामा इन्फेक्सन भइसकेको रहेछ । 

दोस्रो पटक शल्यक्रिया गराएपछि पनि मेरो खुट्टामा बारम्बार इन्फेक्सन भइरह्यो । त्यसैले काठमाडौँको बी एन्ड बी हस्पिटलमा पाँचपटक शल्यक्रिया गर्नुपर्‍यो । ६ वर्षअघि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दा पनि मेरो खुट्टाको लिगामेन्ट च्यातिएको थियो । 

त्यतिबेला राष्ट्रिय प्रतियोगितामा घाइते हुँदा पनि मेरो उपचारमा न क्यानले सहयोग गर्‍यो न त राखेपले नै वास्ता गर्‍यो । उपचारका क्रममा खर्च भएको बिलहरू मैले राखेपमा पनि बुझाएको थिएँ । पटक–पटक निवेदन पनि दिएँ । तर, कुनै सुनुवाइ भएन । 

पछिल्लो पटक घाइते हुँदा पनि क्यानका सदस्यहरूलाई पटक–पटक म्यासेज गरेँ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द सरलाई पनि भनेँ । तर, उहाँहरूले केही जवाफ दिनु भएन । धेरैपटक भनेपछि क्यानबाट एक लाख रुपैयाँ सहयोग पाएको थिएँ । त्यो पैसा मेरो भाइले क्यानको अफिसमा गएर लिएर आयो । 

जबकि त्यतिबेला नै मेरो उपचारमा तीन–चार लाख रुपैयाँ खर्च भइसकेको थियो । त्यतिबेला क्यानका कुनै पनि सदस्यले मसँग सम्पर्क गर्नु भएन न त भेट्न र आश्वासन दिन नै आउनु भयो । इन्फेक्सन भएपछि पनि मैले क्यानका सदस्यहरूलाई म्यासेज गरेँ । 

पटक–पटकको शल्यक्रियाले मेरो उपचार खर्च पनि बढ्दै गएको थियो । इन्फेक्सन भएर शल्यक्रिया गरेपछि फिजियोथेरापी र नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौँमै कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता आइपर्‍यो । दिनको दुई हजार रुपैयाँ त फिजियोथेरापीमै जान्थ्यो । 

पटक–पटक सर्जरी गर्नुपर्दा हालसम्म मेरो २० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । म घरमा लडेको होइन, बाटोमा हिँड्दा लडेको पनि होइन । राष्ट्रिय प्रतियोगिता खेल्दा मैदानमा लडेर मलाई चोट लागेको हो । तर, पटक–पटक सम्पर्क गर्न खोज्दा पनि क्यानले बेवास्ता गर्दै आएको छ । 

म कोशी प्रदेशको टोलीको कप्तान नै थिएँ । गण्डकीविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएको थिएँ । सुरुमा क्यानका पदाधिकारीहरूले धेरै नै आश देखाउनु भयो । पटक–पटक अबको बोर्ड बैठकबाट निर्णय हुन्छ भनेर आश्वासन दिनुहुन्थ्यो । दुई वर्ष बितिसक्यो । अहिलेसम्म उहाँहरूको बोर्ड बैठक सकिएको छैन । 

५–६ महिनाअघि विराटनगरमा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको थियो । त्यतिबेलासम्म म निकै गलिसकेको थिएँ । खुट्टाको पिडा पनि उत्तिकै थियो । मानसिक रूपमा पनि थकित भइसकेको थिएँ । तर, त्यतिबेला पनि म लट्ठी टेक्दै क्यानका पदाधिकारीहरूलाई भेट्न रंगशालासम्म गएँ । 

यू–१९ प्रतियोगिताको उद्घाटनमा चतुर सर आउनु भएको थियो । मैले उहाँलाई आफ्नो चोट, उपचार खर्च र वर्तमान अवस्थाको बारेमा सबै बताएँ । उहाँसँग पदम सर पनि हुनुहुन्थ्यो । फेरि पनि उहाँले सहयोगको आश्वासनमात्र दिनुभयो । तर, काठमाडौँ फकिएपछि उहाँहरूले कुनै चासो देखाउनु भएन । 

डिप्रेसनमा जान्छु जस्तो भइसकेको थियो । भगवन फेरि खेल्न सक्ने नभए पनि मलाई हिँड्न सक्ने मात्र बनाइदिनु भनेर अहिले पनि प्रार्थना गर्छु ।

कोशी प्रदेश क्रिकेट संघले पनि मेरो अवस्थाको बारेमा पटक–पटक क्यानमा पत्र पठाएको छ । तर, कुनै पनि पत्रको जवाफ आएन । केही समयअघि क्यानका पदाधिकारी रोशन सिंह सरसँग पनि कुरा भएको थियो । 

उहाँले आफूले बारम्बार क्यानको बैठकमा मेरो बारेमा कुरा उठाए पनि अरू पदाधिकारीले कुनै चासो नदेखाएको जवाफ फर्काउनु भयो । उहाँले त्यसो भनेपछि झनै मन दुखेर आयो । हामी आफ्नो जिउ–ज्यान लगाएर देशका लागि खेल्छौँ । 

तर, घाइते भएपछि हामीलाई कसैले पनि हेर्दैन । हामीले कसरी खेल्ने, कसका लागि खेल्ने । अहिले मेरो मनमा यस्तै विचार आइरहन्छ । मलाई मिडियामा आउन मन थिएन । मेरो त मन पनि मरिसकेको छ । खुट्टामा हुने अत्यधिक पिडा सहन नसकेर एक्लै रुन्छु । 

डिप्रेसनमा जान्छु जस्तो भइसकेको थियो । भगवन फेरि खेल्न सक्ने नभए पनि मलाई हिँड्न सक्ने मात्र बनाइदिनु भनेर अहिले पनि प्रार्थना गर्छु । मैले भोगेको पिडा अरू खेलाडीले भोग्नु नपरोस् । हाम्रो देशमा खेलाडीको कुनै सुरक्षा छैन । 

खेलप्रेमी र समर्थकहरूसँग पनि मेरो अनुरोध छ । तपाईँहरूले पनि हामीजस्ता खेलाडीको बारेमा आवाज उठाइदिनु होला । भारतको गुडगावस्थित अस्पतालमा २२ मार्चमा छैटौँ पटक शल्यक्रिया भएपछि अहिले पनि म अस्पतालको शय्यामै छु । 

(सिद्धान्त लोहनीले भारतको गुडगावस्थित अस्पतालको शय्याबाट सार्वजनिक गरेको भिडियो सन्देशमा आधारित ।)

के भन्छ क्रिकेट संघ ?

क्यानका प्रवक्ता छुम्बी लामाले भने संघले सिद्धान्तको उपचारका लागि सहयोग गर्दै आएको बताए । भविष्यमा पनि थप सहयोग कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको र आगामी बोर्ड बैठकमा यसबारे निर्णय हुने लामाले जिकिर गरे ।

यस्तो छ लामाको भनाई जस्ताको तस्तै :

सिद्धान्त लोहनीको अवस्थाका बारेमा हामी जानकार छौँ । उहाँ सन् २०२३ महेन्द्र नारायण निधि टी–२० क्रिकेट प्रतियोगिता खेल्ने क्रममा म घाइते हुनुभएको हो । त्यो प्रतियोगिता मधेश प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो । 

खेलका क्रममा घाइते भएपछि सिद्धान्तको बी एन्ड बी अस्पतालमा उपचार गरिएको थियो । त्यतिबेला सिद्धान्को उपचारका लागि क्यानले नै अस्पताललाई पत्र पठाएको थियो । हामीले उहाँलाई आर्थिक सहयोग पनि गर्‍यौँ । 

क्यान भनेको व्यक्ति होइन, संस्था हो । त्यसैले हाम्रा पनि केही सीमा छन् । उहाँ जुन प्रतियोगिता खेल्दा घाइते हुनुभएको थियो त्यो प्रतियोगितामा खेलाडीको बीमा पनि गरिएको थिएन । कस्तो प्रतियोगिता खेल्ने भन्ने कुरा खेलाडीको इच्छामा भर पर्ने कुरा हो । 

बीमा भइदिएको भए त्यसैबाट उपचार हुन्थ्यो । फेरि सिद्धान्त क्यानको सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय सम्झौता) मा पनि आबद्ध हुनुहुन्थेन । त्यसैले हामीसँग पनि केही बाध्यता थियो । हामी अझै पनि उहाँलाई सहयोग गर्न चाहन्छौँ । 

सिद्धान्तको अवस्था र उपचारका बारेमा क्यानमा पनि कुरा हुने गरेको छ । पछिल्लो समय पनि हामी उहाँलाई कसरी सहयोग गर्ने भनेर छलफल गरिरहेका छौँ । सम्भवतः क्यानको आगामी बोर्ड बैठकमा यस विषयमा छलफल हुनेछ । 

(क्यानका प्रवक्ता छुम्बी लामासँग रातोपाटीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप