शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलकुद

छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना

क्यान भन्छ, ‘पहिले पनि सहयोग गरेका हौँ, भविष्यमा पनि गर्छौँ’
बिहीबार, ०४ वैशाख २०८२, १३ : ००
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । पछिल्लो केही समययता सामाजिक सञ्जालमा नेपाली क्रिकेटसँग जोडिएको एउटा विषय चर्को रूपमा उठिरहेको छ । यो करिब दुई वर्षअघि क्रिकेट प्रतियोगिता खेल्ने क्रममा गम्भीर घाइते भएका एक राष्ट्रिय खेलाडीसँग जोडिएको विषय हो ।

सन् २०२३ मा जनकपुरमा एक प्रतियोगिता खेल्ने क्रममा क्रिकेट खेलाडी सिद्धान्त लोहनी घाइते भएका थिए । उनको खुट्टामा गम्भीर चोट लागेको थियो । त्यसयता सिद्धान्तको दिनचर्या नेपाल र भारतका विभिन्न अस्पताल धाउनमै बितिरहेको छ । 

यसबिचमा ६ पटक उनको खुट्टाको शल्यक्रिया भइसकेको छ । केही दिनअघि भारतको गुडगावस्थित अस्पतालमा छैटौँ पटक उनको खुट्टाको शल्यक्रिया भयो । त्यसपछि नै सामाजिक सञ्जालमा उनको विषयमा चर्चा सुरु भएको हो । 

खेलका क्रममा घाइते भएर ६ पटकसम्म शल्यक्रिया गरिसक्दा पनि नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) ले उनको उपचारमा सहयोग नगरेको भन्दै अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । 

सुरुमा सिद्धान्तको परिवारका सदस्यले सामाजिक सञ्जालमा क्यानले उपचारमा सहयोग नगरेको असन्तुष्टि पोखेका थिए । उनीहरूले पटक–पटक क्यानका पदाधिकारीहरूलाई गुहार्दा पनि आश्वासन मात्र पाएको गुनासो गरेका थिए । 

वास्तवमै यो दुःखद पक्ष थियो । देशका लागि रगत–पसिना बगाउने एउटा राष्ट्रियस्तरको खेलाडी घाइते भएको लामो समय बितिसक्दा पनि क्यानले चासो नदेखाएको समाचार बाहिरिएपछि खेलप्रेमीहरुलाई समेत पिडा हुनु स्वाभाविक थियो । 

त्यसैले नै खेलप्रेमीहरुले यो विषयलाई सामाजिक सञ्जालमा भाइरल बनाएका थिए । अहिले आएर सिद्धान्त आफैले भारतको गुडगावस्थित अस्पतालको शय्याबाट एक भिडियो सार्वजनिक गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र क्यानले आफूलाई बेवास्ता गरेको आरोप लगाएका छन् । 

सिद्धान्तले उपचारमा सहयोगका लागि पटक–पटक यी आग्रह गर्दा पनि यी दुई खेल निकायले सधैँ आफूलाई बेवास्ता गर्दै आएको दुखेसो पोखेका छन् । दुई वर्षअघि घाइते भएपछि आफूले हालसम्म भोग्नु परेको चरम शारीरिक र मानसिक पिडालाई पनि भिडियोमार्फत सार्वजनिक गरेका छन् ।

  • अस्पतालको शय्याबाट के भन्छन् सिद्धान्त लोहनी ?

नमस्कार म राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी । सन् २०२३ मा जनकपुरमा सम्पन्न महेन्द्र नारायण निधि टी–२० क्रिकेट प्रतियोगिता खेल्ने क्रममा म घाइते भएको थिएँ । मेरो खुट्टामा गम्भीर चोट लागेको थियो । 

राष्ट्रिय प्रतियोगितामा घाइते हुँदा पनि मेरो उपचारमा न क्यानले सहयोग गर्‍यो न त राखेपले नै वास्ता गर्‍यो ।

लगत्तै मैले खुट्टाको शल्यक्रिया गुर्नपर्‍यो । शल्यक्रियापछि केही समय फिजियोथेरापी गराएर घर गएँ । तर, घर गएको केही समयपछि फेरि दुखाइ बढेर आयो । म फेरि अस्पताल पुगेँ । त्यसपछि अर्को शल्यक्रिया गर्नुपर्‍यो । मेरो खुट्टामा इन्फेक्सन भइसकेको रहेछ । 

दोस्रो पटक शल्यक्रिया गराएपछि पनि मेरो खुट्टामा बारम्बार इन्फेक्सन भइरह्यो । त्यसैले काठमाडौँको बी एन्ड बी हस्पिटलमा पाँचपटक शल्यक्रिया गर्नुपर्‍यो । ६ वर्षअघि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दा पनि मेरो खुट्टाको लिगामेन्ट च्यातिएको थियो । 

त्यतिबेला राष्ट्रिय प्रतियोगितामा घाइते हुँदा पनि मेरो उपचारमा न क्यानले सहयोग गर्‍यो न त राखेपले नै वास्ता गर्‍यो । उपचारका क्रममा खर्च भएको बिलहरू मैले राखेपमा पनि बुझाएको थिएँ । पटक–पटक निवेदन पनि दिएँ । तर, कुनै सुनुवाइ भएन । 

पछिल्लो पटक घाइते हुँदा पनि क्यानका सदस्यहरूलाई पटक–पटक म्यासेज गरेँ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द सरलाई पनि भनेँ । तर, उहाँहरूले केही जवाफ दिनु भएन । धेरैपटक भनेपछि क्यानबाट एक लाख रुपैयाँ सहयोग पाएको थिएँ । त्यो पैसा मेरो भाइले क्यानको अफिसमा गएर लिएर आयो । 

जबकि त्यतिबेला नै मेरो उपचारमा तीन–चार लाख रुपैयाँ खर्च भइसकेको थियो । त्यतिबेला क्यानका कुनै पनि सदस्यले मसँग सम्पर्क गर्नु भएन न त भेट्न र आश्वासन दिन नै आउनु भयो । इन्फेक्सन भएपछि पनि मैले क्यानका सदस्यहरूलाई म्यासेज गरेँ । 

पटक–पटकको शल्यक्रियाले मेरो उपचार खर्च पनि बढ्दै गएको थियो । इन्फेक्सन भएर शल्यक्रिया गरेपछि फिजियोथेरापी र नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौँमै कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता आइपर्‍यो । दिनको दुई हजार रुपैयाँ त फिजियोथेरापीमै जान्थ्यो । 

पटक–पटक सर्जरी गर्नुपर्दा हालसम्म मेरो २० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । म घरमा लडेको होइन, बाटोमा हिँड्दा लडेको पनि होइन । राष्ट्रिय प्रतियोगिता खेल्दा मैदानमा लडेर मलाई चोट लागेको हो । तर, पटक–पटक सम्पर्क गर्न खोज्दा पनि क्यानले बेवास्ता गर्दै आएको छ । 

म कोशी प्रदेशको टोलीको कप्तान नै थिएँ । गण्डकीविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएको थिएँ । सुरुमा क्यानका पदाधिकारीहरूले धेरै नै आश देखाउनु भयो । पटक–पटक अबको बोर्ड बैठकबाट निर्णय हुन्छ भनेर आश्वासन दिनुहुन्थ्यो । दुई वर्ष बितिसक्यो । अहिलेसम्म उहाँहरूको बोर्ड बैठक सकिएको छैन । 

५–६ महिनाअघि विराटनगरमा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको थियो । त्यतिबेलासम्म म निकै गलिसकेको थिएँ । खुट्टाको पिडा पनि उत्तिकै थियो । मानसिक रूपमा पनि थकित भइसकेको थिएँ । तर, त्यतिबेला पनि म लट्ठी टेक्दै क्यानका पदाधिकारीहरूलाई भेट्न रंगशालासम्म गएँ । 

यू–१९ प्रतियोगिताको उद्घाटनमा चतुर सर आउनु भएको थियो । मैले उहाँलाई आफ्नो चोट, उपचार खर्च र वर्तमान अवस्थाको बारेमा सबै बताएँ । उहाँसँग पदम सर पनि हुनुहुन्थ्यो । फेरि पनि उहाँले सहयोगको आश्वासनमात्र दिनुभयो । तर, काठमाडौँ फकिएपछि उहाँहरूले कुनै चासो देखाउनु भएन । 

डिप्रेसनमा जान्छु जस्तो भइसकेको थियो । भगवन फेरि खेल्न सक्ने नभए पनि मलाई हिँड्न सक्ने मात्र बनाइदिनु भनेर अहिले पनि प्रार्थना गर्छु ।

कोशी प्रदेश क्रिकेट संघले पनि मेरो अवस्थाको बारेमा पटक–पटक क्यानमा पत्र पठाएको छ । तर, कुनै पनि पत्रको जवाफ आएन । केही समयअघि क्यानका पदाधिकारी रोशन सिंह सरसँग पनि कुरा भएको थियो । 

उहाँले आफूले बारम्बार क्यानको बैठकमा मेरो बारेमा कुरा उठाए पनि अरू पदाधिकारीले कुनै चासो नदेखाएको जवाफ फर्काउनु भयो । उहाँले त्यसो भनेपछि झनै मन दुखेर आयो । हामी आफ्नो जिउ–ज्यान लगाएर देशका लागि खेल्छौँ । 

तर, घाइते भएपछि हामीलाई कसैले पनि हेर्दैन । हामीले कसरी खेल्ने, कसका लागि खेल्ने । अहिले मेरो मनमा यस्तै विचार आइरहन्छ । मलाई मिडियामा आउन मन थिएन । मेरो त मन पनि मरिसकेको छ । खुट्टामा हुने अत्यधिक पिडा सहन नसकेर एक्लै रुन्छु । 

डिप्रेसनमा जान्छु जस्तो भइसकेको थियो । भगवन फेरि खेल्न सक्ने नभए पनि मलाई हिँड्न सक्ने मात्र बनाइदिनु भनेर अहिले पनि प्रार्थना गर्छु । मैले भोगेको पिडा अरू खेलाडीले भोग्नु नपरोस् । हाम्रो देशमा खेलाडीको कुनै सुरक्षा छैन । 

खेलप्रेमी र समर्थकहरूसँग पनि मेरो अनुरोध छ । तपाईँहरूले पनि हामीजस्ता खेलाडीको बारेमा आवाज उठाइदिनु होला । भारतको गुडगावस्थित अस्पतालमा २२ मार्चमा छैटौँ पटक शल्यक्रिया भएपछि अहिले पनि म अस्पतालको शय्यामै छु । 

(सिद्धान्त लोहनीले भारतको गुडगावस्थित अस्पतालको शय्याबाट सार्वजनिक गरेको भिडियो सन्देशमा आधारित ।)

के भन्छ क्रिकेट संघ ?

क्यानका प्रवक्ता छुम्बी लामाले भने संघले सिद्धान्तको उपचारका लागि सहयोग गर्दै आएको बताए । भविष्यमा पनि थप सहयोग कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको र आगामी बोर्ड बैठकमा यसबारे निर्णय हुने लामाले जिकिर गरे ।

यस्तो छ लामाको भनाई जस्ताको तस्तै :

सिद्धान्त लोहनीको अवस्थाका बारेमा हामी जानकार छौँ । उहाँ सन् २०२३ महेन्द्र नारायण निधि टी–२० क्रिकेट प्रतियोगिता खेल्ने क्रममा म घाइते हुनुभएको हो । त्यो प्रतियोगिता मधेश प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो । 

खेलका क्रममा घाइते भएपछि सिद्धान्तको बी एन्ड बी अस्पतालमा उपचार गरिएको थियो । त्यतिबेला सिद्धान्को उपचारका लागि क्यानले नै अस्पताललाई पत्र पठाएको थियो । हामीले उहाँलाई आर्थिक सहयोग पनि गर्‍यौँ । 

क्यान भनेको व्यक्ति होइन, संस्था हो । त्यसैले हाम्रा पनि केही सीमा छन् । उहाँ जुन प्रतियोगिता खेल्दा घाइते हुनुभएको थियो त्यो प्रतियोगितामा खेलाडीको बीमा पनि गरिएको थिएन । कस्तो प्रतियोगिता खेल्ने भन्ने कुरा खेलाडीको इच्छामा भर पर्ने कुरा हो । 

बीमा भइदिएको भए त्यसैबाट उपचार हुन्थ्यो । फेरि सिद्धान्त क्यानको सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय सम्झौता) मा पनि आबद्ध हुनुहुन्थेन । त्यसैले हामीसँग पनि केही बाध्यता थियो । हामी अझै पनि उहाँलाई सहयोग गर्न चाहन्छौँ । 

सिद्धान्तको अवस्था र उपचारका बारेमा क्यानमा पनि कुरा हुने गरेको छ । पछिल्लो समय पनि हामी उहाँलाई कसरी सहयोग गर्ने भनेर छलफल गरिरहेका छौँ । सम्भवतः क्यानको आगामी बोर्ड बैठकमा यस विषयमा छलफल हुनेछ । 

(क्यानका प्रवक्ता छुम्बी लामासँग रातोपाटीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप