सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

विराटले बनाएको कीर्तिमान चार घण्टापछि नै रोहितले तोडे

सोमबार, ०८ वैशाख २०८२, १० : ४९
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुईवटा खेल खेलिएको थियो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किङ्सलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई नौ विकेटले पराजित गरेको थियो । 

यी दुवै खेलमा आ–आफ्नो टोलीलाई जित दिलाउन भारतका दुई प्रभावशाली ब्याट्सम्यान विराट कोहली र रोहित शर्माले महत्त्वपूर्ण योगदान गरेका थिए । बेंगलुरुलाई विजयी बनाउन पूर्वकप्तान विराटले अविजित ७३ रनको योगदान गरेका थिए ।

यसक्रममा विराटले केवल ५४ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए । अर्कोतिर, मुम्बईलाई जित दिलाउन पूर्वकप्तान रोहित शर्माले अविजित ७६ रनको योगदान गरेका थिए । उनले केवल ४५ बलमा ६ छक्का र चार चौका प्रहार गरेका थिए । 

रमाइलो पक्ष के हो भने, आइतबारको खेलमा विराट कोहलीले एउटा कीर्तिमान बनाएका थिए । तर, कोहलीले बनाएको त्यो कीर्तिमान लामो समय उनको नाममा रहन सकेन । विराटले बनाएको उक्त कीर्तिमान चार घण्टा पनि बित्न नपाउँदै रोहित शर्माले तोडेका थिए । 

पहिलो खेलमा बेंगलुरुलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत विराटले म्यान अफ दि म्याचको पुरस्कार पाएका थिए । आईपीएलको इतिहासमा विराटले पाएको त्यो १९औँ म्यान अफ दि म्याच पुरस्कार थियो ।

त्यसपछि विराट आईपीएलको इतिहासमा सबैभन्दा बढी म्यान अफ दि म्याचको पुरस्कार पाउने भारतीय खेलाडीको सूचिमा रोहित शर्मासँगै संयुक्त रूपमा पहिलो स्थानमा उक्लिएका थिए । तर, त्यसको चार घण्टापछि नै रोहितले पुनः विराटलाई पछि पारेका थिए । 

चेन्नईविरुद्धको खेलमा मुम्बईलाई जित दिलाएबापत रोहितले पनि म्यान अफ दि म्याचको पुरस्कार पाएका थिए । आईपीएलको इतिहासमा रोहितले पाएको यो २०औँ म्यान अफ दि म्याच पुरस्कार हो । त्यसपछि रोहित विराटलाई पछि पार्दै फेरि यो सूचिमा पहिलो स्थानमा उक्लिए । 

आईपीएलको इतिहासमा सबैभन्दा बढी म्यान अफ दि म्याचको पुरस्कार पाउने खेलाडी भने एबी डेभिलियर्स हुन् । उनले हालसम्म २५ पटक प्लेयर अफ दि म्याचको पुरस्कार पाएका छन् । यो सूचिमा दोस्रो स्थानमा क्रिस गेल छन् । उनले २२ पटक प्लेयर अफ दि म्याच अवार्ड हात पारेका छन् । 

यसैगरी, तेस्रो स्थानमा रहेका रोहित शर्माले २० पटक र चौथो स्थानमा रहेका विराट कोहलीले १९ पटक प्लेयर अफ दि म्याच अवार्ड पाएका छन् । पाँचौँ स्थानमा रहेका डेभिड वार्नर १८ पटक र छैटौँ स्थानमा रहेका महेन्द्रसिंह धोनी पनि १८ पटक प्लेयर अफ दि म्याच घोषित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप