‘एन्फाको अन्न्यायपूर्ण निर्णयले खेलाडी विक्षिप्त छन्, चुपचाप सहेर बस्ने ?’

काठमाडौँ । हाल ‘बी’ डिभिजन लिग खेलिरहेको सरस्वती युवा क्लबले आफू र आफ्ना खेलाडीमाथि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्न्याय गरेको आरोप लगाएको छ । सरस्वती क्लबले एन्फाको निर्णयबाट आफ्ना खेलाडी धिरेन्द्रबहादुर शाहको खेलजीवन नै संकटमा परेको आरोप पनि लगाएको छ ।
एन्फाले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब सरस्वती युवाको तीन अंक घटाउने र धिरेन्द्रलाई निलम्बन गर्ने निर्णय गरेको थियो । सरस्वती युवा क्लबले रिलिज पत्रबिना नै धिरेन्द्रलाई नयाँ बस्ती युथ क्लबविरुद्ध मैदान उतारेको भन्दै सरस्वतीको तीन अंक खोस्ने निर्णय एन्फाले गरेको हो ।
धिरेन्द्रकै निर्णायक गोलमा सरस्वती युवा क्लबले नयाँ बस्तीविरुद्धको खेल १–० ले जितेको थियो । उक्त खेलपछि सरस्वती युवा क्लब र उक्त क्लबका खेलाडी धिरेन्द्रविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा छानबिन गर्दा सरस्वती क्लब र धिरेन्द्र दोषी देखिएको एन्फाले जनाएको थियो ।
सोही विषयमा सरस्वती युवा क्लबले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एन्फाको उक्त निर्णय अन्यायपूर्ण रहेको दाबी गरेको हो । आफूहरुले एन्फाले तोकेको सम्पूर्ण प्रक्रिया पुरा गरेर नै धिरेन्द्रलाई २०८१ सालको ‘बी’ डिभिजन लिग खेलाएको दाबी पनि सरस्वती क्लबले गरेको छ ।
‘एन्फाले तोकेको सबै प्रक्रिया पुरा गरी सरस्वती क्लबबाट खेलिरहेका खेलाडी धिरेन्द्रको टुसाल क्लबसँगको २०७९ सालको सम्झौतालाई आधार बनाएर नयाँबस्ती क्लबले हालेको उजुरीमा सत्यतथ्य प्रमाणलाई पाखा लगाएर अन्न्यायपूर्ण निर्णय गर्दा एउटा होनहार खेलाडीको खेल्न पाउने अधिकार हनन् भएको छ भने क्लबलाई पनि अपुरणीय क्षति पुगेको छ,’ सरस्वतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
धिरेन्द्रको कुनै गल्ती नभए पनि एन्फाले सजायको भागिदार बनाउँदै निलम्बन गरेपछि उनी मानसिक रुपमा विक्षिप्त हुन पुगेको पनि बताएको छ । टुसाल युवा क्लबसँग धिरेन्द्रको सम्झौता २०७९ सालको ‘बी’ डिभिजन लिगका लागि सोही वर्षको चैत १२ गते भएको र त्यो सम्झौता अवधि बढीमा २०८० सालसम्म मात्र कायम रहेको दाबी सरस्वती क्लबले गरेको छ ।
यसैगरी, २०७९ सालमा धिरेन्द्र र टुसाल युवा क्लबबिच भएको सम्झौता अनुसार धिरेन्द्रले पहिलो किस्तावापत पाउनु पर्ने २० प्रतिशत रकम हालसम्म पनि नपाएकाले उक्त सम्झौता स्वतः निष्कृय हुने कानुनी व्यवस्था रहेको दाबी पनि सरस्वती युवा क्लबले गरेको छ । यस्तो स्थितिमा पनि एन्फाले आफू र आफ्ना खेलाडीलाई दोषी देख्नु दूर्भाग्य भएको सरस्वती युवा क्लबले जनाएको छ ।
‘एन्फाले २०८० साल चैत १४ गते बी डिभिजन क्लबहरुमा करारमा रहेका कोही खेलाडीहरु छन् भने नामावली एवं करारको कागजात २०८० साल चैत १८ गतेभित्र उपलब्ध गराइदिन भनि पत्राचार गरेको थियो । तर, धिरेन्द्रको कुनै पनि क्लबसँग सम्झौता अवधि बाँकी छ भनेर कुनै क्लबले एन्फालाई पत्रकार गरेनन्,’ सरस्वती युवा क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आफ्नो क्लबले खेलाडी दर्ताको सबै प्रक्रिया पुरा गरेको, सबै कागजात रुजु गरेको र एन्फाले स्वीकृत गरेपछि मात्र खेलाडीलाई मैदानमा उतारेको दाबी पनि सरस्वती युवा क्लबका अध्यक्ष उत्तमराज भण्डारीद्वारा जारी विज्ञप्तिमा गरिएको छ ।
‘जुन क्लबबाट एक पैसा पाएको छैन उसले आफ्नो खेलाडी हो भनेर दाबी गर्छ । जुन क्लबबाट पारिश्रमिक पाएर दर्ताको सबै प्रकृया पुरा गरेर खेल्दैछ एन्फा त्यो क्लबको खेलाडी होइन भनेर कारबाही गर्दैछ । अब न्याय माग्न हामी जाने कि नजाने ? कि चुपचाप सहेर बस्ने ?’ सरस्वती युवा क्लबद्वारा जारी विज्ञप्तिमा प्रश्न गरिएको छ ।
धिरेन्द्रले टुसाल युवा क्लबसँगको आफ्नो सम्झौता २०८० मै समाप्त भइसकेको र निष्कृय भइसकेको सम्झौतामा टेकी एन्फाले लिगका बाँकी खेलमा गरेको निलम्बन फकुवाको मागसहित उच्च अदालत पाटनमा रिट दर्ता पनि गरेका छन् ।