बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

बिहीबार, २५ असार २०८३, १८ : ०२
बिहीबार, २५ असार २०८३

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले आज उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा उनीहरूबिच नेपाल– फ्रान्स सम्बन्धका विविध आयामबारेमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको पारस्परिक सम्मान, सहयोग र मैत्रीमा आधारित सम्बन्ध अझ उन्नत भएको बताएका थिए ।

उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यहरू ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ ले नेपालको राजनीतिक आन्दोलनलाई पनि प्रेरित गर्दै आएको उल्लेख गरेका थिए ।

फ्रान्सले युरोपेली सङ्घ (इयु) मार्फत नेपाललाई प्रदान गर्दै आएको सहयोगका लागि उपराष्ट्रपति यादवले धन्यवाद ज्ञापन गर्दै दुई देशबिचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

साथै, उपराष्ट्रपति यादवले फ्रान्सको आसन्न राष्ट्रिय दिवसका अवसरमा राजदूत कोर्टेभलमार्फत फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो र फ्रान्सेली जनताको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

राजदूत भर्जिनी कोर्टेभलले आफ्नो कार्यकालमा फ्रान्स र नेपालबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास भएको बताएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप