कविता : फर्किनुस् शिक्षकहरू, गोडाहरू कति दुखाउनुहुन्छ तातो कालोपत्रे पेटीमा ?

हे गुरुदेव !
निदाएकोलाई ब्युँझाउन सकिन्छ,
कुम्भकर्णलाई नै ब्युँझाउन सकिएला,
तर किमार्थ सकिँदैन
निदाएको बहाना गर्नेलाई
ब्युँझाउन ।
लाटोकोसेरोले बरु देख्न सक्ला,
पत्थरले पनि कान सुन्न सक्ला,
तर
अहङ्कारको कालो पट्टी बाँधेका,
अन्धाहरूले
आफ्नै छेउमा उर्लिरहेको
विशाल जुलुस देख्न सक्दैनन् !
शान्त शालीन र सृजनशील
नाराहरू,
किन्तु उनीहरू सुन्नै सक्दैनन्!
उनीहरू .. चोर देश छोडको नारा बुझ्छन् ,
ढुङ्गा मुढा र तोडफोडको भाषा मात्र बुझ्छन्
किनकि उनीहरू स्वयं अभ्यस्त छन् त्यसमै।
बेतुके बोलीका छेडखानीले
अरूका दिल तोड्न सक्छन्,
रातारात सरकारी जग्गा चोर्न सक्छन्,
कालो धन र धन्दाको सुनले
निमेषमै आफ्नो भकारी भर्न सक्छन्
माफिया र तस्करसँग गहिरो नाता जोड्न सक्छन्।
चकको धुलो र अनवरत प्रवचनले
सुकेका रुद्र घण्टीहरू
कति सुकाउनुहुन्छ व्यर्थ सडकमा?
कक्षामा उभिँदा उभिँदा थाकेका गोडाहरू,
कति दुखाउनुहुन्छ तातो कालोपत्रे पेटीमा?
खेर नफाल्नुस् जादुका टुनाहरू,
कला संस्कृति झल्काउने नृत्य अनि गानाहरू
दिँदैनन् सजिलै अधिकार सायद
विवेकहीन र मस्तिष्कविहीन टाउकाहरू !
के पिर भो स्याललाई अण्डा हराए पनि?
के डर हुन्छ हुँडारलाई मृग कराए पनि?
उनको काम लुछ्ने हो,चिथोर्ने हो
र आफूदेखि आफन्तसम्मको पेट भर्ने हो!
पेट भरेकै छन्,मनलागी गरेकै छन्
र त मस्तसँग निदाइरहेछन्
अघाएको अजिङ्गर जस्तै!
चिताबाट लास ब्युँझिन सक्ला,
चिहानबाट मुर्दा जाग्न सक्ला,
नदीमा आगो लाग्न सक्ला,
उन्यू टुसाउन सक्ला,ढुङ्गो फुल्न सक्ला
परन्तु ब्युँझिन कठिन छ,
नाटक घरका सुताहाहरू
जाग्न असम्भव छ
जिउँदा लासहरू!
त्यसैले
कानमा तेल हालेर बस्नेलाई सुनाउन खोज्नु,
खुट्टा उचालेर अपाङ्गताको अभिनय गर्नेलाई,
काँध हालेर हिँडाउन खोज्नु,
आँखामा पट्टी बाँधेर आँखा छैन भन्नेलाई देखाउन खोज्नु,
शिक्षाको जरै उखेल्न खोज्नेलाई
क्रान्तिकारी नयाँ ऐन लेखाउन खोज्नु,
बिरबलको पाकताउली जस्तै हुन सक्छ !
घर फर्किनुस् अब,शिक्षाको जल छर्किनुस्!
आकाशको फलजस्तै भयो ऐन,
झर्ने र पेट भर्ने विश्वासमा नपर्खिनुस्
शैक्षिक सत्रलाई जसरी पनि अघि बढाउनुहोस् !
काकाकुल जस्तै भइसके नानीहरु
आशाको एक थोपा अमृत,
तिनलाई पनि चखाउनुहोस्!
पिपिरा पलाउन थालेका छन् कान्लामा
हरियो सर्प घुस्न सक्ला आँखा बडो लगाउनुहोस्! !
हैन भने गुरुवर!
अब आफ्नै कान फटफटाउनुहोस्,
बाँधेको घोडा खटखटाउनुहोस्,
जस्तालाई तस्तै भने झैँ,
मूर्ख बादशाहहरूलाई घोडाबाट खसाल्न,
एक पटक घोडामै चढ्नुहोस्
अरूलाई ठड्याउने औँला
स्वयं सिधा हुनु जरुरी छ,
अड्को मात्रै थाप्ने खालका मुद्दा जति
लिस्टबाट हटाउनुहोस् !
सबैलाई मार्गदर्शन गर्ने गुरुहरू
स्वयंलाई मार्ग प्रस्ट गर्नुहोस्!
मन्त्रले मात्र शक्ति आउँदैन कलममा,
निब घोटेर धनुर्वाण तुल्याउनुहोस्!
कुम्भकर्णको भर नपर्नुहोस् !
अब कुम्भकर्णको भर नपर्नुहोस् !!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण