भारतको आसामलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा, आर्मीसँग उपाधि भिडन्त
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको फाइनलमा पुगेको छ ।
नेपाल पुलिस क्लब बिहीबार खेलिएको खेलमा भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको हो । पुलिस क्लबले अब शनिबार हुने फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग उपाधिका लागि भिडन्त गर्नेछ । आर्मी क्लब समूह ‘ए’ को विजेताका रूपमा फाइनलमा पुगेको हो । पुलिस क्लब भने समूह ‘बी’ को विजेता बन्दै फाइनलमा प्रवेश गरेको हो ।
समूह ‘बी’ मा रहेका तीन वटै टोलीको दुई–दुई अङ्क भयो । यो समूहको पहिलो खेलमा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई ३७ रनले हराएको थियो । दोस्रो खेलमा आसाम क्रिकेट क्लबले कोशी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो । तीन वटै टोलीको अङ्क बराबर भए पनि नेट रन रेटमा पुलिस क्लब अगाडि रह्यो ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न बिहीबारको खेलमा पहिले ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले ४२.२ ओभरमा अलआउट हुनुअघि एक सय ५४ रन बनाएको थियो । जवाफमा पुलिस क्लबले २६.१ ओभरमै चार विकेट गुमाएर एक सय ६० रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
पुलिस क्लबको जितमा ओपनर अमित श्रेष्ठले अविजित ७१ रनको योगदान गरे । उनले ७२ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका शंकर रानाले पनि अविजित ६३ रनको योगदान गरे ।
शंकरले केवल ६७ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काए । पुलिस क्लबका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आसाम क्रिकेट क्लबका बलर गोकुल शर्माले तीन विकेट लिए ।
त्यसअघि, पहिले ब्याटिङ गरेको आसाम क्रिकेट क्लबका लागि राज विश्वाले सर्वाधिक ३३ रन बनाएका थिए । उनले ३० बलमा दुई छक्का र तीन चौका प्रहार गरे । अरुण सोनारले पनि ३१ रन बनाए । पुलिस क्लबका बलर अरुण ऐरी र श्रवण यादवले तीन–तीन विकेट लिए ।
प्रतियोगिताको विजेता टोलीले चार लाख रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले चार हजार रुपैयाँ पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण