आवासीय चिकित्सक र सरकारबिच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ । आवासीय चिकित्सक र सरकारबिच तीनवटा विषयमा सहमति भएको छ । शनिवार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबिच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो ।
तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छोड्न सहमत भएका हुन् ।
सहमतिसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए । उनले भने, ‘नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय चिकित्सकहरूको आन्दोलन भएको थियो । त्यो बारेमा हामीले पटक पटक छलफल गर्यौँ । र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित केही विषयहरू थिए । त्यसको बारेमा हामीले दुई पक्षीय समझदारी गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता स्वास्थ्य मन्त्रालयले गरेको छ । त्यो प्रतिबद्धता गरिसकेपछि नेपाल चिकित्सक संघ यो आन्दोलन उहाँहरूको घोषित कार्यक्रम थियो, त्यसलाई उहाँहरू फिर्ता लिन तयार हुनुभएको छ । उहाँहरूसँग भएको सम्झौतालाई हामीले इमानदारितापूर्वक कार्यान्वयन गर्नेछौँ ।’
उनले थपे, ‘केही विषयहरू जुन चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो, त्यसलाई कार्यान्वयन छिटो नभएको, सहज ढंगबाट नभएको विषय उहाँहरूको पछिल्लो विषय थियो । त्यसलाई छिटो कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिष्ठानअन्तर्गतका कलेजहरू पनि क्रमशः कार्यान्वयन गर्न तयार भएको स्थिति छ । कतिपय कलेजमा फर्किएर काम सुरु भइसकेको छ । जहाँ आवासीय चिकित्सकहरू फर्किने स्थिति बनेको छैन, त्यहाँ त्यो वातावरण बनाइदिन सबै कलेजलाई अनुरोध गर्न चाहन्छौँ । आपसी समझदारीमा टुंगिने स्थिति बनेको छ । चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरू सबै कार्यान्वयन गर्ने गरी स्वास्थ्य मन्त्रालयले वातावरण बनाउनेछ ।’
आवासीय चिकित्सकहरूले निर्वाह भत्ता आठौँ तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरूको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएको बताए । अहिले आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौँ तह सरह भत्ता दिने प्रतिबद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरू काम गर्न फर्किसकेको उनको भनाई छ ।
स्वास्थ्यमन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग
-
करणको दोस्ताना–२ बाट निकालिए कार्तिक
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी
-
ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?