‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’

सप्तरीकी रीता साह महिला हक र अधिकारमा जुटिरहेको नाम हो । काठमाडौँमा बस्दै आएकी उनी आफै विभेदमा परेकी थिइन् । पछि काठमाडौँमै बसेर अध्ययन गरेकी उनले खासगरी मधेसी महिलामाथि हुने दमन, यौनहिंसा, उत्पीडनजस्ता अनुसन्धान गर्दै आएकी छन् ।
यसबारे उनका प्रशस्त लेखहरू पत्रपत्रिका तथा विभिन्न जर्नलहरूमा प्रकाशित छन् । मधेसमा दलित महिलामाथि भइरहेका अत्याचार नजिकबाट नियालिरहेकी छन् ।
मधेसी महिलामाथि किन दमन भइरहेको छ ? यस्तो हुनुमा समाज, राज्य कत्तिको जिम्मेवार छन् ? लगायत विषयमा उनै साहसँग हामीले कुरा गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
- दलित महिलाप्रति बलात्कार तथा यौनहिंसाका घटना बढिरहेको देखिएको छ नि, कि अहिले यस्ता घटना सार्वजनिक भएरचाहिँ यस्तो देखिएको हो ?
–दलित महिलामाथि पहिला पनि बलात्कार तथा यौनहिंसा हुन्थे । तर अहिलेजस्तो बाहिर आउँदैनथे । अहिले भने एकदमै क्रूर देखिएको छ । बलात्कारपछि हत्या व्यापक बढेको छ ।
रिंकु, आनन्दीदेवी, पूजालगायतका घटनाले समाजको क्रूरता बाहिर ल्याइदियो । उनीहरूमाथि सामूहिक बलात्कारका घटना भए । यस्ता घटना पहिला विरलै सुनिन्थे, तर अहिले आम (सबैतिर) जस्तो भएको छ ।
पीडितले न्यायसम्म पुग्न नदिँदै हत्या गर्छन्, आत्महत्या गर्न बाध्य बनाउँछन् वा विस्थापित नै गराउँछन् । हत्या, आत्महत्या वा विस्थापित किन गराइए भन्ने बुझ्नु एकदमै एकदमै महत्त्वपूर्ण छ । यी सबै उच्च जात, पुरुषवादी सोचका कारण भएको हो । गरिब दलित महिलामाथि यस्ता जघन्य अपराध भएका छन् । आर्थिकसँगै शैक्षिक तथा चेतनास्तर कम हुँदा उनीहरू राज्यसम्मको पहुँचमा पुग्न सक्दैनन् ।
यहाँसम्म कि उनीहरूलाई एउटा वडा सदस्यले समेत पत्याउँदैनन् । दलितमाथि जे गर्दा पनि हुने सोच समाजमा बढेको छ । मधेसमा कठोर पितृसत्ताले पुरुष नै सबैथोक हो, महिला केही पनि होइन भन्ने बनाएको छ ।
हाम्रो समाजमा दलित र गरिबलाई मानिसमै गिन्ती गरिएको छैन । दलित महिलामाथि बलात्कार हुँदा समाजका उच्च जाती भनाउँदाको पञ्चले पीडककै पक्षमा फैसला गरिदिन्छ, अलिकति रकम दिएर मिलाउने गर्छन् । नमिले पीडितलाई डर, त्रास देखाएर धम्क्याउने काम हुँदा पीडकको मनोबल झनै बढेको छ ।
- दलित महिलामाथि बलात्कार तथा यौनहिंसाका घटना बढ्नुको खास कारणचाहिँ के हो जस्तो लाग्छ तपाईंलाई ?
–यस्ता घटना वृद्धि पनि भएको हो, बाहिर पनि आएको हो । पहिला यति धेरै घटना बाहिर आउँदैन थिए, तर अहिले सञ्चारमाध्यम वा कुनै न कुनै रूपमा बाहिर आएका छन् । कतिपय घटना ढाकछोप पनि भएका छन् ।
जस्तो: लकडाउनको समयमा कपिलवस्तुको अंगिरा पासीलाई गैरदलित युवाले बलात्कार गरेका थिए । पछि समाजले दुवै जनाको बिहे गराइदियो तर परिवारले स्विकारेन । अर्को दिन झुण्डिएको अवस्थामा अंगिरा फेला परिन् । त्यो आत्महत्या थियो कि हत्या अहिलेसम्म थाहा छैन ।
हामीकहाँ नियम कानुनको कमी छैन । थुप्रै संरचनाहरू छन् । सबै स्थानीय तहमा न्यायिक समिति छन् । ती सबै समितिमा प्रायः महिला नै प्रमुख छन् । महिला सेल पनि छ । महिला आयोग छ । अन्य थुप्रै कानुनहरू छन् । तर त्यसको कार्यान्वयन पक्ष नै फितलो छ । रक्षक नै भक्षकजस्तो भएको छ । त्यही भएर यस्ता घटना कमी हुनुको साटो बढिरहेका छन् ।
अर्को कुरा, बलात्कारको घटना अनुसन्धान गर्दा प्रायःमा युवा संलग्न भएको पाइएको छ । कतिपय अवस्थामा नबालिग पनि छन् । र त्यसको मुख्य कारण इन्टरनेट पहुँचको दुरुपयोग हो । हातहातमा मोबाइल छ, त्यसमा हेर्ने चिजहरू गलत हुन्छन् र त्यहीअनुसार घटना भएका छन् ।
यसमा अभिभावक पनि सचेत हुनुपर्ने देखिएको छ । छोराछोरीलाई मोबाइल दिन्छन्, तर त्यसमा उनीहरूले के हेरिरहेका छन् भन्ने ख्याल गर्दैनन् ।
अर्को कुरा, दुर्व्यसनीमा फसेका युवाहरू नै बलात्कारजस्ता जघन्य अपराधमा लागेको देखिएको छ । त्यसले छोरीलाई मात्र होइन, छोरालाई पनि घरमा ख्याल गर्नुपर्छ ।
- इन्टरनेटले युवालाई बिगार्यो त भन्नुभयो, तर दुर्व्यसनीमा फसेका त्यस्ता युवाले दलित महिला वा बालिकालाई नै किन टार्गेट गर्छन् त ?
हिंसामा सत्ता, शक्तिको सम्बन्ध देखिने गरेको छ । पुरुषले आफूलाई शक्तिशाली ठान्ने र महिलालाई नियन्त्रणमा राख्ने प्रयास गरेका हुन्छन् । यहाँ त दलितले छोएको चल्दैन, तर त्यसको यौन चल्छ । दलित महिला आर्थिक, सामाजिक, धार्मिक र चेतनाका हिसाबले कमजोर हुन्छन् । त्यसको फाइदा पुरुषप्रधान समाजले उठाउँछ ।
कमजोरमाथि यौनहिंसा गर्नसके त्यसलाई दबाउन सजिलो हुन्छ भन्ने मानसिकता समाजमा छ । त्यसैले उनीहरूमाथि आफ्नो अधिकार ठान्छन् । गाउँघरमा पञ्चायती व्यवस्था अझै कायम छ । पञ्चहरूले त्यही उच्च जातलाई साथ दिएका हुन्छन्, पीडकलाई साथ दिएका हुन्छन् । पीडितलाई झन् पीडित बनाइरहेका हुन्छन् । त्यसले पनि यी घटनाहरूमा वृद्धि भइरहेको हो ।
- तपाईले दलित, गरिब, कमजोरमाथि बढी यौनहिंसा हुन्छ भन्नुभयो । तर कमजोर र दलित हिमाल, पहाडमा पनि छन् त । तराई–मधेसमा किन घटना बढी भएका त ?
मधेसी र पहाडी समुदायको सामाजिक संरचना फरक छ । पहाडमा पनि पितृसत्तात्मक सोच छ, तर मधेसको भन्दा खुकुलो छ । त्यहाँ अधिकांशले अन्तरजातीय विवाह गर्दा खासै रोकटोक हुँदैन । भागी विवाह पनि भइराखेका हुन्छन्, परिवारले खासै रोकटोक गरेका हुँदैनन् ।
मेरी छोरीले फलानोलाई मन पराइन् अनि गइन् भनी सजिलो तरिकाले भन्न सक्छन् । तर मधेसमा यो अवस्था छैन । गरिबभन्दा गरिब, धनीभन्दा धनीले अन्तरजातीय विवाह स्वीकार गरेको हुँदैन, प्रेम विवाह पनि स्विकारिँदैन । त्यसलाई ठुलो अपराधका रूपमा लिएका हुन्छन् । मधेसमा पितृसत्ताको कठोर अभ्यास हुन्छ । अहिले पनि छोरी बुहारीलाई घरपरिवार, समाज र जातको इज्जत ठान्छन् ।
एउटा यादवको छोरीलाई कुनै माण्डल वा अरू कुनै जातीका छोराले लिएर भाग्यो वा प्रेम गर्यो भने जातीयताको कुरा उठाएर हङ्गामा गर्छन् । त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्दैनन् । अनि हत्यासम्मको अवस्था सिर्जना हुन्छ ।
केही समयअघि रुपन्देहीमा भएको प्रेमको प्रसङ्ग लिएर दुई टोलबिच झडप नै भएको थियो । मधेसमा यस्ता घटना हुँदा गाउँमै मिलाउने वा दबाउने प्रयास अत्यधिक भइरहेका हुन्छन् । तर हिमाल, पहाडमा त्यस्तो देखिँदैन ।
- यस्ता घटनामा पर्याप्त प्रमाण र साक्षी भए पनि मुद्दा बढेको हुँदैन । यहाँसम्म कि पीडकको जाहेरी पनि प्रहरीले लिन मानिरहेको हुँदैन नि ?
पछिल्लो समय सिरहा, सप्तरी, रौतहटलगायत ठाउँमा भएका घटनाको अध्ययन गर्दा पीडितलाई प्रहरी र प्रशासनले साथ दिएको देखिँदैन । मिडियामा आएर केन्द्रसम्म दबाब पुगेपछि मात्र प्रहरीले जाहेरी लिन्छ । जाहेरी लिए पनि त्यसको ठोस कारबाही अगाडि बढाएको हुँदैन ।
पछि त्यो प्रहरीको सरुवा हुन्छ, सीडीओ, एसपीलाई केन्द्रमा झिकाइन्छ । यो निकै गम्भीर कुरा हो । यस्तो प्रायः दलितको घटनामा देखिन्छ । दलितलाई दबाउन, उसलाई न्यायबाट वञ्चित गर्न राज्य नै पीडकको पक्षमा लागेको हुन्छ । राज्यमाथि पीडक हाबी हुने र प्रहरी प्रशासनले यस्ता घटना गुपचुप पार्न खोजेका हुन्छन् ।
सिरहाको घटनामा उच्च ओहदामा बसेका प्रहरीले पीडकसँग ठुलो रकम खाएको कुरा पनि आइरहेका छन् । यस्तोमा दलितहरूले त पहुँच पुर्याउन सक्छन् न त पैसा ख्वाउन नै ।
पीडक गैरदलितलाई साथ दिने धेरै हुन्छन् । दलका नेतादेखि मन्त्री, सांसदले पनि उनीहरूलाई साथ दिएको पाइन्छ । तर दलितको पक्षमा उभिने कोही हुँदैनन् । न त दलितसँग सम्बन्धित संघ संस्थाहरू नै यसबारे बोल्छन् । त्यस्ता संघसंस्था केही समय होहल्ला गर्छन् अनि चुप लाग्छन् । अन्तिमसम्म साथ दिँदैनन् । अनि पछि पीडित दलितहरू आफै थाक्छन् र पछि हट्छन् । र पलायनसम्म हुन्छन् ।
देशमा संघीय लोकतन्त्रिक गणतन्त्र आइसकेको छ । थुप्रै परिवर्तन भए । तर समाज परिवर्तनमा काम भएन । कानुनको कमी छैन, तर हाम्रो सोचमा कमी देखिएको छ । दहेज (दाइजो) रोक्न कानुन छ, तर हरेक घरमा दाइजो लेनदेन भइरहेको छ । छुवाछुतविरुद्ध थुप्रै कानुन छन्, तर त्यही कानुन बनाउने व्यक्तिले भेदभाव गरिरहेको हुन्छ । त्यसैले सोचमा परिवर्तन ल्याउन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो