अशोक सिंह विष्टसहितका नेविसंघका ६ जना नेता निष्कासित
काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले ६ जना नेताहरूलाई निष्कासित गरेको छ । नेविसंघ केन्द्रीय सदस्यद्वय अशोक सिंह विष्ट र विजय शाह (अनुराग)सहित ६ जना नेताहरूलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो ।
नेविसंघको अनुशासन समिति संयोजक परोपकार अधिकारीले एक सूचना जारी गर्दै २ विष्ट र शाहसहित विद्यार्थी नेताहरू जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकायलाई निलम्बन गरेको जनाए ।
गत वैशाख १८ गते रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई लिएर अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । उनीहरूले त्यसको जवाफ दिएका थिए । आरआरमा अनेरास्ववियुका अध्यक्षका उम्मेदवार लोकेश खड्काको अध्यक्षतामा सर्वदलीय रूपमा स्ववियु घोषणा गरिएको थियो । जसमा नेविसंघको तर्फबाट स्ववियु सचिवमा शैलेन्द्र उपाध्याय चयन भएका थिए ।
उक्त समिति बनाउँदा केन्द्रीय प्रतिनिधि तथा उम्मेदवारहरूसँग कुनै छलफल नगरी फरक सङ्गठनसँग मिलेको आरोप नेविसंघले जनाएको छ । व्यक्तिगत स्वार्थका लागि नेविसंघका आधिकारिक उम्मेदवारलाई हटाएर अन्य व्यक्तिलाई स्ववियु सचिव र सदस्य पदमा चयन गराएको नेविसंघको ठहर छ ।
उक्त कार्य सङ्गठन विरोधी कार्य भन्दै नेपाल विद्यार्थी सङ्घको आचारसंहिता, २०५० को नियम ५ (ग) विपरीत कार्य गरे गराएको र सङ्घको मूल्यमान्यता प्रतिकूल हुने कार्यमा संलग्न भएकोले नेपाल विद्यार्थी सङ्घको विधान, २०२७ (संशोधन सहित) को धारा २४ (२) तथा आचारसंहिता, २०८१ को नियम ५ (क), (ग) र नियम ७ बमोजिम अनुशासनको कारबाही गरी आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको जनाएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण