सैन्य आक्रमण जारी रहँदा भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भन्दै आलोचना
काठमाडौँ । पछिल्लो समय भारत र पाकिस्तानबिचको राजनीतिक सम्बन्ध निकै तनावपूर्ण थियो । दुवै राष्ट्रले एक–अर्काविरुद्ध सैन्य आक्रमण सुरु गरेका थिए । यसको प्रत्यक्ष प्रभाव खेलकुद क्षेत्रमा पनि परेको थियो ।
चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित गरिएको छ । पाकिस्तानी सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगिता पनि पाकिस्तानबाट संयुक्त अरब इमिरेट्स (यूएई) मा सारिएको छ ।
भारतले पाकिस्तानसँग कुनै पनि खेलको प्रतियोगिता नखेल्ने बताउँदै आएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले त अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग आफ्नो देशको प्रतियोगिता नराख्न आग्रहसमेत गरेको छ ।
तर, यसबिचमा एउटा रमाइलो घटना भएको छ । भारत र पाकिस्तानबिच एक–अर्काविरुद्ध सैन्य आक्रमण जारी रहँदा यी दुई राष्ट्रका टोलीबिच एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको रहस्य सार्वजनिक भएको छ ।
यो विषयलाई लिएर अहिले भारतमा ब्यापक चर्चा सुरु भएको छ । खासमा दुबै राष्ट्रका सैनिकले एक–अर्काविरुद्ध आक्रमण जारी राख्दा भारत र पाकिस्तानका ह्याण्डबल टोलीबिच आपसमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका थिए ।
ओमानको मस्कटमा जारी १० औँ एसियाली बिच ह्याण्डबल प्रतियोगितामा यी दुवै राष्ट्रका टोलीबिच खेल भएको समाचारमा जनाइएको छ । मे ९ तारिखमा खेलिएको समूहगत चरणको उक्त खेलमा पाकिस्तानले भारतलाई २–० ले हराएको थियो ।
उक्त खेलमा भारतीय टोली हातमा कालो पट्टी बाँधेर ओर्लिएको थियो । तर, एसियाली ह्याण्डबल महासंघले भारतीय खेलाडीलाई कालो पट्टी खोलेरमात्र खेलमा सहभागी हुन दिर्नेशन दिएको थियो ।
सैन्य आक्रमणको बिचमा भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको समाचार बाहिरिएपछि अहिले भारतीय समर्थकहरु आक्रोशित बनेका छन् । भारतीय खेल अधिकारीहरुले पनि यस विषयमा आफ्नो ह्याण्डबल संघसँग प्रश्न गरेका छन् ।
तर, भारतीय ह्याण्डबल संघले भने यसमा आफूहरुको कुनै दोष नरहेको दाबी गरेको छ । संघका अनुसार, यो प्रतियोगिताको तालिका चार महिनाअघि नै सार्वजनिक गरिएको थियो । भारत र पाकिस्तान एउटै समूहमा परेका थिए त्यसपछि आफूहरुले पाकिस्तानसँग खेल्ने कि नखेल्ने भनेर सरकारको सुझाव मागेको दाबी संघले गरेको छ ।
‘हामीले सरकारलाई औपचारिक पत्र पठाउँदै पाकिस्तानसँगको खेलको बारेमा सुझाव मागेका थियौँ । तर, त्यसको कुनै जवाफ आएन । त्यसैले बाध्य भएर हामी खेलमा सहभागी भएका हौँ,’ संघका एक अधिकारीले भनेका छन् ।
उनका अनुसार, त्यो प्रतियोगिता नखेलेको भए भारतीय ह्याण्डबल संघ अन्तर्राष्ट्रिय प्रतिबन्धमा पर्ने सम्भावना थियो । ‘सरकारले नखेल्न सुझाव दिएको भए हामी खेल्ने थिएनौँ । किनभने हाम्रा लागि खेलभन्दा देशको प्रतिष्ठा ठुलो कुरा हो,’ ती अधिकारीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण