शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप : विजेतालाई ५० करोड र उपविजेतालाई ३० करोड नगद पुरस्कार

शुक्रबार, ०२ जेठ २०८२, १० : १८
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच इङ्गल्याण्डमा हुने।
  • दक्षिण अफ्रिका र अस्ट्रेलियाले फाइनलका लागि टीम घोषणा गरे, अंक तालिकामा दक्षिण अफ्रिका पहिलो र अस्ट्रेलिया दोस्रो स्थानमा रहे।
  • विजेताले ५० करोड र उपविजेताले ३० करोड नेपाली रुपैयाँ पुरस्कार पाउनेछन्, सबै टीमलाई नगद पुरस्कारको व्यवस्था।

काठमाडौँ । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच खेलिने छ । वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल आगामी जुन ११ देखि १५ तारिखसम्म इङ्गल्यान्डको लर्डसमा सुरु हुनेछ । 

फाइनलका लागि दक्षिण अफ्रिका र अस्ट्रेलिया दुवैले आफ्नो टोलीको घोषणा गरिसकेका छन् । अंक तालिकामा दक्षिण अफ्रिकाका पहिलो र अस्ट्रेलिया दोस्रो हुँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिकाले १२ मध्ये आठ खेलमा जित र तीन खेलमा हारको नतिजा निकाल्यो । एक खेल भने बराबरीमा सकिएको थियो । 

यसैगरी, अस्ट्रेलियाले १९ मध्ये १३ खेलमा जित र चार खेलमा हारको नतिजा निकाल्यो । अस्ट्रेलियाको दुई खेल भने बराबरीमा सकिएको थियो । प्रतिशतका आधारमा दक्षिण अफ्रिकाको अंक ६९.४४ र अस्ट्रेलियाको अंक ६७.५४ रह्यो । 

टेस्ट च्याम्पियनसिपको फाइनल जित्ने टोलीले करिब ५० करोड नेपाली रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । अघिल्लो संस्करणको तुलनामा दोब्बरले पुरस्कार राशि बढाइएको हो । उपविजेता टोलीले करिब ३० करोड नेपाली रुपैयाँ पुरस्कार हात पार्नेछ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विजेता र उपविजेताका अतिरिक्त प्रतियोगितामा सहभागी सबै टोलीलाई नगद पुरस्कार प्रदान गर्नेछ । टेस्ट च्याम्पियनसिप तालिकाको सबैभन्दा तल अर्थात, नवौँ स्थानमा पाकिस्तान रहेको थियो । 

पाकिस्तानी टोलीले पनि करिब ६ करोड ४० लाख नेपाली रुपैयाँ पुरस्कार पाउने बताइएको छ । प्रतियोगिताको अंक तालिकामा भारत तेस्रो भएको थियो । भारतले पनि करिब १९ करोड ७० लाख नेपाली रुपैयाँ पुरस्कार हात पार्नेछ । 

अन्य टोलीले पनि सोही अनुरूप पुरस्कार प्राप्त गर्नेछन् । टेस्ट च्याम्पियनसिपको अंक तालिकामा न्युजिल्यान्ड चौथो, इङ्गल्यान्ड पाँचौँ, श्रीलङ्का छैटौँ, बंगलादेश सातौँ र वेस्ट इन्डिज आठौँ भएका थिए । यी टोलीले पनि अंक तालिकामा आफ्नो स्थान अनुरूप नगद पुरस्कार प्राप्त गर्नेछन् । 

वर्ल्ड टेस्ट च्याम्पियनसिपका लागि घोषित दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), एडेन मारक्रम, लुङ्गी एनगिडी, टोनी डी जर्जी, डेभिड बेडिङ्घम, केशव महाराज, ट्रिस्टन स्टब्स, कार्बिन बाश, सेनुरन मुथुसामी, मार्को जानसन, कागिसो राबडा, काइल वेरेन, डेन पेटरसन, वियान मुल्डर र रायन रिकेल्टन रहेका छन् । 

यसैगरी, १५ सदस्यीय अस्ट्रेलियन टोलीमा प्याट कमिन्स (कप्तान), स्कट बोल्यान्ड, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, जस इङ्लिस, उस्मान ख्वाजा, साम कोस्टस, म्याथ्यू कुहनम्यान, मार्नस लाबुशेन, नाथन लियोन, स्टिव स्मिथ, मिचेल स्टार्क र बीयू वेबस्टर रहेका छन् । ब्रेन्डन डोगेटलाई रिजर्भ खेलाडीका रुपमा टोलीमा स्थान दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप