प्ले–अफ चरणमा पुग्न आतुर मुम्बई र जित्नै पर्ने दबाबमा रहेको दिल्ली आपसमा भिड्दै

समाचार सारांश
- आईपीएलको खेलमा मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुँदै, प्लेअफमा पुग्न दुवै टोलीलाई जित आवश्यक।
- जारी सिजनमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको प्लेअफमा पुग्ने सम्भावना, हेड टु हेडमा मुम्बई अगाडि।
- वानखेड स्टेडियममा खेल हुँदै, जहाँ ब्याट्सम्यानलाई पिचले सहयोग गर्ने अनुमान, वर्षाको पनि सम्भावना।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण उत्तरार्धतिर लम्किएको छ । प्रतियोगितामा बुधबार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच खेल हुँदै छ । खेल मुम्बईको वानखेड स्टेडियममा राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ६३औँ खेल हो । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स दुवैले आफ्नो १३औँ खेल खेल्न लागेका हुन् । यी दुवै टोली प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत छन् ।
अगाडि बढ्ने सम्भावना जीवित राख्न बुधबार हुने आपसी भिडन्तमा यी दुवै टोलीसँग जितको विकल्प रहने छैन । जारी सिजनमा यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यो सिजन खेलिएको अघिल्लो खेलमा मुम्बईले दिल्लीलाई १२ रनले हराएको थियो ।
जारी सिजनको आईपीएलमा प्ले–अफ चरणमा पुग्ने चारमध्ये तीन टोलीको टुङ्गो लागिसकेको छ । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स यसअघि नै प्ले–अफ चरणमा पुग्ने पक्का भइसककेो छ ।
अब मुम्बई र दिल्लीमध्ये एक टोलीमात्र प्ले–अफ चरणमा पुग्नेछन् । अन्य टोलीको पनि प्ले–अफ चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । बुधबारको खेलमा पराजित भए दिल्लीको पनि अगाडि बढ्ने सपना समाप्त हुनेछ ।
दिल्ली क्यापिटल्स सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । तर, दिल्लीले हालसम्म उपाधिको जित्न सकेको छैन । सुरुवाती संस्करणमा दिल्लीको टोली दिल्ली डेयरडेभिल्सको नामबाट सहभागी भएको थियो ।
दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, उक्त संस्करणको फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो ।
अर्कोतिर, आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स भने सर्वाधिक सफल टोलीमध्ये एक हो । मुम्बई इन्डियन्सले हालसम्म पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ । मुम्बईका अतिरिक्त चेन्नई सुपर किङ्सले मात्र पाँच पटक उपाधि चुम्न सकेको छ ।
मुम्बई इन्डियन्सले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले पराजित गरेको थियो । सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नईलाई नै ४१ रनले हराएको थियो ।
त्यसपछि मुम्बई इन्डियन्सले सन् २०१७ मा उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले पराजित गरेको थियो । आईपीएलको इतिहासमा यो सबैभन्दा कम रनअन्तरको जित पनि हो ।
मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा पनि मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो ।
प्ले–अफ चरणमा पुग्न आतुर मुम्बई
मुम्बई इन्डियन्स जारी सिजनको आईपीएलमा पुग्न आतुर देखिन्छ । तर, मुम्बईको प्ले–अफ यात्रा सहज भने छैन । त्यसका लागि मुम्बईले बुधबार खेलिने खेलमा दिल्लीलाई हराउनु पर्ने हुन्छ । तर, यो खेलमा पराजित भए पनि मुम्बईले अगाडि बढ्न थप एक मौका पाउने छ ।
मुम्बई हाल १२ खेलबाट १४ अंक बटुल्दै तालिकाको चौथो स्थानमा आसीन छ । मुम्बईले हालसम्म सात जित र पाँच हारको नतिजा निकालेको छ । मुम्बईले अब दिल्लीका अतिरिक्त पञ्जाब किङ्ससँग खेल्न बाँकी छ । पञ्जाब पनि निकै बलियो टोली हो ।
बुधबारको खेलमा दिल्लीसँग पराजित भए मुम्बईले अर्को खेल जित्नैपर्ने हुन्छ । त्यसपछि पनि अन्तिम खेलमा दिल्लीको पराजयको कामना गर्नुपर्ने हुन्छ । त्यसैले बुधबारको खेलमा जित हात पार्दै अन्तिम खेलअगावै प्ले–अफ चरणमा पुग्ने धुनमा रहनेछ, मुम्बई ।
‘गर या मर’ को स्थितिमा रहेको दिल्ली
आईपीएलको जारी संस्करणमा दिल्ली क्यापिटल्सले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । दिल्लीको पनि प्ले–अफ चरणमा पुग्ने सम्भावना कायमै छ । तर, दिल्लीका लागि प्ले–अफ चरणको यात्रा तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण देखिन्छ ।
हालसम्म १२ खेलबाट १३ अंक बटुलेको दिल्ली तालिकाको पाँचौँ स्थानमा आसीन छ । दिल्लीले ६ खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । दिल्लीको एक खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको छ ।
त्यसैले बुधबारको खेलमा दिल्लीसँग जितको विकल्प छैन । मुम्बई इन्डियन्ससँग पराजित भए अन्तिम खेलअगावै दिल्ली उपाधि होडबाट बाहिरिने छ । दिल्लीले अब मुम्बईका अतिरिक्त पञ्जाब किङ्ससँग खेल्न बाँकी छ । प्ले–अफ चरणमा पुगिसकेको पञ्जाब निकै बलियो प्रतिद्वन्द्वी हो ।
हेड टु हेडमा मुम्बई अगाडि
दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच हालसम्म आईपीएलमा कुल ३६ खेल खेलिएको छ । त्यसमा मुम्बई बलियो देखिन्छ । मुम्बईले हालसम्म २० खेलमा दिल्लीलाई हराएको छ । दिल्लीले भने १६ खेलमा मुम्बईलाई हराएको छ ।
कोलकातास्थित वानखेड स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच १० पटक भिडन्त भएको छ । त्यसमा पनि मुम्बई नै अगाडि देखिन्छ । वानखेड स्टेडियममा मुम्बईले सातपटक दिल्लीलाई पराजित गरेको छ । यो स्टेडियममा दिल्लीले तीनपटक मात्र मुम्बईलाई हराएको छ ।
सूर्यको नाममा मुम्बईको सर्वाधिक रन
जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्य कुमार यादव हुन् । वानखेड स्टेडियममा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले यो सिजन मुम्बईका लागि १२ खेलमा पाँच सयभन्दा बढी रन बनाइसकेका छन् ।
यसका अतिरिक्त पूर्वकप्तान रोहित शर्मा रोहित शर्मा र कप्तान हार्दिक पाण्ड्याले पनि सन्तोषजनक प्रदर्शन गर्दै आएका छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर भने ट्रेन्ट बोल्ट हुन् । उनले १२ खेलमा १८ विकेट लिइसकेका छन् ।
लयमा छन् दिल्लीका केएल राहुल
आईपीएलको १८औँ संस्करणमा दिल्ली क्यापिटल्सका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । विकेटकिपर ब्याट्सम्यान केएल राहुलले हालसम्म ११ खेल खेल्दै कुल चार सय ९३ रन बनाइसकेका छन् ।
कप्तान अक्षर पटेल र कुलदीप यादवले पनि गतिलो प्रदर्शन गर्दै आएका छन् । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर मिचेल स्टार्क हुन् । उनले १४ विकेट लिएका छन् । तर, उनी अहिले टोलीमा छैनन् । दोस्रो सर्वाधिक विकेट लिने बलर कुलदीप यादव हुन् । उनले १२ विकेट लिएका छन् ।
ब्याट्सम्यानलाई साथ दिने पिच
मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच बुधबारको खेल हुने वानखेड स्टेडियमको पिचले बलरभन्दा ब्याट्सम्यानलाई बढी सहयोग पुर्याउने गरेको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रूपमा बढी नै रन बन्ने गरेको पाइन्छ ।
यो पिचले बल नयाँ हुँदा केही हदसम्म तीव्र गतिका बलरलाई पनि साथ दिने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल एक सय २२ खेल खेलिएको छ । त्यसमध्ये ५६ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् ।
६६ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर एक विकेट गुमाएर दुई सय ३५ रन हो । यो स्कोर रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बईविरुद्ध सन् २०१५ को आईपीएलमा बनाएको थियो ।
वर्षाले खेल बिथोल्ने सम्भावना
दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच खेल हुने दिन बुधबार मुम्बईमा वर्षाको बढी सम्भावना रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, बुधबार दिल्लीमा वर्षाको ८४ प्रतिशत सम्भावना छ । तापक्रम २७ देखि ३३ डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ ।
सम्भावित टोली
मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्टन (विकेटकिपर), रोहित शर्मा, विल ज्याक्स, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, कार्बिन बाश, दीपक चाहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र आश्विनी कुमार ।
दिल्ली क्यापिटल्स : अक्षर पटेल (कप्तान), फाफ डु प्लेसिस, अभिषेक पोरेल (विकेटकिपर), करुण नायर, समिर रिजवी, केएल राहुल (विकेटकिपर), ट्रिस्टन स्टब्स, आशुतोष शर्मा, विपराज निगम, कुलदीप यादव, टी. नटराजन र मुस्तफिजुर रहमान ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र जन्ते बाख्रोको नयाँ गीत ‘मुकु मुकु म्या’ सार्वजनिक
-
पवनदीप राजनको स्वास्थ्यमा सुधार
-
बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा
-
गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा