सूर्यकुमारको शानदार ब्याटिङ, मुम्बईले दियो १ सय ८१ रनको लक्ष्य

समाचार सारांश
- मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १ सय ८१ रनको लक्ष्य दियो, सूर्यकुमार यादवले ७३ रन बनाए।
- खेलमा मुम्बईले ५ विकेट गुमाएर १ सय ८० रन बनायो, जसमा नमन धीरको विस्फोट ब्याटिङ रह्यो।
- आईपीएलको प्लेअफमा पुग्नका लागि मुम्बई र दिल्ली दुवैलाई जित आवश्यक छ।
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स सामु जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार मुम्बईको वांखडे स्टेडियममा भएको खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो ।
टोलीका लागि सूर्यकुमार यादवले सर्वाधिक ७३ रनको योगदान दिए । उनले मात्र ४३ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । ओपनर रायन रिकेल्टनले १८ बलमा २५ रन बनाए । उनले २ छक्का प्रहार गरे । त्यस्तै, विल ज्याक्सले १३ बलमा ३ चौका र १ छक्का हिर्काउँदै २१ रन जोडे । तीलक वर्माले २७ बलमा समान २७ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।
खेलको अन्त्यतिर नमन धीरले विस्फोट ब्याटिङ गर्दै २४ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले मात्र ८ बलमा २ चौका र २ छक्का हिर्काए । रोहित शर्माले ५ रन तथा कप्तान हार्दिक पाण्ड्याले ३ रन मात्र बनाउन सके ।
दिल्लीका लागि मुकेश कुमारले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । दुस्मन्था चमिरा, मुस्तफिजुर रहमान र कुलदीप यादवले १–१ विकेट हात पारे । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ६३औँ खेल हो । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स दुवैले आफ्नो १३औँ खेल खेल्दैछन् । यी दुवै टोली प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत छन् ।
अगाडि बढ्ने सम्भावना जीवित राख्न बुधबार हुने आपसी भिडन्तमा यी दुवै टोलीसँग जितको विकल्प रहने छैन । जारी सिजनमा यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यो सिजन खेलिएको अघिल्लो खेलमा मुम्बईले दिल्लीलाई १२ रनले हराएको थियो ।
जारी सिजनको आईपीएलमा प्ले–अफ चरणमा पुग्ने चारमध्ये तीन टोलीको टुङ्गो लागिसकेको छ । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स यसअघि नै प्ले–अफ चरणमा पुग्ने पक्का भइसकेको छ । अब मुम्बई र दिल्लीमध्ये एक टोलीमात्र प्ले–अफ चरणमा पुग्नेछन् । अन्य टोलीको पनि प्ले–अफ चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ ।
मुम्बई हाल १२ खेलबाट १४ अंक बटुल्दै तालिकाको चौथो स्थानमा आसीन छ । मुम्बईले हालसम्म सात जित र पाँच हारको नतिजा निकालेको छ । हालसम्म १२ खेलबाट १३ अंक बटुलेको दिल्ली तालिकाको पाँचौँ स्थानमा आसीन छ । दिल्लीले ६ खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । दिल्लीको एक खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको छ ।