आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
तीनकुने घटना

दुर्गा प्रसाईंविरूद्ध कुनकुन कसूर र सजायको मागदावी लिइयो ?

आइतबार, ११ जेठ २०८२, १८ : ५६
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • काठमाडौं जिल्ला अदालतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्ध, आपराधिक उपद्रव, कर्तव्य ज्यान लगायतका मुद्दा दायर गरिएको छ।
  • प्रसाईंलाई तिनकुने घटना, पत्रकार सुरेश रजकको हत्या, प्रहरीमाथि ज्यान मार्ने उद्योग र संगठित अपराधमा संलग्न भएको आरोप लागेको छ।
  • मुद्दामा जन्म कैदको सजाय मागदाबी गरिएको छ र अदालतमा मुद्दा दर्ता भएसँगै अब अदालती प्रक्रिया अघि बढ्नेछ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा आज राज्यविरुद्ध, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसूरसम्बन्धी विभिन्न अभियोगमा मुद्दा दायर गरिएको छ ।

तिनकुने घटनामा मुछिएका उनीविरुद्दको अभियोगपत्रमा यस्ता कसूर र सजायको मागदाबी लिइएका छन् । 

१. राज्यविरुद्धको कसूर

मुलुकी अपराध संहिता, २०७४ को दफा ५० को उपदफा (१) बमोजिम राज्यविरुद्धको कसूर गरेको आरोप, र सोही संहिताको दफा ५० को उपदफा (२) अनुसार सजाय मागदावी ।

२. आपराधिक उपद्रवको कसूर 

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनीमा आगजनी गराएको अभियोगमा, मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) र उपदफा (२) को खण्ड (क) अनुसार कसूर गरेको आरोप, र दफा २८५ को उपदफा (३) को खण्ड (ख) बमोजिम सजाय मागदावी ।

३. कर्तव्य ज्यानको कसूर

पत्रकार सुरेश रजकको ज्यान लिएको आरोपमा, मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) अनुसार कसूर, र सोही संहिताको दफा १७७ को उपदफा (२) अनुसार सजाय मागदावी ।

४. ज्यान मार्ने उद्योगको कसूर

नेपाल प्रहरीलाई लक्षित गरी सवारी साधन प्रयोग गरी ज्यान मार्ने प्रयास गरेको आरोपमा, मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ को उपदफा (१) अनुसार कसूर, र सोही संहिताको दफा १८३ को उपदफा (२) अनुसार सजाय मागदावी ।

५. संगठित अपराधको कसूर 

राज्य संरचना पल्टाउने उद्देश्यले आपराधिक बल प्रयोग गरेको अभियोगमा, संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३) (क) र दफा ५ बमोजिम कसूर गरेको आरोप, र सोही ऐनको दफा ३ (१) (क) र (ग) अनुसार सजाय मागदावी ।

६. एकीकृत कसूर

एकै वारदातमा बहुविध कसूर गरेको हुँदा, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ अनुसार एकीकृत कसूरको आधारमा थप सजाय मागदावी ।

आज दर्ता भएको मुद्दामा दुर्गा प्रसाईंमाथि गम्भीर प्रकृतिका आपराधिक अभियोगहरू लागेका छन्। अदालतमा मुद्दा दर्ता भएसँगै अब अदालती प्रक्रिया अघि बढ्नेछ । उनी विरुद्ध जन्म कैदको सजाय मागदाबी  लिइएकको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप