बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
माओवादीमा समायोजन

१० वर्षपछि फेरि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ

सोमबार, १२ जेठ २०८२, १३ : १५
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • नेपाल समाजवादी पार्टीका सह-अध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्।
  • श्रेष्ठ माओवादी केन्द्रमा फर्किने क्रममा ५ बुँदे सहमति छ, जसनुसार उनले सचिवको जिम्मेवारी पाएका छन्।
  • विगतमा श्रेष्ठले विभिन्न राजनीतिक मोडहरूमा डा. बाबुराम भट्टराईलाई साथ दिएका थिए।

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का सह–अध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् ।

सोमबार ललितपुरस्थित ग्वार्कोमा एकता सभा गरी उनी माओवादीमा फर्किएका हुन् । दुई पाटीबीच भएको ५ बुँदे सहमतिअनुसार उनले सचिवको जिम्मेवारी पाएका छन् । 

 लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहेका श्रेष्ठले २०७२ सालमा माओवादी परित्याग गरेका थिए । उनले राजनीतिको हरेक मोडमा डा. बाबुराम भट्टराई निकट रहेर काम गरेका थिए ।

भट्टराईले थालेको वैकल्पिक नयाँ शक्ति अभियानलाई साथ दिन श्रेष्ठ माओवादी केन्द्रबाट बाहिरिएका थिए ।

२०७२ मा संविधान जारी भएपछि भट्टराईले असोज ९ गते माओवादी परित्याग गरी नयाँ शक्ति नेपाल गठन गरेका थिए । २०७४ सालको निर्वाचनमा नयाँ शक्ति नेपालले देशभर लज्जास्पद हार व्यहोर्‍यो । निर्वाचनमा पराजयपछि उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादीपार्टीसँग नयाँ शक्ति नेपालले एकता गरी जनता समाजवादी पार्टी(जसपा) नेपाल गठन भएको थियो ।

भट्टराई संघीय परिषद अध्यक्ष हुँदा श्रेष्ठ महासचिव थिए । जसपा हुँदै २०७९ सालमा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) गठन हुँदा श्रेष्ठ सह–अध्यक्ष भएका थिए ।

२०७९ निर्वाचनअघि नै माओवादीसँग एकताका लागि श्रेष्ठले निकै मेहनत गरेका थिए । उनको निरन्तर पहलकदमीका कारण भट्टराई माओवादीसँग एकता गरी नेकपा (समाजवादी) पार्टी बनाउन सहमत भएका थिए । एकताका लागि नेसपाले श्रेष्ठकै संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

९ बुँदे सैद्धान्तिक र वैचारिक एकताको आधारपत्र पठाइसकेको अवस्थामा एकताबाट भट्टराई पछि हटेपछि श्रेष्ठले अर्का अध्यक्ष महिन्द्र राय यादवलाई साथ दिए ।

२०८० साल चैत ३ गते भट्टराईलाई बाइपास गरी नेसपाले माओवादीसँग एकता गर्ने तीन बुँदे सहमति गरेको थियो । यादवले पार्टी एकता प्रक्रियालाई १४ महिनासम्म अल्झाएपछि जेठ ११ गते श्रेष्ठले आफ्नै नेतृत्वमा नेसपा पुनर्गठन गरी माओवादीसँग एकता गर्ने निर्णय गरेका हुन् ।

एकता घोषणअघि माओवादीको बिहान बसेको पदाधिकारी बैठकले नेसपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । नौ बुँदै आधारपत्रकै आधारमा पार्टी एकता हुन लागेको दाबी गरेका श्रेष्ठले कार्यदिशा, पार्टीको नाम लगायत विषय एकता महाविधेशनबाट टुङ्गो लगाउने गरी सहमति भएको रातोपाटीलाई बताए ।

‘पार्टीको नाम, झण्डा, वैचारिक तथा सैद्धान्तिक कुरा एकता महाधिवेशनले टुङ्ग्याउने गरी एकता गर्ने निर्णय हामीले पहिल्यै नै गरिसकेका थियौँ,’ उनले भने ।

श्रेष्ठका अनुसार बाबुरामसहित एकता गर्नेगरी यसअघि निर्णय भइसके पनि अन्तिम समयमा उनी विभिन्न बहाना बनाएर बाहिरिएपछि महिन्द्र रायकै नेतृत्वमा पार्टी पुनर्गठन गरिएको थियो । महिन्द्र रायले पनि विभिन्न बहानामा एकता प्रक्रियालाई टार्दै आएपछि नेसपा पुनर्गठन गरी सोमबार एकता घोषणा गरेको श्रेष्ठले बताए ।

को हुन् श्रेष्ठ ? 

सिन्धुली जिल्लाको साविक सिद्धेश्वर गाविस (हाल कमलामाई नगरपालिका–५) मा २०२६ साल फागुन १० गते जन्मिएका श्रेष्ठ माओवादी जनयुद्धकालमा ‘प्रभात’ उपनामले चिनिन्थे ।

त्रिभुवन विश्वविद्यालयबाट सामाजशास्त्र र नेपाली विषयमा स्नातकोत्तरसम्म अध्ययन गरेका श्रेष्ठ माओवादीभित्र प्रभावशाली युवा नेतामध्ये एक मानिन्थे । उनले सिन्धुली क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्दा २०४३ सालमा अनेरास्ववियु(छैटौँ)बाट राजनीति सुरु गरे । २०४५ सालमा नेकपा(मसाल)को सदस्यता लिएका उनी २०४७ सालदेखि पूर्णकालीन सदस्य भए ।

२०५२ सालमा अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय महासचिव भएका श्रेष्ठ २०५३ साल वैशाखमा पक्राउ परी ५ वर्ष ३ महिनासम्म जेलमा रहे ।

श्रेष्ठ २०६० सालमा नेकपा (माओवादी)को वैकल्पिक केन्द्रीय सदस्य, २०६३ माघ १ गतेदेखि २०६४ सालसम्म अन्तरिम व्यवस्थापिका संसदको सदस्य भए । २०६५ देखि एकीकृत नेकपा(माओवादी) को केन्द्रीय सदस्य, २०६८ भदौदेखि २०६९ फागुनसम्म तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख स्वकीय सचिव भएका उनी २०७० को निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ बाट पराजित भए ।

श्रेष्ठ २०७१ सालमा एकीकृत नेकपा (माओवादी) को पोलिटब्युरो सदस्य भए । उनी २०७२ देखि २०७५ सम्म नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य भए । उनी २०७६ वैशाखमा जनता समाजवादी पार्टीको केन्द्रीय महासचिव, २०७७ वैशाखमा लोसपा–जसपा एकता भएर बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी सदस्य भए । २०७९ मा नेपाल समाजवादी पार्टी गठनपश्चात् सो पार्टीमा सहध्यक्षको  भूमिका रहेको श्रेष्ठ माओवादीसँग एकतापछि कुन जिम्मेवारीमा रहन्छन् भन्ने प्रस्ट भइसकेको छैन ।

माओवादीले एकता प्रक्रियामा जोडिएका नेताहरूलाई पूर्वपार्टीमा रहेको भूमिकाका आधारमा जिम्मेवारी दिने निर्णय यसअघि नै गरिसकेको छ । सोमबार भएको एकतामा श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारीणी सदस्य, करिब १०० जना केन्द्रीय सदस्य माओवादीमा समाहित भएको दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप