लाहोर कलन्दर्सलाई पीएसएलको उपाधि दिलाउने सिकन्दर राजालाई ‘गोल्डेन आइफोन’ उपहार
काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगिताको उपाधि लाहोर कलन्दर्सले जित्यो । लाहोर कलन्दर्सले क्वेटा ग्लाडिएटर्सलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।
टस जिही पहिले ब्याटिङको निर्णय लिएको क्वेटा ग्लाडिएटर्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय एक रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लाहोर कलन्दर्सले १९.५ ओभरमा चार विकेट गुमाएर दुई सय चार रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
ठुलो लक्ष्य पछ्याएको लाहोर कलन्दर्सलाई उपाधि चुमाउन जिम्बाबेका ब्याटिङ अलराउन्डर सिकन्दर राजाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा छैटौँ नम्बरमा क्रिज समाल्न ओर्लिएका उनले तीन सयभन्दा बढीको स्ट्राइक रेटमा अविजित २२ रन बनाएका थिए ।
यस क्रममा उनले आक्रामक ब्याटिङ गर्दै केवल सात बलमा दुई छक्का र दुई चौका हिर्काएका थिए । त्यसैले लाहोर कलन्दर्सले उपाधि जितेपछि सिकन्दर राजा निकै चर्चामा छन् ।
इङ्ल्यान्डबाट लामो यात्रापछि लाहोर पुगेर उनले आफ्नो टोलीलाई पीएसएलको उपाधि चुमाएका थिए ।त्यसैले लाहोर कलन्दर्सले उनलाई गतिलै उपहार प्रदान गरेको छ । पीएसएलको उपाधि विजेता लाहोर कलन्दर्सले सिकन्दर राजालाई ‘गोल्डेन आइफोन’ उपहार दिएको हो । यसबाट सिकन्दर राजा पनि निकै खुसी देखिएका छन् ।
सुरुमा लाहोर कलन्दर्सले सिकन्दरलाई दुईवटा बक्स उपहार दिएको थियो । उनले पहिलो बक्स खोलेर हेर्दा त्यो खाली थियो । तर, दोस्रो बक्स खोलेर हेर्दा त्यसमा गोल्डेन आइफोन राखिएको थियो । त्यो देखेर सिकन्दर राजा निकै खुसी भएका थिए ।
खासमा, ३९ वर्षीय सिकन्दर राजा फाइनल खेलका लागि टस हुनुभन्दा केही समयअघि मात्र स्टेडियम पुगेका थिए । उनी सात हजार किलोमिटरभन्दा बढी दूरी तय गरेर फाइनल खेल्न लाहोर पुगेका हुन् । फाइनलपछि यो कुरा उनी आफैले बताएका हुन् । उनी मे २४ तारिखको राति इङ्ल्यान्डमा थिए । त्यहाँ उनले जिम्बाबेको टोलीबाट इङ्ल्यान्डविरुद्ध टेस्ट क्रिकेट खेलेका थिए ।
मे २४ तारिखमा इङ्ल्यान्ड र जिम्बाबेबिचको टेस्टको तेस्रो दिनको खेल सकिएपछि उनको मनमा पीएसएलको फाइनल खेल्ने चाहना जागेको थियो । त्यसपछि उनले यस विषयमा टोलीका प्रशिक्षक र साथीहरुसँग कुरा गरेका थिए । अनुमति पाएपछि उनी पाकिस्तानतर्फ लागेका थिए ।
उनले बाटोबाटै आफू फाइनल खेल्न आउँदै गरेको जानकारी लाहोर कलन्दर्सको प्रशिक्षक र व्यवस्थापन पक्षलाई गराएका थिए । तर, उनी समयमै स्टेडियम पुग्नेमा कोही पनि विश्वस्त थिएन । टसअघि अचानक स्टेडियम पुगेपछि उनलाई प्लेइङ–११ मा स्थान दिइएको क्लबले जनाएको छ । उनले फाइनलमा एक विकेट पनि लिएका थिए ।
खेलको अन्त्यतिर लाहोर कलन्दर्स हारतर्फ अग्रसर देखिएको थियो । यस्तो स्थितिमा अन्तिम ओभरमा सिकन्दर राजाले मोहम्मद आमिरको बलमा चौका र छक्का प्रहार गर्दै आफ्नो टोलीलाई उपाधि चुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण