शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
आईपीएल

सकियो आईपीएलको लिग चरण : दुई पूर्वविजेता र उपाधिका लागि प्रतीक्षारत दुई टोलीबिच घम्साघम्सी

अभागी बने चार पूर्वविजेता
बुधबार, १४ जेठ २०८२, १४ : ३०
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा लिग चरणका खेलहरू सकिएका छन्, जसमा पञ्जाब किङ्स शीर्ष स्थानमा रह्यो।
  • प्लेअफ चरणमा पुग्न सफल चार टोलीमा पञ्जाब किङ्स, रोयल च्यालेन्जर्स बेंगलुरु, गुजरात टाइटन्स र मुम्बई इन्डियन्स रहे।
  • पहिलो क्वालिफायर पञ्जाब र बेंगलुरुबीच हुनेछ भने एलिमिनेटर गुजरात र मुम्बईबीच हुनेछ, फाइनल खेल अहमदाबादमा हुनेछ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा लिग चरणका खेलहरू सकिएका छन् । लिग चरणमा कुल ७० खेल खेलिए । प्रत्येक टोलीले १४–१४ खेल खेल्दै आफूलाई अब्बल साबित गर्ने प्रयास गरे । 

अन्ततः चारवटा टोली उत्कृष्ट प्रदर्शनसहित प्ले–अफ चरणमा पुग्न सफल भए । पञ्जाब किङ्स तालिकामा पहिलो हुँदै अगाडि बढ्यो । पञ्जाबले १९ अंक बटुल्यो । यस क्रममा पञ्जाबले नौ जित र चार हारको नतिजा निकाल्यो । पञ्जाबको एउटा खेल अनिर्णीत रूपमा सकियो ।

रोयल च्यालेन्जर्स बेंगलुरु दोस्रो हुँदै प्ले–अफ चरणमा पुग्न सफल भयो । बेंगलुरुले पनि १९ अंक नै हात पार्‍यो । तर, नेट रन रेटमा बेंगलुरुको टोली पञ्जाबसँग पछि पर्‍यो । बेंगलुरुले नौ जित र चार हारको नतिजा निकाल्यो । बेंगलुरुको पनि एक खेल वर्षाका कारण अनिर्णीत रूपमा सकियो ।

यसैगरी, गुजरात टाइटन्स तालिकामा तेस्रो भयो । गुजरातले १८ अंक बटुल्यो । गुजरातले नौ खेलमा जित र पाँच खेलमा हारको नतिजा निकाल्यो । तालिकामा चौथो हुँदै प्ले–अफ चरणमा पुगेको मुम्बई इन्डियन्सले १६ अंक कमायो । मुम्बईले आठ खेलमा जित र ६ खेलमा हारको नतिजा निकाल्यो । 

अन्य ६ टोली भने लिग चरणबाट बाहिरिन बाध्य भए । प्रतियोगितामा गतिलो प्रदर्शन गरे पनि दिल्ली क्यापिटल्स अगाडि बढ्न सकेन । दिल्ली अन्तिम समयमा आएर चुक्यो । दिल्लीको टोली तालिकामा पाँचौँ भयो । दिल्लीले १५ अंक जोड्यो । 

यस क्रममा दिल्लीको टोलीले सात जित र ६ हारको नतिजा निकाल्यो । दिल्लीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यो खेल अनिर्णीत रूपमा सकिनु नै दिल्लीका लागि दुर्भाग्य बन्यो । अन्यथा, दिल्ली प्ले–अफ चरणमा पुग्ने सम्भावना थियो । 

यसैगरी, सनराइजर्स हैदराबादले तालिकामा छैटौँ हुँदै लिग चरण टुङ्ग्यायो । हैदराबादले १४ खेलबाट १३ अंक बटुल्यो । हैदराबादले ६ खेलमा जित र सात खेलमा हारको नतिजा निकाल्यो । हैदराबादको एक खेल अनिर्णीत रूपमा सकियो । 

लखनउ सुपर जायन्ट्स १२ अंकसहित सातौँ भयो । लखनउले ६ जित र आठ रनको नतिजा निकाल्यो । कोलकाता नाइट राइडर्स पनि १२ अंकसहित आठौँ भयो । कोलकाताले पाँच जित र सात हारको नतिजा निकाल्यो ।

कोलकाताको दुई खेल वर्षाले बिथोल्यो । राजस्थान रोयल्स आठ अंकसहित नवौँ स्थानमा रह्यो । राजस्थानले केवल चार जित र १० हारको नतिजा निकाल्यो । चेन्नई सुपर किङ्स आठ अंकसहित १०औँ भयो । चेन्नई चार खेलमा विजयी र १० खेलमा पराजित भयो । 

  • प्ले–अफमा दुई पूर्वविजेता र दुई नयाँ 

आईपीएलको १८औँ संस्करणको प्ले–अफ चरणमा पुग्ने चारमध्ये दुई टोली पूर्वविजेता हुन् । बाँकी दुई टोली भने पहिलो उपाधिको खोजीमा छन् । प्ले–अफ चरणमा पुगेका दुई टोलीले मिलेर आईपीएलको ६ वटा उपाधि जितेका छन् ।

त्यसमध्ये मुम्बई इन्डियन्स आईपीएलको इतिहासको सर्वाधिक सफल टोली हो । मुम्बई इन्डियन्सले हालसम्म पाँचपटक उपाधि चुमिसकेको छ । मुम्बईले सन् २०१३, सन् २०१५, सन् २०१७, सन् २०१९ र सन् २०२० मा आईपीएलको उपाधि जितेको थियो । 

मुम्बईका अतिरिक्त चेन्नई सुपर किङ्सले मात्र पाँचपटक आईपीएलको उपाधि उचाल्न सकेको छ । तर, यो सिजन चेन्नई लिग चरणबाटै बाहिरिएको छ । त्यसैले मुम्बई यसपटक छैटौँ उपाधि उचाल्दै एकल रूपमा इतिहास रच्ने अभियानमा छ । 

मुम्बईका अतिरिक्त, प्ले–अफ चरणमा पुग्ने अर्को टोली गुजरात टाइटन्सले पनि हालसम्म एकपटक आईपीएलको उपाधि चुमिसकेको छ । गुजरात टाइटन्सले सन् २०२२ मा उपाधि जितेको थियो । त्यसैले गुजरात यसपटक दोस्रो उपाधिको खोजीमा रहने छ । 

प्ले–अफ चरणमा पुगेका दुई टोली रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्सले भने हालसम्म उपाधि जित्न सकेका छैनन् । यी दुई टोली पहिलो उपाधिको खोजीमा रहनेछन् । त्यसैले यसपटक आईपीएलले नयाँ विजेता पाउने सम्भावना पनि उत्तिकै छ । 

  • निरीह बनेका पूर्वविजेता 

जारी सिजनको आईपीएलमा चारवटा पूर्वविजेता लिग चरणबाटै बाहिरिन बाध्य भए । चेन्नई सुपर किङ्सका लागि यो संस्करण सबैभन्दा निराशाजनक रह्यो । पाँचपटकको उपाधिधारी चेन्नईले यो सिजन बिर्सनलायक प्रदर्शन गर्‍यो । 

आईपीएलको इतिहासमा चेन्नई सर्वाधिक सफल टोली हो । चेन्नईले सन् २०१० मा पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि चेन्नईले सन् २०११ मा दोस्रो पटक उपाधि उचालेको थियो । चेन्नईले सन् २०१८ तेस्रो, सन् २०२१ मा चौथो र सन् २०२३ मा पाँचौँ उपाधि चुमेको थियो । 

यसैगरी, तीनपटकको च्याम्पियन कोलकाता नाइट राइडर्सका लागि पनि आईपीएलको यो संस्करण निकै निराशाजनक रह्यो । साबिक विजेतासमेत रहेको कोलकाताले गतिलो प्रदर्शन गर्न सकेन । कोलकाताले सन् २०१२, सन् २०१४ र सन् २०२४ मा आईपीएलको उपाधि जितेको थियो ।

पूर्वविजेता राजस्थान रोयल्सका लागि पनि यो संस्करण निराशाजनक रह्यो । राजस्थानले सन् २००८ मा आयोजित पहिलो संस्करणको उपाधि उचालेको थियो । अर्को पूर्वविजेता सनराइजर्स हैदराबादले पनि यो सिजन गतिलो प्रदर्शन गर्न सकेन । हैदराबादले सन् २०१६ मा उपाधि जितेको थियो । 

  • पञ्जाब र बेंगलुरुबिच पहिलो क्वालिफायर

जारी सिजनको आईपीएलमा पहिलो क्वालिफायर खेल पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिने छ । पहिलो क्वालिफायर खेल बिहीबार खेलिने छ । उक्त खेल मुल्लनपुरस्थित महाराजा यादवीन्द्र सिंह स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।

३८ हजार दर्शक क्षमताको यो स्टेडियम पञ्जाब किङ्सको अर्को घरेलु मैदान हो । यो खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । उक्त खेलमा विजयी भए फाइनलमा प्रवेश गर्नेछ ।

  • गुजरात र मुम्बईबिच एलिमिनेटर भिडन्त

आईपीएलको १८औँ संस्करणमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच एलिमिनेटर भिडन्त हुनेछ । उक्त खेल शुक्रबार खेलिने छ । यो खेल पनि मुल्लनपुरस्थित महाराजा यादवीन्द्र सिंह स्टेडियममै नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।

लिग चरणमा गुजरात टाइटन्स तेस्रो र मुम्बई इन्डियन्स चौथो हुँदै प्रतियोगिताको प्ले–अफ चरणमा प्रवेश गरेका हुन् । एलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । पराजित टोली भने उपाधि होडबाट बाहिरिने छ । 

  • दोस्रो क्वालिफायर आइतबार 

प्रतियोगिताको दोस्रो क्वालिफायर खेल आगामी आइतबार (जुन १ तारिख) खेलिने छ । दोस्रो क्वालिफायर खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

एक लाख ३२ हजार दर्शक क्षमताको विश्वकै सबैभन्दा ठुलो यो स्टेडियम गुजरात टाइटन्सको घरेलु मैदान हो । पहिलो क्वालिफायर खेलमा पराजित हुने र एलिमिनेटर खेलमा विजयी हुने टोलीबिच दोस्रो क्वालिफायर खेल हुनेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ । 

  • फाइनल खेल विश्वकै ठुलो स्टेडियममा

आईपीएलको १८औँ संस्करणको फाइनल खेल भने आगामी मंगलबार (जुन ३ तारिख) खेलिने छ । फाइनल खेल पनि नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । उपाधि भिडन्त पनि अहमादाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममै हुनेछ । 

यो स्टेडियम विश्वकै सबैभन्दा बढी दर्शक क्षमताको हो । यो स्टेडियमको दशक क्षमता एक लाख ३२ हजार रहेको छ । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप