प्रवासमा सम्बन्ध बढाउँदै मधेशी दल, भोट पुगेन कि पैसा ?

समाचार सारांश
- तराई-मधेस केन्द्रित दलका नेताहरूले विदेशमा कार्यक्रमलाई प्राथमिकता दिइरहेका छन्, विभिन्न देशमा भ्रमण गर्दै संगठन विस्तार गरिरहेका छन्।
- जनमत पार्टीले प्रवासी संगठनबाट आर्थिक सहयोग लिने गरेको र यस विषयमा विवाद उत्पन्न भएपछि सदस्यता शुल्क नलिने निर्णय गरेको छ।
- जसपा नेपाल, लोसपा नेपाल र अन्य दलहरूले पनि विदेशमा संगठन विस्तार गरिरहेका छन्, जसले चुनावमा सहयोग पुर्याउने र सम्बन्ध विस्तार गर्ने विश्वास लिइएको छ।
काठमाडौँ । पछिल्लो समय तराई मधेशकेन्द्रित दलका नेताहरूले वैदेशिक कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।
भारतलगायत विभिन्न देशमा उनीहरू पालैपालो गइराखेका छन् । भर्खरै मात्र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो अमेरिका गएका थिए । उनी उतै छन् । अमेरिका हुँदै उनी कतार पनि जाने कार्यक्रम रहेको छ । यस्तै शनिबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जाँदै छन् ।
यो पढ्नुहोस्
उक्त पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापा, प्रदेश सभा सदस्य राजु गुप्तालगायत भने आज (बुधबार) मलेसियाका लागि उडेका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउत पनि गएको फागुन पहिलो साता दुबई पुगेका थिए । उनी फागुनको दोस्रो साता फर्किएका थिए ।
यो पढ्नुहोस्
करिब एक महिनाअघि लोसपा नेपालका मधेश प्रदेश प्रदेश सभा सदस्य जैनुल राइन पनि साउदी तथा कतारको भ्रमण गरी फर्किएका थिए ।
तराई–मधेशकेन्द्रित दलहरू पछिल्लो समय विदेश भ्रमणमा जानुले नेपालमा मात्र नभई बाहिर पनि संगठन बनाउन थालेको देखिएको छ । जनमतले सुरुदेखि नै खाडी मुलुकलगायत देशहरूमा पार्टी गतिविधि गर्दै आएको थियो ।
अध्यक्ष राउतले ‘स्वतन्त्र मधेश गठबन्धन’ सञ्चालन गर्नुअघि नै विदेशमा गैरआवासीय मधेशी संघ (एनआरएमए) गठन गरेका थिए । प्रवास संगठनबाट मधेशी दलमध्ये सबभन्दा बढी फाइदा लिने जनमत नै हो । यो पार्टीको मुख्य आर्थिक स्रोत पनि गैरआवासीय मधेशी संघ (एनआरएमए) भएको बताइन्छ ।
तर पार्टीले संकलन गरेको उक्त रकम दुरुपयोग हुन थालेको केही अघि समाचारहरू आएका छन् । विदेशमा रहेका पार्टीका संगठनबाट प्राप्त आर्थिक स्रोत घर जग्गा तथा होटल खरिद गरिएको भन्दै पार्टीभित्र विवाद नै उत्पन्न भएका थिए । जसपछि जनमतले गैरआवासीय मधेशी संघ (एनआरएमए) मा कुनै पनि सदस्यता शुल्क वा लेबी नराख्ने र नउठाउने निर्णय गरेको छ । र आर्थिकभन्दा पूर्णतः संगठन विस्तारमा जोड दिने पनि पार्टीले सर्कुलरमा जनाएको छ ।
जनमतलाई २०७९ को मतदानमा सबैभन्दा बढी सहयोग विदेशबाटै प्राप्त भएको थियो । आर्थिकसँगै त्यहाँ रहेकाले परिवार तथा आफन्तलाई आग्रह गरिँदा मतसमेत पार्टीले उल्लेख्य प्राप्त गरेको थियो ।
यसरी विदेशमा रहेको संगठनले सबभन्दा बढी फाइदा लिनेमा जनमत पार्टी नै अगाडि देखिन्छ ।
यो पनि पढ्नुहोस्
मधेशी समुदायलाई संगठित गर्दै मधेशीको हकहितमा काम गर्ने उद्देश्यले अध्यक्ष राउतले २०१० सेप्टम्बर ८ मा गैरआवासीय मधेशी संघ (एनआरएमए) गठन गरेका थिए । जनमत पार्टीका अनुसार सो संघ ४४ वटा देशमा फैलिएको छ । यूएई मलेसिया, कतार, साउदी अरब, कुवेत, भारत र मध्यपूर्वका देशहरूमा संघमा आबद्ध दुई लाखभन्दा बढी सदस्य रहेको पार्टीको दाबी छ ।
त्यस्तै उपेन्द्र यादवको जसपा नेपाल पनि विदेशमा रहेका नेपालीसँग सम्बन्ध विस्तार गर्न पछि परेको छैन । युरोपलगायत विभिन्न ११ वटा देशमा आफ्नो संगठन विस्तार गरेको यस पार्टीले जनाएको छ । जसपा नेपालको पनि आर्थिक स्रोतको बलियो आधार प्रवास कमिटीहरू नै हुन् । पार्टीको संगठन निर्माण तथा सम्मेलनमा भाग लिन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव वेलावेलामा विदेश गइरहेका हुन्छन् ।
२०७९ सालमा भएको आम निर्वाचनमा राउतले यादवमाथि विजयी प्राप्त गर्नुलाई धेरैले जनमतको वैदेशिक संगठनहरूले काम गरेको अथ्र्याएका थिए । र यो कुरा बुझेका यादव पछिल्लो समय धेरै नेपाली रहेका प्रवासमा संगठन विस्तार गर्ने तयारीमा लागेका हुन् ।
तर जसपा नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा भने विदेशमा रहेका नेपालीलाई परेका समस्या सघाउन आफूहरू त्यसतर्फ लागेको बताउँछन् । साथै प्रवासमा रहेका नेपालीका कठिनाइ बुझ्न तिनलाई सहयोग गर्न पार्टीनिकटका संगठनहरू बनाइएको दाबी गर्छन् ।
प्रवासबाट आर्थिक सहयोग नआएको पनि दाबी गरेका उनले भने, ‘विदेशमा हुने कार्यक्रमको खर्च त्यहीँको संगठनले बेहोर्छन् ।’ युरापका देशहरूमा रहेका संगठनहरूबाट लेबी आए पनि खाडी मुलुकबाट भने पार्टीलाई खासै आर्थिक सहयोग नआउने उनी बताउँछन् । ‘विदेशमा रहेका नेपाली संगठनमा आबद्ध भए चुनावमा भने सहयोग हुन्छ,’ उनले भने । थापाले जहाँ जहाँ नेपाली भए पनि संगठनसँग जोडिएर रहे फाइदा हुने तर्क गरे ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका पनि विभिन्न २२ वटा देशमा संगठन छन् । संगठन निर्माणका लागि अध्यक्ष राई, वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेतृ सुशीला श्रेष्ठलगायत नेताहरू विदेश गइरहेका हुन्छन् । पछिल्लो समय अध्यक्ष राई र श्रेष्ठ अमेरिका पुगेर आएका थिए ।
पार्टीसँग अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन यस्ता संगठनहरूले निकै ठुलो काम गरिरहेको जसपाका महासचिव मोहम्मद इस्तियाक राई बताउँछन् । ‘विदेशमा संगठन हुँदा नेपालीलाई सहयोग हुने, दुई देशबिच सम्बन्ध बनाउन सहयोग पुर्याउँछ,’ राईले भने, ‘पार्टीसँग जोडिएका कारण चुनावमा पनि सहयोग हुने गर्छ ।’
नेपालमा जस्तै पार्टीका संगठन विदेशमा पनि क्रियाशील हुने र तिनीहरूको पनि आफ्नै विधि र विधान हुनले जानकारी दिए । र पार्टीको मुल कमिटीसँग समन्वय गरी त्यस्ता संगठनहरू क्रियाशील पनि हुने उनको भनाइ थियो ।
लोसपा नेपालको पनि साउदी, कतार, भारत, दुवईलगायत देशमा संगठन छन् । तर जसपा नेपाल र जनमतजतिको सक्रिय भने छैनन् । लोसपा नेपालका वरिष्ठ नेता शरत्सिंह भण्डारी हाल श्रम रोजगार सामाजिक सुरक्षा मन्त्री छन् । आफू भ्रमणमा जाने गरेका देशमा रहेका नेपालीलाई पार्टीसँग उनले जोड्ने काम गर्दै आएका छन् ।
पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला भन्छन्, ‘केही देशमा हाम्रा पनि संगठन छन्, तर त्यो त्यति क्रियाशील छैन । प्रवास कमिटीलाई पनि सुदृढ बनाउँदै अगाडि बढ्ने कुरा भइरहेको छ ।’ जसका लागि पार्टी संगठन निर्माणका काम बढाइएको र यसबारे कसैलाई जिम्मेवारी नै दिइने उनले बताए । पार्टीका महासचिव डा.सुरेन्द्र झाले पनि प्रवास कमिटीका लागि पार्टीले नयाँ सोचका अघि बढ्ने तयारी गरेको बताए । ‘विदेशमा पार्टीनिकट संगठन भयो भने त्यहाँका नेपाली र पार्टीनिकट कामदारहरूलाई सहयोग पुग्छ,’ झाले भने, ‘भारतलगायत विभिन्न खाडी मुलुकमा थुप्रै मधेशी कामदारहरू छन्, वेलावेला उनीहरूलाई समस्या आइरहेका हुन्छन् त्यस्तो वेलामा संगठनको आवश्यकता पर्छ, त्यसका लागि भए पनि पार्टी निकट संगठन हुनु आवश्यक छ ।’
भर्खरै पार्टी दर्ता गरेका राजेन्द्र महतो पनि प्रवासमा कमिटीहरू बनाउन सक्रिय भइसकेका छन् । त्यसैका लागि उनी अहिले विदेश भ्रमणमा निस्किएका हुन् । अमेरिका र कतारमा आफ्नो संगठन बनाइसकेका छन् भने अन्य देशमा विस्तारै तयारी भइरहेको उक्त पार्टीका नेता सन्तोष मेहताले जानकारी दिए । ‘दुबई, साउदी, मलेसिया, बेलायत, दक्षिण कोरिया, भारतमा सम्पर्क व्यक्ति तयार भइसकेका छन्,’ मेहताले भने, ‘अब विस्तारै ती देशहरूमा संगठन बनाउँछौँ ।’
धेरै नेपाली विदेशमा रहेकाले दलहरूको आकर्षण त्यतातर्फ बढेको उनले बताए । ‘विदेशमा संगठन भयो भने चुनावमा राम्रो सहयोग हुन्छ, विदेशमा बस्नेहरूले आफन्तलाई फोन गरेर मात्र भन्दिए भने मत आउने पक्का हुन्छ, त्यस अलावा आर्थिक सहयोग पनि आउँछ,’ उनले खुलाए ।
स्वतन्त्र रूपमा (यूएई) मधेशी एकता समाज गठन गरेका डा.रवीन्द्र यादव भने प्रवासतिर दलहरूको आकर्षण बढ्नुको एउटै कारण चुनावमा मत पाइन्छ कि भन्ने भएको बताउँछन् । उक्त कारणलाई लोभको संज्ञा दिएका यादवले प्रवासमा कमिटी बनाउन सजिलो हुने तर्क गरे । ‘विदेशको कुनै एउटा सहरमा नेपालका अधिकांश जिल्लाका मान्छे हुन्छन्, एउटै भेलामा सबैसँग भेट हुन्छन्, त्यसैले संगठन बनाउन सजिलो हुन्छ ।’
सो भेटघाटले ती दल तथा दलका नेताहरूलाई फाइदा भइरहेका हुन्छन् । नेपालमा गाउँगाउँ गएर भेटघाट गरी जसरी संगठन बन्दैन त्यसरी कुनै देशमा एकपटक गएपछि संगठन बन्छन् त्यहाँ पुरै नेपालका मान्छे नै भेटका हुन्छन् ।
मधेशी एकता समाजको अन्तराष्ट्रिय समितिका संयोजक डा.रविन्द्र यादव भन्छन्, ‘विदेशमा काम गर्नेहरू एकपटक आफ्नो घरमा फोन गरेर जसलाई मतदान गर्न भन्छन् त्यसलाई नै मत जान्छ त्यसमा कुनै दायाँ बायाँ हुँदैन ।’ अघिल्लो चुनावमा यसको फाइदा जसबभन्दा बढी फाइदा जनमत पार्टीले लिएको उनको अनुभव छ ।
स्वतन्त्र मधेश गठनबन्धनमा जनमतका अध्यक्ष राउतसँग काम गरेका विदेशमा पार्टीका संगठनले जनमतलाई आर्थिक सहयोग पनि प्राप्त भएको बताए । स्वतन्त्र मधेश गठबन्धनबाट आन्दोलन गर्दा कसैले सहयोग नगरेका तर पार्टी गठन गरेपछि जनमतले पैसा र मत दुवै पाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँगाउँमा सडक कालोपत्रे भएपछि स्थानीय खुसी
-
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट
-
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
-
सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन