शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

मिर्गौला प्रत्यारोपणपश्चात् सगरमाथाको सफल आरोहण गर्ने शेर्पा सम्मानित

शुक्रबार, १६ जेठ २०८२, १५ : ००
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बा शेर्पालाई सम्मान गरे।
  • मन्त्री पौडेलले अंगदानबारे सचेतना फैलाउन र भरियाको स्वास्थ्य बीमा गर्न पहल गर्ने बताए।
  • पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका हुन्।

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपणपश्चात् सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही सोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् ।  शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा शेर्पालाई बधाई समेत दिए । 

मन्त्री पौडेलले अझै पनि मस्तिष्क मृत्यु पश्चात् दान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्दै शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने धारणा राखे । मस्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका उनले बताए । त्यस्तै मन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरूको स्वास्थ्य बीमा नभएको भन्दै उनीहरूको बिमाका लागि पहल गर्ने घोषणा समेत गरे ।

सो क्रममा सगरमाथा आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको बताए । वैदेशिक रोजगारीका क्रममा किड्नी फेल भएको पत्ता लागे पछि स्वदेश फर्किएका शेर्पाले तीन वर्ष अघि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरेका थिए । सन् २०२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत मे १४ मा सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप