आईपीएलमा प्रतिबन्ध, हराएका क्लब र अभागी टोलीहरुको कथा

समाचार सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण जारी छ, जसमा फाइनलको लागि दुई टोलीको प्रतिस्पर्धा हुँदैछ।
- मुम्बई र चेन्नई सुपर किङ्सले सर्वाधिक पाँच-पाँच पटक आईपीएलको उपाधि जितेका छन्, जबकि कोलकाता नाइट राइडर्सले तीन पटक जितेको छ।
- विभिन्न टोलीको प्रदर्शन, जस्तै लखनउ सुपर जायन्ट्स, कोची टस्कर्स केरला, पुणे वारियर्स इन्डिया र गुजरात लायन्सको चर्चा गरिएको छ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको १८ औँ संस्करण जारी छ । प्रतियोगितामा अब दुई खेलमात्र खेलिन बाँकी छ । आइतबार हुने मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबिचको दोस्रो क्वालिफायर खेलपछि फाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।
त्यो खेलमा विजयी हुने टोलीले मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरुसँग उपाधिका लागि भिडन्त गर्नेछ । आईपीएलको पहिलो संस्करण सन् २००८ मा आयोजना भएको थियो । हालका अधिकांश टोलीले पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागिता जनाउँदै आएका छन् ।
तर, हालसम्म सातवटा टोलीले मात्र उपाधि जित्न सकेका छन् । आईपीएलको १३ वटा उपाधि त केवल तीनवटा टोलीको पोल्टामा परेको छ । मुम्बई र चेन्नई सुपर किङ्सले पाँच–पाँच पटक उपाधि चुमेका छन् । कोलकाता नाइट राइडर्सले पनि तीन पटक उपाधि जितेको छ ।
यसका अतिरिक्त, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स र गुजरात टाइटन्सले एक–एक पकट उपाधि जितेका छन् । त्यसमध्ये डेक्कन चार्जर्स हाल अस्तित्वमा नै छैन । डेक्कन चार्जर्सले सन् २००९ मा उपाधि चुमेको थियो ।
१८ औँ संस्करणसम्म आइपुग्दा विभिन्न १५ क्लबले आईपीएल खेलेका छन् । हाल प्रतियोगितामा १० वटा टोली सहभागी छन् । त्यसमध्ये पाँचवटा टोलीले मात्र पहिलोदेखि १८ औँ संस्करणसम्म सहभागिता जनाउँदै आएका छन् ।
चारवटा टोली त आईपीएलको फाइनलसम्म पनि पुग्न सकेका छैनन् । लखनउ सुपर जायन्ट्स यस्तै अभागी टोलीमध्ये एक हो । संजिव गोयनकाको स्वामित्वमा रहेको लखनउ सुपर जायन्ट्सले सन् २०२२ देखि आईपीएलमा सहभागिता जनाउन थालेको हो ।
तर, लखनउको टोली हालसम्म आईपीएलको फाइनलसम्म पनि पुग्न सकेको छैन । सुरुवाती दुई सिजनमा लखनउको प्रदर्शन अब्बल थियो । त्यतिबेला लखनउको टोली उत्कृष्ट प्रदर्शनसहित प्ले–अफ चरणमा पनि पुगेको थियो ।
जारी सिजनको आईपीएलमा पनि लखनउको प्रदर्शन सन्तोषजनक नै थियो । तर, यो सिजन पनि लखनउ प्ले–अफ चरणमै पुग्ने सकेन । यो सिजन ऋषभ पन्तको कप्तानीमा रहेको लखनउ १४ खेलबाट १२ अंक बटुल्दै लिग तालिकामा सातौँ भयो । लखनउले ६ जित र आठ हारको नतिजा निकाल्यो ।
यसैगरी, कोची टस्कर्स केरलाले पनि कुनै समय आईपीएल खेलेको थियो । यो क्लबले सन् २०११ मा एक सिजनमात्र आईपीएल खेल्यो । माहेला जयाबद्र्धने र मुथैया मुरलिथरनजस्ता प्रभावशाली खेलाडीसहित मैदानमा ओर्लिए पनि केरलाको टोली प्ले–अफ चरणमा समेत पुग्न सकेन ।
लिग चरणमा यो टोली सातौँ भएको थियो । पछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सँगको विवादका कारण कोची टस्कर्स केरलाले आईपीएलमा सहभागिता जनाएन । अहिले यो क्लब अस्तित्वमा छैन । यसैगरी पुणे वारियर्स इन्डियाले पनि आईपीएलको तीनवटा संस्करण खेलेको थियो । यो क्लबले सन् २०११, सन् २०१२ र सन् २०१३ मा आईपीएल खेलेको थियो । यो टोली पनि कहिल्यै आईपीएलको फाइनलमा पुग्न सकेन ।
युवराज सिंह, सौरव गांगुली, रोविन उथप्पाजस्ता प्रभावशाली खेलाडीसहित मैदानमा ओर्लिए पनि यो क्लब आईपीएलको प्ले–अफ चरणसम्म पनि पुग्न सकेको थिएन । सन् २०१२ को आईपीएलमा यो क्लब अंक तालिकामा पाँचौँ भएको थियो । पुणे वारियर्स इन्डियाको सबैभन्दा उत्कृष्ट प्रदर्शन पनि नै त्यही हो । त्यसपछि यो क्लबको पनि बीसीसीआईसँग विवाद सुरु भएको थियो । त्यसैले सन् २०१३ पछि यो क्लबले आईपीएलमा सहभागिता जनाउन छाडेको थियो ।
यसैगरी, गुजरात लायन्सले पनि कुनै समय आईपीएल खेलेको थियो । यो क्लबले सन् २०१६ र सन् २०१७ मा आईपीएलमा सहभागिता जनाएको थियो । यो दुई सिजन चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स प्रतिबन्धमा परेका थिए । त्यसैले बीसीसीआईले राइजिङ पुणे सुपरजायन्ट्स र गुजरात लायन्सलाई आईपीएल खेल्ने अवसर दिएको थियो । तर, सुरेश रैनाको कप्तानीमा मैदानमा ओर्लिएको गुजरात लायन्सले आईपीएलमा कुनै कमाल गर्न सकेन ।
गुजरात लायन्स सन् २०१६ मा तेस्रो भएको थियो । तर, प्ले–अफ चरणमा पराजित हुन पुग्यो । सन् २०१७ को संस्करणमा भने गुजरात लायन्सको प्रदर्शन निराशाजनक थियो र तालिकाको सातौँ स्थानमा समेटिएको थियो । यसैगरी, आईपीएलको इतिहासमा पहिलोदेखि १८औँ संस्करणसम्म निरन्तर रुपमा सहभागिता जनाउँदै आएका टोलीको सँख्या भने पाँचमात्र छ । पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएका पाँचमध्ये दुई टोली मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सले मात्र उपाधि जित्न सकेका छन् ।
बाँकी तीन टोली रोयल च्यालेन्जर्स बेंगलुरु, दिल्ली क्यापिटल्स र पञ्जाब किङ्स भने हालसम्म अभागी सावित हुँदै आएका छन् । यी तीन टोलीले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् । बेंगलुरु भने यसपटक फाइनलमा पुगिसकेको छ । आईपीएलमा सधें उत्कृष्ट प्रदर्शन गर्दै आएको बेंगलुरु चौथोपटक फाइनलमा पुगेको हो । बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो ।
सन् २०११ मा पनि बेंगलुरु फाइनलमा पुगेको थियो । तर, फाइनलमा बेंगलुरुलाई चेन्नई सुपर किङ्सले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा पनि बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो ।
दिल्ली क्यापिटल्स सुरुवाती संस्करणमा दिल्ली डेयरडेभिल्सको नामबाट आईपीएलमा सहभागी भएको थियो । दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली फाइनलमा पुगेको थियो । तर, फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो ।
पञ्जाब कङ्लिे पनि हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलमा पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।
चेन्नई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले पनि पहिलो संस्करणदेखि आईपीएलमा सहभागिता जनाएका हुन् । तर, यी टोलीले बिचमा केही संस्करण खेलेका थिएनन् ।
हालसम्म चेन्नईले १६, राजस्थानले १६ र हैदराबादले १३ पटक आईपीएल खेलेका छन् । गुजरात टाइटन्सले भने सन् २०२२ देखि आईपीएल खेल्न थालेको हो ।