शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश सभाबाट आज पनि दुई विधेयक पारित

विवादित चिट्ठा विधेयक समितिमा पठाइयो
मङ्गलबार, २० जेठ २०८२, १७ : २१
मङ्गलबार, २० जेठ २०८२

मकवानपुर । बागमती प्रदेश सभाले मंगलबार दुई वटा विधेयक पारित गरेको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले पनि दुई वटा विधेयक पारित गरेको थियो ।

प्रदेश सभाको मंगलबार बसेको बैठकले संसदीय समितिबाट प्रतिवेदनसहित प्राप्त २ विधेयक पारित गरेको हो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट प्रतिवेदनसहित आएका कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले संसदमा कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उनले प्रदेश सभा सदस्य रत्नप्रसाद ढकाल छलफलमा भाग लिँदै पारित भएका ऐन कार्यान्वयन हुन नसकेको, कृषकहरूको समस्या, मल–बिउको सहज उपलब्धता हुन नसकेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रस्तुत विधेयकले कृषि क्षेत्रको विकास, कृषकको समस्या, उत्पादन र उत्पादकत्वका विषय समेटेको बताए । रासायनिक मलको व्यवस्थापन, प्राङ्गारिक मल उत्पादन, बिउ पुँजी वितरणका योजनालाई प्रभावकारी कार्यान्वयन गर्नेगरी विधेयक ल्याएको उनको भनाइ थियो ।

विधेयकमाथि छलफल सकिएपछि मन्त्री श्रेष्ठले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

सभामुख भुवनकुमार पाठकले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई निर्णायार्थ पेस गरेको उक्त विधेयक सर्वसम्मत रूपमा पारित भएको हो ।

बैठकमा स्वास्थ्यमन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई समितिको प्रतिवेदन सहित छलफलका लागि पेस गरेका थिए । विधेयकमाथिको छलफलमा सुरेन्द्रराज गोर्साई, रत्नप्रसाद ढकालले भाग लिएका थिए । उनीहरूले नागरिकको स्वास्थ्य सुविधाको अधिकार सुनिश्चितता तथा सुलभ उपलब्धताका लागि प्रभावकारी ढंगले कार्यान्वयनमा अघि बढ्नुपर्ने बताएका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन कार्यान्वयन पश्चात प्रदेशको स्वास्थ्य क्षेत्रमा परिवर्तन आउने बताए । प्रदेशमै चिकित्सा शिक्षाको तर्फका विभिन्न विधामा अध्यापन गरेर नागरिकको सेवामा खटाउने गरी सरकार अघि बढेको उनको भनाइ थियो ।

त्यसपछि मन्त्री थापाले उक्त विधेयकलाई पारित परियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

सभामुख पाठकले निर्णयार्थ पेस गरेको उक्त विधेयकलाई प्रदेश सभाले सर्वसम्मत पारित गरेको हो ।

प्रदेश सभाबाट पारित भएका ती विधेयकलाई प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेस गरिने छ । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्नेछ र ती विधेयक कार्यान्वयनमा जानेछन् ।

बैठकले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन गर्न बनेको विधेयकलाई समितिमा दफावार छलफलका लागि पठाएको छ । प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पनि सर्वसम्मत स्वीकृत भएको हो ।

सो विधेयक प्रदेश प्रमुख कार्यालयबाट यसअघि फिर्ता भएको थियो । सो विधेयकमाथि सत्तारुढ दल नै दुई ध्रुवमा विभाजित छन् । विधेयकका कमी–कमजोरी सुधार गर्नेगरी समितिमा छलफल हुने मन्त्री लामिछानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप