अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
_YNz4n92p6j.jpg)
समाचार सारांश
- सन् १९५० मा अन्नपूर्ण हिमालको आरोहणपछि पर्यटनले फड्को मारेको छ, पछिल्लो समय पर्यटकको संख्या वृद्धि भएको छ।
- अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आवमा २९% पर्यटक बढेको र यो वर्ष अझ बढ्ने अनुमान छ, जसमा धार्मिक भ्रमण र पदयात्रामा आउने पर्यटक धेरै छन्।
- अन्नपूर्ण क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दो छ, पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा चिनिएको छ।
गण्डकी। पचहत्तर वर्षअघि सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेसँगै बामे सरेको अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ ।
मङ्गलबार अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाइरहँदा यस क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को तथ्याङ्कअनुसार गत आवमा उक्त क्षेत्रमा पर्यटकको सङ्ख्या २९ प्रतिशतले वृद्धि भएकामा यो वर्ष थप बढ्ने देखिएको छ ।
आयोजना प्रमुख डा रविन कडरियाले गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा चालु आवको दस महिनामै त्योभन्दा बढी पर्यटक आएको बताए । उनका अनुसार गत वैशाखसम्ममा दुई लाख २६ हजार चार सय नौ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन् ।
जेठ र असारमा आउने पर्यटक थपिँदा उक्त सङ्ख्या गत आवको तुलनामा उल्लेख्य रूपमा बढी हुने प्रमुख डा कडरियाले बताए। “यस क्षेत्रमा विदेशी पर्यटक आउने क्रम बर्सेनि बढ्दो छ”, उनले भने, “बढीजसो धार्मिक भ्रमण र पदयात्रामा आउने गरेका छन् ।”
उक्त क्षेत्रमा आव २०७९/८० मा एक लाख ७२ हजार एक सय आठ विदेशी पर्यटक आएका थिए । कोभिड–१९ महामारीका कारण त्योभन्दा अघिल्लो आवमा पर्यटकको सङ्ख्या झनै न्यून थियो । कोभिड–१९ महामारी थामिएपछि पर्यटकको सङ्ख्या अहिलेसम्मकै उच्च दरमा वृद्धि भएको ‘एक्याप’ का प्रमुख डा कडरियाले बताए ।
चालु आवमा अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या दुई लाख ७५ हजार पुग्ने अनुमान गरिएको उनको भनाइ छ । पदयात्रा पर्यटनका लागि विश्वमाझ प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा असोज–मङ्सिर र चैत–जेठ गरी दुई याममा विदेशी पर्यटक बढी आउने गरेको उनले बताए।
वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य समयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ । मुक्तिनाथलगायत धार्मिक गन्तव्य स्थलमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । ‘एक्याप’ ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।
हिमश्रङ्खलासहितका आकर्षक गन्तव्य स्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । कास्की, लमजुङ, मुस्ताङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्य स्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।