नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशन सम्पन्न, मनिष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

समाचार सारांश
- बेल्जियममा नेपाली जनप्रगतिशील मञ्चको १३औँ अधिवेशन सम्पन्न भयो, जसमा मनिष गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरियो।
- अधिवेशनमा विधान संशोधन गर्दै कार्यसमितिको संख्या १९ बाट २१ पुर्याइयो र विभिन्न पदमा नयाँ पदाधिकारी चयन गरियो।
- राजदूत सेवा लम्साल र नेकपा (माओवादी केन्द्र)का सुरेन्द्र भुसालको उपस्थितिमा नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गरियो।
बेल्जियम । नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको १३औँ अधिवेशन सम्पन्न भएको छ । बेल्जियमको लुभेन सहरमा सम्पन्न अधिवेशनले सङ्गठनको विधान संशोधन गर्दै मनिष गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिले जानकारी दिएको छ।
बन्द सत्रबाट विधानको अनुच्छेद ४ (७) १ संशोधन गर्दै कार्यसमितिको संख्या १९ बाट २१ मा पुर्याइएको हो। सोही अनुसार, कार्यसमितिमा तीन उपाध्यक्षहरू, तीन सचिवहरू, एक महासचिव, प्रवक्ता, कोषाध्यक्ष र सदस्यहरू गरी नयाँ संरचना तयार गरिएको छ।
भीम सुवेदी, साबित्रा भारती र रुपेश श्रेष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। सुशीला खतिवडा महासचिवको रूपमा चयन भएकी छन्। सचिव पदमा दिलीप कुमार हमाल, रमेश दाहाल र तेज अर्याल रहेका छन्। प्रवक्ताको रूपमा दिल निशानी मगर जिम्मेवारीमा आउनुभएको छ भने कोषाध्यक्ष पदमा जीत कुमारी कुँवर निर्वाचित भएकी छन्।
सदस्यहरूमा सीता दाहाल, लक्ष्मी सुवेदी, नारायण भुर्तेल, चित्र कुमारी खतिवडा, वीरेन्द्र लामा, हिमाल बुढा, विरजन बुढामगर र तारा बुढामगर चयन भएका छन्।
सल्लाहकारहरूमा सतमान पुन ,श्याम बुढा मगर चयन भएका छन् ।अधिवेशनको निर्णयअनुसार बाँकी तीन सदस्य कार्यसमितिबाट मनोनयनमार्फत थप गरिने छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास ब्रसेल्स, बेल्जियमकी राजदूत सेवा लम्सालको उपस्थिति रहेको थियो।
उनले आफ्नो मन्तव्यमा बेल्जियममा रहेका नेपालीहरूको सङ्गठनात्मक एकता र सामाजिक जागरणमा नेपाली जनप्रगतिशील मञ्चको भूमिका उच्च रहेको बताउँदै नयाँ नेतृत्वलाई शुभकामना दिइन्।
“प्रवासी भूमिमा नेपाली चिरा भएर होइन, चिना भएर चम्कनुपर्छ। एकताको बलले मात्र पहिचान मजबुत हुन्छ,” उनले भनिन्।
विशेष अतिथिका रूपमा उपस्थित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुरेन्द्र भुसालले अधिवेशनमा शुभकामना व्यक्त गर्दै सङ्गठनको वैचारिक स्पष्टता र सामाजिक योगदानको प्रशंसा गरे । “जनचेतनाको प्रवाहलाई निरन्तरता दिने यो मञ्चले युरोपभर प्रगतिशील आन्दोलनको गतिशील धरोहर बन्नेछ,” उनले भने।
पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संयोजक उदयराज गौतमले शुभकामना मन्तव्यमा नयाँ नेतृत्वप्रति विश्वास प्रकट गर्दै सङ्गठनात्मक अनुशासन र समर्पणलाई बलियो बनाउने प्रतिबद्धता प्रकट गरे।
नवगठित कार्यसमितिले सङ्गठनात्मक सुदृढीकरण, सामाजिक न्यायको प्रवर्द्धन र प्रवासी नेपालीको हकहितका लागि अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।