शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

एकदिवसीय शृङ्खलामा इङ्गल्यान्डसामु निरीह बन्यो वेस्ट इन्डिज

बुधबार, २१ जेठ २०८२, १० : ०४
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • इंग्ल्यान्डले वेस्ट इन्डिजलाई सात विकेटले हराउँदै एकदिवसीय शृङ्खलामा 'ह्वाइट वास' गर्‍यो।
  • वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा २ सय ५१ रन बनायो, तर वर्षाले खेल प्रभावित गर्‍यो।
  • इंग्ल्यान्डका जामी स्मिथले ६४ रन बनाए र प्लेयर अफ द म्याच घोषित भए, जो रुट प्लेयर अफ दि सिरिज बने।

काठमाडौँ । घरेलु टोली इङ्गल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि वेस्ट इन्डिजलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा सात विकेटको फराकिलो अन्तरले हराएको छ । जितसँगै इङ्गल्यान्डले तीन खेलको शृङ्खलामा ‘ह्वाइट वास’ गरेको छ । 

यसअघि इङ्गल्यान्डको टोली पहिलो खेलमा दुई सय ३८ रन र दोस्रो खेलमा तीन विकेटले विजयी भएको थियो । अब इङ्गल्यान्ड र क्यारेबियन टोलीबिच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलिने छ । 

तेस्रो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ४० ओभरमा नौ विकेट गुमाएर दुई सय ५१ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण पुनः खेल प्रभावित भएकाले इङ्गल्यान्डले ४० ओभरमा दुई सय ४६ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने २९.४ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पूरा ग¥यो । इङ्गल्यान्डको जितमा ओपनर जामी स्मिथले ६४ रनको योगदान गरे । उनले केवल २८ बलमा तीन छक्का र १० चौका पनि प्रहार गरे ।

अर्का ओपनर बेन डकेटले पनि ५८ रन बनाए । उनले ४६ बलमा तीन छक्का र पाँच चौका पनि प्रहार गरे । दुबै ओपनरले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका जो रुटले ४४ रन बनाए । रुटले ४९ बलमा एक चौका प्रहार गरे । 

कप्तान ह्यारी ब्रुक अविजित २६ रन र विकेटकिपर ब्याट्सम्यान जस बटलरले अविजित ४१ रनको योगदान गरे । बटलरले केवल २० बलमा दुई छक्का र पाँच चौका प्रहार गरे । त्यसअघि वेस्ट इन्डिजका लागि शेरफन रुथरफोर्डले ७० रन बनाएका थिए ।

रुथरफोर्डले ७१ बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काए । गुडाकेश मोटीले पनि टोलीको खातामा ६३ रन थपेका थिए । उनले ५४ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे । अल्जारी जोसेफले २९ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले ४१ रन बनाए । 

इङ्ल्यान्डका बलर आदिल रसिदले तीन विकेट लिए । सकिब महमुद, ब्राइडन कार्स र म्याथ्यू पट्सले पनि दुई–दुई विकेट हात पारे । जामी स्मिथ प्लेयर अफ दि म्याच घोषित भए । इङ्गल्यान्डकै जो रुट प्लेयर अफ दि सिरिज घोषित भए । इङ्गल्यान्ड र वेस्ट इन्डिजबिचको पहिलो टी–२० अन्तर्राष्ट्रिय शुक्रबार खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप