वाईसीएलमा नेतृत्व छान्न शक्ति र दीपशिखा सक्रिय, सहमतिको प्रयास जारी

समाचार सारांश
- वाईसीएलको अध्यक्ष पदका लागि धेरै आकांक्षी देखिएपछि नेतृत्व चयनमा ढिलाइ भएको छ।
- सर्वसम्मतिका लागि शक्ति बस्नेत, रामप्रसाद सापकोटा दीपशिखा लगायत छलफलमा व्यस्त छन्, तर सहमति जुट्न सकेको छैन।
- अध्यक्षका लागि १२ जना आकांक्षीमध्ये पुष्प ओली, केयरसिंह कुँवर, डम्बर पुलामी, गणेश शाही विद्रोहीको सम्भावना बलियो रहेको अनुमान छ।
काठमाडौँ । योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)मा अध्यक्ष पदका लागि आकाङ्क्षी धेरै भएकाले नेतृत्व छनोट गर्न हम्मे हम्मे भएको छ । प्रज्ञा भवन कमलादीमा जेठ १८ गतेदेखि सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट मंगलबार राजनीतिक र साङ्गठनिक प्रतिवेदन पारित भएको थियो । नेतृत्व छनोट बुधबार बिहानबाट हुने भनिए पनि आंकाक्षी धेरै भएपछि ढिलाइ भएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार युवा सङ्गठनका समन्वय संयोजक शक्ति बस्नेत, फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा र नेतृत्वका आकाङ्क्षीहरू बसेर सर्वसम्मतको प्रयास भइरहेको छ । पार्टी नेतृत्व र वाईसीएलबिच समन्वयको काम गरिरहेका बस्नेत र इन्चार्ज दीपशिखाले सर्वसम्मत नेतृत्वको छनोटका लागि छलफलमा व्यस्त रहेको वाइसीएलका नेताहरूले बताएका छन् ।
‘सकेसम्म सर्वसहमतिबाट नेतृत्व छनोट गर्ने विषयमा अहिले शक्ति बस्नेत, दीपशिखा लगायत बसेर छलफल भइरहेको छ । तर सबैको आ–आफ्ना अडान नछोडेकाले सहमति हुन सकेको छैन । निर्वाचन समितिले पनि प्रतिनिधिहरू प्रमाणित गर्ने काम गरिरहेको छ । यदि सहमति नभए निर्वाचन प्रक्रिया अगाडि बढ्छ’, ती नेताले भने ।
अध्यक्ष पदका लागि १२ जना आकाङ्क्षी रहे पनि पुष्प ओली, केहरसिंह कुँवर, डम्बर पुलामी, गणेश शाही विद्रोहीको सम्भावना बलियो रहेको ती नेताले दाबी गरे । अध्यक्षका अन्य आकाङ्क्षीमा माधव बस्नेत, ठाकुर सौराग, नवराज एैर, शिव बोगटी, प्रेम श्रेष्ठ लगायत छन् ।
अध्यक्षका दाबेदार केहरसिंह कुँवरले पनि सहमतिको प्रयास जारी रहेकाले नेतृत्वको विषय नटुङ्गिएको जानकारी दिए । निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा प्रतिनिधिहरूको टुङ्गो लगाउन बाँकी रहेकाले ढिलाइ भएको उनले बताए ।
इन्चार्ज दीपशिखाले सहमतिकै आधारमा पदाधिकारी छनोट गर्ने प्रयास भइरहेको जानकारी दिए । उनले सहमति नभए निर्वाचन प्रक्रिया थाल्ने बताए ।
‘अध्यक्ष कसलाई बनाउने विषयमा कुनै टुङ्गो लागेको छैन । सहमतिको प्रयास भइरहेको छ । सकेसम्म सहमतिबाट नै नेतृत्व छनोट हुन्छ । नभए निर्वाचन समितिले आफ्नो प्रक्रिया अगाडि बढाउँछ’, उनले भने ।
यसैगरी महासचिवका लागि शोभराम भण्डारी, सन्तोष पनेरु, धनकुमार मैनाली, मुकेश थापा, हरि ढकाल, विपिन आचार्य लगायत आकाङ्क्षी छन् । वाईसीएलमा ३५ जना पदाधिकारी रहेकोमा ९९ जना आकाङ्क्षी रहेका छन् । पार्टीको सहायक सङ्गठन भएकाले सर्वसम्मत सहमतिका लागि अध्यक्ष प्रचण्डले संयोजक बस्नेत, इन्चार्ज दीपशिखा सहित पदाधिकारीसँग छलफल गरेका थिए ।
सहमति गरे पनि वा निर्वाचन प्रक्रियामा गए पनि बन्द सत्र हलबाट नै टुङ्ग्याउन प्रचण्डले सुझाव दिएको वाईसीएलका नेताहरूले बताएका छन् ।