शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

गण्डकीको नीति तथा कार्यक्रम : राइड सेयरिङमा सङ्घलाई चुनौती

बुधबार, २१ जेठ २०८२, १६ : ३३
बुधबार, २१ जेठ २०८२

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि नीति तथा कार्यक्रम बुधबार संसद्‌मा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

प्रदेश सरकारले देशव्यापी आलोचना र समर्थन बटुलेको ‘राइड सेयरिङ’लाई थप प्रवर्द्धन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम मार्फत सरकारले यातायात व्यवस्थापनलाई आधुनिक बनाउने घोषणा गरेको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राइड सेयरिङलाई प्रभावकारी नियमन र व्यवस्थापन गर्ने उल्लेख छ । 

मङ्गलवार मात्रै सङ्घ सरकारको दबाबमा नियमावली कार्यान्वयन १ महिनालाई थाँती राखेको सरकारले आगामी आर्थिक वर्षमा अझै व्यवस्थित गर्ने जनाएको हो । 

यसले सङ्घकै आदेशलाई चुनौती थपेको छ भने केही समयलाई मत्थर देखिएको विवाद फेरि उचालिने सम्भावना देखिएको छ । प्रदेश सरकारले यातायात क्षेत्रमा केही नयाँपन दिन खोजेको छ । 

सवारी चालक अनुमति पत्र छपाइ प्रदेशबाटै गर्ने र सवारी कर अनलाइन मार्फत भुक्तानीको व्यवस्था गर्ने सरकारी घोषणा छ । अरू प्रदेशमा दर्ता भई गण्डकीमा दर्ता नवीकरण हुन चाहने सवारीलाई सहुलियत दिने गरी प्रदेशभित्र आह्वान गरेको छ ।

गण्डकीले १० सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गर्ने

यस्तै गण्डकी प्रदेश सरकारले यहाँका १० भन्दा बढी सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने बताए । 

यी सम्पदाहरूमा गोरखा दरबार, मनकामना मन्दिर, लिगलिगकोट दरबार, क्होंलासोथर, लमजुङ दरबार, विन्ध्यवासिनी मन्दिर छन् ।

यस्तै, लोमान्थाङ दरबार, मुक्तिनाथ मन्दिर, बागलुङ कालिका, पुर्कोट कालिका लगायतका सम्पदालाई पनि सूचीकृत गर्नका लागि आवश्यक पहल गर्ने भट्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप