शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

तारेखमा रहेका भट्टराईसँग अख्तियारकाे निरन्तर बयान

बुधबार, २१ जेठ २०८२, २० : १०
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसँग भिजिट भिसा प्रकरणबारे बयान सुरु गरेको छ।
  • भट्टराईलाई १० दिनको तारेखपछि अख्तियारले बयान लिन थालेको हो, र उनको मोबाइल तथा ल्यापटप फरेन्सिक परीक्षणका लागि पठाइएको छ।
  • भट्टराईमाथि युएई र कुवेत जाने महिलाहरुसँग रकम असुलेको आरोप लागेको छ र उनी बिचौलियासँग मिलेर सेटिङ मिलाउने गरेको आरोप छ।

काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईसँग भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले निरन्तर बयान लिन थालेको छ । १० दिनको ‘तारेख’ पुरा गरेपछि भट्टराईसँग निरन्तर बयान सुरु गरिएको अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

जेठ ७ मा अख्तियारमा उपस्थित गराइएका भट्टराईलाई अनुसन्धान अधिकृतहरूले सुरुमा दुई दिनसम्म लगातार आयोगमा बोलाएर सोधपुछ गरेका थिए । तर, डिएफएल रिपोर्ट नआएको हुनाले उनलाई १० दिनको तारेख दिइएको थियो । ती अधिकृत भन्छन्, ‘पछिल्लो ३ दिनयता उनीसँग निरन्तर बयान लिने काम भइरहेको छ ।’

भट्टराईको मोबाइल र ल्यापटप लगायतका डिजिटल उपकरण अख्तियारले नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा परीक्षण गरिरहेको छ । फरेन्सिक जाँचको पूर्ण रिपोर्ट आइसकेको छैन ।

पर्यटक भिसा लगाएर विदेशिनेहरुसँग असुल्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाले ‘कोड वर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले युएई र कुवेततर्फ जाने महिलाहरूबाट धेरै रकम असुल्ने गरेको तथ्यबारे अख्तियारका उच्च अधिकारीहरू जानकार थिए । भट्टराईले बिचौलियाहरूसँग मिलेर विमानस्थलमा सेटिङ चलाउने गरेको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप