शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पतालहरु साउनबाट सञ्चालनमा ल्याइने

बिहीबार, २२ जेठ २०८२, १० : १८
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका अस्पतालहरू साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरेका छन्।
  • ५७ वटा अस्पताल सञ्चालनमा आउन सकेका छैनन्, र नयाँ आर्थिक वर्षमा थप अस्पताल निर्माणको योजना रहेको छ।
  • मन्त्री पौडेलले जनशक्ति, उपकरण, औषधि र रिएजेन्टको व्यवस्थापनका लागि कार्ययोजना बनाउन कार्यदल गठन गरेका छन्।

काठमाडौँ । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन् । 

निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको सङ्ख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ । 

मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरू सञ्चालनका मन्त्री पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ । 

अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई सङ्घ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधि तथा रिएजेन्टस लगायतका अत्यावश्यक संसाधनको व्यवस्थापन गर्न मन्त्री पौडेलले कार्ययोजना तयारी अघि बढाएका छन् ।

यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । 

कार्यदलले सङ्घ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ । 

मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरू सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप