आईपीएलको १८ औँ संस्करणमा बनेका १८ कीर्तिमान

समाचार सारांश
- आईपीएलको १८ औं संस्करणमा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो पटक उपाधि जित्यो, पञ्जाब किंग्सलाई हराउँदै।
- वैभव सूर्यवंशी आईपीएलको इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बने, र उनले सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान पनि बनाए।
- यस संस्करणमा विराट कोहलीले आईपीएलमा १००० बाउन्ड्री प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए, साथै अन्य विभिन्न कीर्तिमानहरू पनि स्थापित भए।
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण सकिएको छ । १८ औँ संस्करणले रोयल च्यालेन्जर्स बेंगलुरुको रूपमा आईपीएललाई नयाँ च्याम्पियन दिएको छ ।
बेंगलुरुले मंगलबार राति सम्पन्न खेलमा पन्जाब किङ्सलाई ६ रनले हरायो । आईपीएलको यो संस्करण निकै रोमाञ्चक रह्यो । केही नसोचेका टोलीले उत्कृष्ट प्रदर्शन गरे भने विगतमा पटक–पटक उपाधि चुमेका केही टोली प्ले–अफ चरणमा समेत पुग्न सकेनन् ।
आईपीएलको १८ औँ संस्करणमा केही कीर्तिमान पनि बने । केही कीर्तिमान खेलाडीको नाममा दरिन पुग्यो भने केही कीर्तिमान टोलीको नामसँग जोडियो । आईपीएलको १८ औँ संस्करणमा बनेका यस्तै केही कीर्तिमानको बारेमा यहाँ चर्चा गरिएको छ ।
पहिलो पटक च्याम्पियन बन्यो आरसीबी
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) सन् २००८ मा सम्पन्न पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । तर, बेंगलुरुले उपाधि भने जित्न सकेको थिएन । तर, यो संस्करणमा बेंगलुरुले पहिलो पटक उपाधि जित्यो । बेंगलुरुले फाइनलमा पन्जाब किङ्सलाई ६ रनले हरायो ।
आईपीएलको इतिहासकै सबैभन्दा युवा खेलाडी
१८ औँ संस्करणले आईपीएलको इतिहासकै सबैभन्दा युवा खेलाडी भेट्टायो । क्षमतावान युवा खेलाडीका रूपमा वैभव सूर्यवंशीको उदय भएको हो । राजस्थान रोयल्सको तर्फबाट खेलेका उनले लखनउ सुपर जायन्ट्सविरुद्ध ‘डेब्यू’ गरे । उनी आईपीएल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । १९ अप्रिल २०२५ मा आईपीएलमा ‘डेब्यू’ गर्दा उनी भर्खर १५ औँ वर्षमा प्रवेश गरेका थिए ।
आईपीएलको इतिहासमा १००० बाउन्ड्री
आईपीएलको यो सिजनमा रोयल च्यालेन्जर्स बेंगलुरुका लागि निकै फलदायी रह्यो । बेंगलुरुका प्रभावशाली खेलाडी विराट कोहली आईपीएलको इतिहासमा एक हजार बाउन्ड्री प्रहार गर्ने पहिलो खेलाडी बन्न पुगे । सबैभन्दा बढी चौका प्रहार गर्ने ब्याट्सम्यानको कीर्तिमान पनि उनकै नाममा छ ।
एकै सिजन सबैभन्दा बढी अर्धशतक
इन्डियन प्रिमियर लिगको १८औँ संस्करणमा कुल ६३ वटा अर्धशतक बन्यो । आईपीएलको इतिहासमा एउटै संस्करणमा बनेको यो सर्वाधिक अर्धशतक हो । यसअघि आईपीएलको एउटै संस्करणमा यति धेरै अर्धशतक बनेको थिएन ।
सबैभन्दा कम उमेरमा शतक
आईपीएलको यो संस्करणमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीका रूपमा वैभव सूर्यवंशीको उदय भयो । राजस्थान रोयल्सका बैभवले गुजरात टाइटन्सविरुद्धको खेलमा शतक बनाएका थिए । त्यतिबेला उनको उमेर १४ वर्ष ३१ दिन थियो । उनी आईपीएलको इतिहासमा शतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी हुन् ।
सबैभन्दा कम बलमा शतक बनाउने भारतीय
वैभव सूर्यवंशीले आईपीएलको इतिहासमा सबैभन्दा कम बलमा शतक बनाउने भारतीय खेलाडीको कीर्तिमान पनि बनाए । उनले राजस्थान रोयल्सबाट खेल्दै गुजरात टाइटन्सविरुद्ध शतक बनाएका थिए । उनले केवल ३५ बलमा शतक पूरा गरेका थिए ।
नन ओपनर ब्याट्सम्यानको सात सय रन
यो आईपीएलमा मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवले पनि एउटा कीर्तिमान बनाए । उनी आईपीएलको एउटै सिजनमा सात सयभन्दा बढी रन बनाउने पहिलो नन–ओपनर ब्याट्सम्यान (जो ओपनर ब्याट्सम्यान होइनन्) बन्न पुगे । उनले १६ खेलमा कुल सात सय १७ रन बनाए ।
पहिलो पटक सीएसके १० औँ स्थानमा
आईपीएलको इतिहासमा चेन्नई सुपर किङ्स (सीएसके) सर्वाधिक सफल टोली हो । चेन्नईले हालसम्म पाँच पकट उपाधि जितेको छ । तर, चेन्नईका लागि यो सिजन निकै निराशाजनक रह्यो । चेन्नई लिग चरणमा तालिकाको १० औँ स्थानमा रह्यो । आईपीएलको इतिहासमा पहिलो पटक चेन्नई तालिकाको १० औँ स्थानमा रहेको हो ।
भारतीय ब्याट्सम्यानको सर्वाधिक स्कोर
आईपीएलको १८ औँ संस्करणमा सनराइजर्स हैदराबादका ब्याट्सम्यान अभिषेक शर्माले पनि एउटा कीर्तिमान बनाए । उनले अप्रिल १२ तारिखमा खेलिएको पन्जाब किङ्सविरुद्धको खेलमा केवल ५५ बलमा एक सय ४१ रन बनाए । योसँगै उनी आईपीएलको इतिहासमा एकै पालीमा सर्वाधिक रन बनाउने भारतीय खेलाडी पनि बन्न पुगे ।
‘अरेन्ज क्याप’ जित्ने सबैभन्दा युवा ब्याट्सम्यान
आईपीएलको १८ औँ संस्करणमा गुजरात टाइटन्सका ब्याट्सम्यान साई सुदर्शनले ‘अरेन्ज क्याप’ जिते । उनले प्रतियोगिता अवधिभरमा सर्वाधिक रन बनाउँदै ‘अरेन्ज क्याप’ जितेका हुन् । उनले १५ खेलमा कुल सात सय ५९ रन बनाए । योसँगै उनी आईपीएलको इतिहासमा ‘अरेन्ज क्याप’ जित्ने सबैभन्दा कम उमेरका खेलाडी बने । उनले २३ वर्ष सात महिना १९ दिनको उमेरमा यो अवार्ड जितेका हुन् ।
दुई पटक फाइनलमा प्लेयर अफ दि म्याच
आईपीएलको इतिहासमा पहिलो पटक एउटै खेलाडी दुई वटा संस्करणको फाइनलमा प्लेयर अफ दि म्याच घोषित भए । १८ औँ संस्करणको फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुका बलर क्रुणाल पाण्ड्या प्लेयर अफ दि म्याच घोषित भए । यसअघि सन् २०१७ मा पनि उनी फाइनलमा प्लेयर अफ दि म्याच घोषित भएका थिए । त्यतिबेला उनी मुम्बई इन्डियन्सबाट खेल्थे ।
तीन फरक टोलीको कप्तानी गर्दै फाइनलमा
श्रेयष ऐयरले आफ्नो कप्तानीमा पन्जाब किङ्सलाई फाइनलसम्म पुर्याए । उनी आईपीएलको इतिहासमा एकमात्र यस्ता खेलाडी हुन्, जसले आफ्नो कप्तानीमा तीन वटा फरक टोलीलाई आईपीएलको फाइनलमा पुर्याए ।
कप्तानको भूमिकामा लगातार दोस्रो पटक फाइनल
पन्जाब किङ्स १८औँ संस्करणको फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ६ रनले पराजित भयो । पन्जाब यसपटक श्रेयष ऐयरको कप्तानीमा फाइनलमा पुगेका हुन् । योसँगै श्रेयष ऐयर आफ्नो कप्तानीमा लगातार दुई वटा आईपीएल खेल्ने खेलाडी बने ।
उनकै कप्तानीमा कोलकाता नाइट राइडर्सले सन् २०२४ मा आईपीएलको उपाधि जितेको थियो ।
एउटै बलरले खाए सबभन्दा बढी छक्का
आईपीएलको १८ औँ संस्करणमा राशिद खानको नामसँग पनि एउटा खराब कीर्तिमान जोडिन पुग्यो । उनी आईपीएलको एउटै संस्करणमा सबैभन्दा बढी छक्का खाने बलर बन्न पुगे । राशिद खानले १५ खेलमा कुल ३३ वटा छक्का खाए ।
तीन वटा टोलीबाट शतक बनाउने ब्याट्सम्यान
केएल राहुलले पनि यो संस्करणमा एउटा गजबको कीर्तिमान बनाए । उनी आईपीएलको इतिहासमा तीन वटा फरक क्लबका लागि शतक बनाउने पहिलो ब्याट्सम्यान बन्न पुगे । उनले यो सिजन दिल्ली क्यापिटल्सका लागि शतक बनाए । आईपीएलका अघिल्ला संस्करणमा उनले पन्जाब किङ्स र लखनउ सुपर जायन्ट्सका लागि दुई–दुई शतक बनाएका थिए ।
पहिलो पटक ‘अवे’ मैदानमा सबै खेलमा जित
रोयल च्यालेन्जर्स बेंगलुरुले यो सिजन उपाधिमात्र जितेन, सँगसँगै केही कीर्तिमान पनि बनायो । त्यसमध्ये एउटा कीर्तिमान ‘अवे’ मैदानमा खेलिएको सबै खेलमा जित हात पार्नु पनि हो । बेंगलुरुले यो सिजन विपक्षीको मैदानमा खेलिएको सबै खेलमा जित हासिल ग¥यो । आईपीएलको इतिहासमा यस्तो सफलता हासिल गर्ने बेंगलुरु एकमात्र क्लब हो ।
मुम्बई इन्डिन्सविरुद्ध बनेको यो कीर्तिमान
आईपीएल क्रिकेटको इतिहासमा हालसम्म कुनै पनि टोलीले मुम्बई इन्डियन्सले दिएको दुई सयभन्दा बढी रनको लक्ष्य पूरा गर्न सकेको थिएन । तर, आईपीएलको १८ औँ संस्करणमा त्यो कीर्तिमान पनि तोडिन पुग्यो । दोस्रो क्वालिफायर खेलमा मुम्बई इन्डियन्सले दिएको दुई सय चार रनको लक्ष्य पन्जाब किङ्सले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।
आईपीएलमा १५०औँ खेल जित
आईपीएल क्रिकेटको इतिहासमा यसअघि कुनै पनि क्लबले एक सय ५० खेल जित्न सकेको थिएन । तर, यो सिजनको आईपीएलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यो कोशेढुंगा पनि पार ग¥यो । योसँगै मुम्बई आईपीएलको इतिहासमा एक सय ५० खेल जित्ने पहिलो क्लब बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त गर्न लागिएको भन्दै विरोध
-
कक्षाकोठा र न्यूजरुमबिच बढ्दो दूरी : पत्रकारिता शिक्षामा व्यवहारिकताको खडेरी
-
नेताहरूको व्यवस्थापनका लागि वाईसीएलले गर्यो विधान संशोधन
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि
-
'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड