इप्पानद्वारा कालो ब्यानर राखेर टेक एन्ड पे व्यवस्थाको विरोध
सारांश
- इप्पानले बजेटमा टेक एन्ड पे पीपीएको व्यवस्थाको विरोध गर्दै कालो ब्यानर प्रदर्शन गरेको छ।
- सरकारले रन अफ दि रिभर (आरओआर) आयोजनाको टेक एड पे मा मात्र पीपीए गर्ने व्यवस्था गरेपछि लगानी जोखिममा परेको छ।
- इप्पानका अनुसार १७ हजार मेगावाट बराबरका जलविद्युत आयोजना र ६६ अर्बको लगानी डुब्ने अवस्था आएको छ।
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सरकारले बजेटमा व्यवस्था गरेको टेक एन्ड पे पीपीएको कालो ब्यानर राखेर विरोध गरेको छ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इप्पानले कालो ब्यानर राखेर सो व्यवस्थाको विरोध गरेको हो । सरकारले २०८२ साल जेठ १५ गते बजेटमार्फत रन अफ दि रिभर (आरओआर) आयोजनाको टेक एड पे मा मात्र विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने व्यवस्था गरेको थियो।
ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणा गरेपछि अब उप्रान्त कुनै पनि बैँक तथा वित्तीय संस्थाहरूले जलविद्युत् आयोजनामा ऋण लगानी नगर्ने अवस्था आएको भन्दै विरोध जनाएको छ। इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा प्रभाव पर्ने गरी बजेट आएको भन्दै आरओआरमा अन्योलता सिर्जना गर्ने काम भएको बताए
उनले उत्पादन अनुमतिपत्र प्राप्त, उत्पादन अनुमतिका लागि आवेदन दिएका, सर्वेक्षण अनुमति पत्र प्राप्त र यसका लागि आवेदन दिएका गरी झन्डै १७ हजार ११७ मेगावाट बराबरका आयोजनाको निर्माण कार्य उच्च जोखिममा परेको बताए ।
उनले अहिले नै आयोजनाहरुमा भएको ६६ अर्ब २२ करोड रुपैयाँ लगानी डुब्ने अवस्था सिर्जना भएको उल्लेख गरे। आरओआर आयोजनाहरूमा टेक एड पे मा मात्र विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने व्यवस्था खारेज नगरे सडकमा जाने चेतावनी समेत उनले दिए। उनले उत्पादन भइरहेका आयोजना बन्द गरेर सडकमा आउने चेतावनी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण